आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

किरिया बसेकै अवस्थामा गाउँपालिकाको काम गर्दै घिमिरे

आइतबार, २३ असार २०८१, २१ : १३
आइतबार, २३ असार २०८१

लमजुङ । लमजुङ राइनास नगरपालिका–१ साहिँलिटारका नरेन्द्रराज घिमिरे दुधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुन् । घिमिरेलाई यतिबेला पितृशोक परेको छ । 

घिमिरेले जनताको सेवामा समस्या नपरोस् र आर्थिक वर्षको अन्तिम समयमा भएकाले कार्यालयको काम कारबाहीमा कुनै असर नपरोस् भन्ने ध्येयले घरमा किरिया बसेकै कोठाबाट काममा गरिरहेका छन् । 

यही असार १९ गते उनका बुबा दुर्गाभक्त घिमिरेको ८२ वर्षको उमेरमा निधन भएको थियो । उनले भने, “बुबाको यही १९ गते निधन भयो,  आमाको पाँच महिनाअघि हृदयघातका कारण मृत्यु भइसकेको छ । यसहिसाबले पीडा त तर आर्थिक वर्षको अन्तिमतिर भएकाले गाउँपालिकाको काम रोक्नु त भएन, त्यसैले किरिया बसेकै अवस्थामा काम गरिरहेको छु ।”

बुवाको निधन भएको भोलिपल्टै २० गतेदेखि नै आफूले कार्यालयको काम गरिरहेको लेखा अधिकृत घिमिरेले बताए । “पालिकामा लेखापाल पद रिक्त छ, त्यसैले लेखाको काम म एक्लैले गर्नुपर्ने बाध्यता छ । कर्मचारी नहुँदा काम भएन भनेर किन पार्नु ! वित्तीय अनुशासन र आर्थिक दृष्टिकोणले समेत उचित नहुने ठानेर पीडा भुलेर यसरी काम गरिरहेको छु”, उनले भने । 

उनले गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलाई भनेर आवश्यक कागजात, ल्यापटपलगायत सामग्री घरमै मगाएर काम गरिरहेका छन् । नेपाल सरकारको नियमानुसार क्रिया बिदा १५ दिन बस्न पाइन्छ । 

गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङले बुबाको निधनको पीडा हुँदा पनि घिमिरेले कार्यालयको काम गरिरहेका भन्दै प्रशंसा गरे । घिमिरेले काम गर्छु भनेपछि आफूहरूले सोहीअनुसार सहजीकरण तथा सहयोग गरिरहेका उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप