आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

गुरागाईँले लिए शपथ

आइतबार, २३ असार २०८१, १९ : २२
आइतबार, २३ असार २०८१

विराटनगर । कोशी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईँलाई नियुक्त गरिएको छ । गुरागाईँले आइतबार पद तथा गोपनीयताको शपथ समेत ग्रहण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित समारोहमा उनलाई उच्च अदालत विराटनगरका मुख्यन्यायाधिश रमेश प्रसाद राजभण्डारीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । साथै समारोहका बिच प्रदेश प्रमुख परशुराम खापुङले उनलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरे । 

गुरागाईँलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आइतबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको सिफारिस समितिको बैठकले लोक सेवा आयोगको अध्यक्षमा नियुक्ति गर्न सिफारिस गरेको थियो । लामो समय निजामती सेवामा काम गरेका गुरागाईँसँग लोक सेवा आयोगमा काम गरेको अनुभव पनि छ । उनले दुई वर्षअघि मात्रै सेवाबाट अवकाश लिएका थिए ।  

तेह्रथुमको म्याङ्लुङ पुरानो घर भएपनि उनको परिवार हाल मोरङको उर्लाबारीस्थित मंगलबारेमा बस्दै आएको छ ।  सिफारिस समितिमा मुख्यमन्त्री, प्रदेश सभाका सभामुख र विपक्षी दलका नेता रहने कानुनी व्यवस्था छ । प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार  आयोगको अध्यक्ष समयावधि ६ वर्षको हुन्छ । यसअघिका अध्यक्ष उत्तम भट्टराईले उमेर हदका कारण अवकाश लिएका थिए । 

समारोहमा प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, सभामुख अम्बरबहादुर बिष्ट, मन्त्री तथा राज्यमन्त्रीहरु, विभिन्न मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप