आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

ओलम्पिक तयारीमा सदस्य–सचिव घिसिङको चासो

आइतबार, २३ असार २०८१, २० : २३
आइतबार, २३ असार २०८१

काठमाडौँ । पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरूसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले तयारीबारे चासो राखेका छन् । ओलम्पिकका लागि बन्द  प्रशिक्षणमा रहेका खेलाडीहरूको तयारी र सरकारका तर्फबाट गर्नुपर्ने कामका विषयमा उनले छलफल गरेका हुन् ।  

साउन ११ देखि २७ गतेसम्म आयोजना हुने ओलम्पिकमा नेपालका तर्फबाट सहभागी हुने सात जना खेलाडीहरूमध्ये नेपालमै बन्द प्रशिक्षणमा रहेका खेलाडी तथा सम्बन्धित प्रशिक्षकहरूसँग भएको छलफलमा सदस्य–सचिव घिसिङले तयारीका लागि कुनै कमी हुन नदिने बताए । खेल सामाग्री, खेल पोसाक, प्रशिक्षणको तालिका सम्बन्धमा सदस्य–सचिवले चासो राखेका हुन् ।

देशले ठुलो आशा र भरोसा गरेको भन्दै खेलाडीहरूलाई उच्च मनोबलका साथ तयारी र प्रतिस्पर्धाका लागि सदस्य– सचिव घिसिङले सुझाव दिए । स्वास्थ्यलाई विशेष ख्याल गर्न सुझाव दिँदै सदस्य–सचिव घिसिङले उचित प्रबन्ध मिलाउन सम्बन्धित सङ्घहरूलाई निर्देशन समेत दिए  ।

खेलाडीले आफूहरूलाई घरबाटै ट्रेनिङमा आउन सहज भएको भन्दै बन्द प्रशिक्षण निकै उपलब्धिमूलक भएको बताएका छन् । प्रशिक्षकहरूले खेलाडीहरूको प्रशिक्षण तालिम, खुराक, खेल सामाग्री व्यवस्थापनका विषयमा जानकारी दिएका थिए ।  

प्रशिक्षणमा रहेका खेलाडीहरूले बिहान–बेलुका दैनिक ५ घण्टा बढी प्रशिक्षण गरी रहेको राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले जानकारी दिए ।

छलफलमा नेपालमै बन्द प्रशिक्षणमा रहेका एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ र प्रशिक्षक कान्ति महतो, जुडो  खेलाडी मनिता श्रेष्ठ प्रधान र प्रशिक्षक देवु थापा तथा  सुटिङ खेलाडी सुस्मिता नेपाल र प्रशिक्षक प्रदीप खाती सहभागी थिए ।

पेरिस ओलम्पिमा यस पटक नेपालबाट सहभागी हुने सात जना खेलाडीमध्ये टेबलटेनिसका स्यान्टु श्रेष्ठ, व्याडयमिन्टनका प्रिन्स दाहाल, पौडीका डुवाना लामा र एलेकजेण्डर शाह वैदेशिक प्रशिक्षणमा रहेको निर्देशक बिष्टले जानकारी दिए ।

छलफलमा परिषद्का सदस्य प्रकाशकुमार कुसारी र राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठको पनि उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप