सप्तकोशीको बहाब : ब्यारेजको क्षमता कति हो ?
विराटनगर । निरन्तर वर्षाका कारण आइतबार दिनभर सप्तकोशी नदीमा पानीको बहाव बढेकोमा साँझ भने घटेको छ । सप्तकोशीको दिउँसो ३ बजेको मापन अनुसार ३ लाख ९३ हजार ७१५ क्यूसेक रहेको पानीको बहाव साँझ ७ बजेको मापन अनुसार ३ लाख ७६ हजार ३३५ क्यूसेक रहेको छ ।
सुनसरी प्रहरीले दिएको जानकारी अनुसार सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् ।
सप्तकोशीमा पानीको बहाब बढेसँगै नेपालमा मात्रै होइन भारतमा पनि त्रास उत्पन्न हुन्छ । २०६५ साल भदौ २ गते सप्तकोशीको कोशी ब्यारेजभन्दा १३ किलोमिटर उत्तर पश्चिम कुसाहामा तटबन्ध भत्काएर गाउँ पसेको थियो । त्यसबेला कोशीको बाढीबाट नेपालमा हजारौँ मानिस प्रभावित भएका थिए भने भारतमा लाखौं मानिस प्रभावित भएका थिए ।
सप्तकोशीमा यसअघि २०७६ असार २९ गते पनि ब्यारेजका सबै ढोका खोलिएको थियो । २०८० साल साउन २९ गते पनि कोशी ब्यारेजका सबै ढोका खोलिएको थियो । २०८० साउनमा पानीको बहाव ४ लाख ५२ हजार क्यूसेक प्रतिसेकेण्ड पुगेको थियो । यही रेकर्ड ३४ वर्षयताकै उच्च थियो । सन् १९८९ सालमा ४ लाख ७२ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव पुगेको थियो ।
सन् १९६८ मा सात लाख ८८ हजार २०० क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव पुगेको इतिहास छ । जुन सबैभन्दा उच्च हो । यस्तै सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाब पुगेको थियो । यस्तै २०७१ सालमा पनि सप्तकोशी नदीमा ३ लाख ४१ हजार ३ सय ९० क्यूसेक पानी प्रतिसेकेण्ड ब्यारेजबाट बगेको थियो ।
कोशी ब्यारेजको क्षमता ९ लाख क्यूसेक प्रतिसेकेण्ड पानीको बहाब धान्न सक्ने भएपनि ब्यारेज निर्माण भएयता बालुवा थुप्रिएको कारण कोशीमा पानीको बहाव ४ लाख क्यूसेकभन्दा बढी भए खतरा मान्नुपर्ने विज्ञहरू बताउँछन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार अहिले पनि भारतीय पक्षले ‘९ देखि १० लाख क्यूसेक पानीको बहाव धान्छ’ भन्ने गरेका छन् । यद्यपि अहिलेको क्षमता चाहिँ कति हो भन्ने विषयमा कसैले पनि आधिकारिक मापन गरेको प्रतिवेदन नपाएको तिवारी बताउँछन् ।
‘अहिलेसम्म कुनै रिपोर्टहरुले आधिकारिक ढंगले यसको क्षमता कति हो भनेर भनेको अवस्था छैन,’ तिवारीले भने, ‘तर खतरा भनेको फरक ढंगले पनि हुनसक्छ । अहिले हाम्रो ध्यान सबै स्परहरु ठिकठाक होस् । कटान नहोस्, भएछ भनेपनि समयमै रोक्न सकियोस् भन्ने गरी ध्यान गएको छ ।’
पानीको बहाव बढेपछि स्परहरू क्षतिग्रस्त हुने र बाँध भत्किने खतरा हुने उनले बताए । ‘तर, अहिलेसम्म त्यस्तो कुनै खतरा छैन । सोझो हिसावले भन्दा पानीको बहाब मात्रै नभएर नदीको भङ्गालोले दिशा परिवर्तन गर्ने सम्भावना पनि हुन्छ । अहिलेसम्म त्यस्तो देखिएको छैन । डराइहाल्नु पर्ने र आत्तिनु पर्ने अवस्था होइन । सतर्क रहनुपर्ने अवस्था हो,’ तिवारीले भने ।
२०६५ साल भदौ २ गते कोशीले पूर्वी तटबन्ध भत्काउँदा पानीको बहाव एक लाख ६५ हजार क्यूसेक मात्रै थियो । यसले पनि पानीको बहाव सानो हुँदा पनि खतरा रहिरहने देखाउँछ ।
सप्तकोशी नदीको बराह क्षेत्रमा गरिएको मापन बमोजिम नदीमा वार्षिक सालाखाला ४४ हजार २४३ दशमलव ११ अर्ब घनमिटर पानी बग्ने गर्दछ । सप्तकोशीमा एक लाख ५० हजार क्यूसेक पानी ब्यारेजमा प्रतिसेकेण्ड बग्न थालेपछि एउटा बत्ती बालिन्छ । २ लाख क्यूसेक पुगेपछि अर्को र तीन लाख क्यूसेक प्रतिसेकेण्ड बग्न थालेपछि तेस्रो बत्ती बालिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई