आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
प्राकृतिक प्रकोप

बाढीपहिरोसँगै पानीजन्य सरुवा रोग र कीटजन्य सङ्क्रमणको जोखिम उच्च

यसबाट कसरी जोगिने ?
आइतबार, २३ असार २०८१, १९ : ०९
आइतबार, २३ असार २०८१

काठमाडौँ । देशभर मनसुन सक्रिय भएसँगै केही दिनयता अविरल वर्षा भइरहेको छ । यस्तो बेला पानीजन्य सरुवा रोग र कीटजन्य रोग सङ्क्रमणको उच्च जोखिम रहन्छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वर्षाको समयमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया, रुघाखोकीजस्ता पानीजन्य सङ्क्रामक रोगहरूको जोखिम बढी हुने भन्दै सतर्कता अपनाउन आग्रह समेत गरिसकेको छ । यो सिजनमा सर्पदंशको जोखिम पनि उत्तिकै रहन्छ । सर्प, बिच्छी, किर्ना, लामखुट्टे पनि यतिबेला नै सक्रिय हुन्छन् । यिनीहरूले डेंगु, स्क्रब टाइफासलगायत विभिन्न स्वास्थ्य समस्या निम्ताउने गर्छन् । 

सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. खगेन्द्रराज भट्ट मनसुन सक्रिय हुने बित्तिकै पानीजन्य रोग नदेखिए पनि जोखिम भने बढेको बताउँछन् । ‘बाढी भर्खरै आएको छ । बाढी आउने बित्तिकै पानीजन्य रोग देखापर्दैन तर जोखिम बढेको छ,’ उनले भने, ‘अब पानी ठाउँठाउँमा जम्ने, ढलहरू फुट्ने र खानेपानी दूषित हुने हुन्छ । त्यो भएपछि झाडापखाला बढी देखिन्छ, हैजा पनि फैलिन्छ । हाम्रोमा केही दिन अगाडी एक जनामा हैजा पुष्टि भइसकेको छ ।’ 

सबै क्षेत्रमा पानी भरिएपछि सर्प, बिच्छी, किर्ना, लामखुट्टे पनि बढ्ने डा. भट्टको भनाई छ । ‘पानी सबैतिर भरिएर सर्प बाहिर निस्कन्छन्, जोखिम बढ्छ,’ उनले भने, ‘मलेरिया, डेंगु बढी देखिन सक्छ । त्यो सँगसँगै जन्डिस पनि देखिन सक्छ ।’

डा. खगेन्द राज भटट

दूषित पानीका कारणले बर्खामा झाडापखाला, हैजा, टाइफाइड लगायत स्वास्थ्य समस्या देखिन सक्ने सङ्क्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनको भनाई छ । ‘विशेष गरेर बाढी आउँदा पानीजन्य रोगको समस्या देखिन्छ । मनसुनमा पनि नदेखिने होइन, तर बाढीमा जोखिम बढ्छ । झाडापखाला गराउने, ज्वरो ल्याउने खालेका सङ्क्रामक रोग कुनै पनि बेला फैलिन सक्छ,’ उनले भने, ‘किनभने हाम्रो पिउने पानीमा ढलको पानी मिसिएर आउँछ । यसले हैजा, टाइफाइड, भाइरल हेपाटाइसिस ए र ई हुन्छ, अर्को लेप्टोस्पाइरोसिसको पनि आउटब्रेक हुनसक्छ ।’ 

आगामी दिनमा पानीजन्य रोगसँगै कीटजन्य रोग पनि ह्वात्तै बढ्ने डा. पुनको अनुमान छ । ‘यस्तो समयमा डेंगु, स्क्रब टाइफस, चिकुनगुनिया जस्ता रोगको जोखिम बढ्दछ,’ उनले भने ।

दूषित पानीका कारण देखिने समस्याहरू: 

झाडापखाला 

डा. पुनका अनुसार दूषित पानी तथा खानाले झाडापखाला लाग्छ । दूषित खाना तथा पानीमा कोलिफर्म तथा इकोलाई भिब्रियो कोलेरालगायत सङ्क्रमण गराउने जीवाणु हुन्छ । जब खाना तथा पानीको प्रयोग गर्ने क्रममा यो पेटभित्र प्रवेश गर्छ, झाडापखाला लाग्छ ।

पातलो दिसा बारबार हुनु, दिसामा सिँगानजस्तो चिप्लो पदार्थ तथा रगत आउनु, शरीर शिथिल हुनु, आँखा गाडिने, मुख सुक्ने, बढी मात्रामा तिर्खा लाग्ने र कमजोर एवम् बेहोस हुने जस्ता लक्षण देखिन्छ । 

हैजा  

हैजा भिब्रियो कोलेरा नामक ब्याक्टेरियाको सङ्क्रमणबाट लाग्ने डा. पुनले उल्लेख गरे । यो ब्याक्टेरिया पेटमा प्रवेश गरेपछि सानो आन्द्रामा पुगेर आफ्नो सङ्ख्या बढाउँछ । यसले कुनै निश्चित भागमा नभई व्यापक रूपमा सम्पूर्ण भागमा असर पुर्‍याउँछ । बर्खायाममा ब्याक्टेरिया, भाइरस फैलिन सजिलो हुने भएकाले यो रोग वर्षातको मौसममा बढी लाग्ने उनले सुनाए ।  दिसा पातलो र चौलानी पानीजस्तो हुनु, दिनमा ३०–४० पटकभन्दा बढी झाडापखाला हुनु, बान्ता हुनु, शिथिल र बेहोस हुनुजस्ता लक्षण देखपर्दछन् । 

टाइफाइड

वर्षातको समयमा प्रायःलाई टाइफाइडको सङ्क्रमण हुन्छ । दूषित पानी र खाद्य पदार्थको उपभोगबाट टाइफाइडको सङ्क्रमण हुन्छ । साल्मोनेला समूहको जीवाणु मानिुसको शरीरमा प्रवेश गरेपछि टाइफाइडको समस्या देखापर्ने डा. पुनको भनाई छ । 

यसमा ज्वरो आउने, रिँगटा लाग्ने, वाकवाकी र बान्ता हुने, शरीर गल्ने र खान मन नलाग्ने लक्षण देखिन्छ । 

हेपाटाइटिस ‘ए’ र ‘ई’ 

दूषित पानीका कारणले मानव स्वास्थ्यमा बर्खायाममा देखापर्ने अर्को समस्या हो, हेपाटाइटिस ‘ए’ र ‘ई’ । दूषित पानीमा बस्ने हेपाटाइटिस ‘ए’ र ‘ई’ भाइरस कुनै पनि माध्यमबाट मानिसको पेटमा प्रवेश गर्ने डा. पुनको भनाई छ । 

पानीमा पाइने हेपाटाइटिस ए र ई का जीवाणु मनसुनमा पानीको स्रोत दूषित भए वा सफाइमा कमी भए मानिसको पेटमा प्रवेश गरी स्वस्थ्यमा असर पुर्‍याउँछ । हेपाटाइटिस लागेमा आँखा पहेँलो हुनुका साथै शरीरसमेत पहेँलो हुने गर्छ । यस्तै, पेट दुख्ने, खान मन नलाग्ने, वाक–वाक लाग्ने र कसैलाई बान्ता समेत हुने उनको भनाई छ । 

प्रदूषित पानीबाट हुने जोखिमबाट कसरी जोगिने ?

–बर्खामा वर्षा र बाढीका कारणले वरपरका खानेपानीको मुहानमा ढल मिसिएर पानी दूषित हुन्छ । यस्तो पानी पिउँदा झाडापखाला, हैजाजस्ता सङ्क्रमण हुनुका साथै पेट दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने लगायत विभिन्न समस्या देखापर्छ । त्यसैले पानी उमालेर पिउनु पर्छ । यदि पानी उमाल्न नसक्ने अवस्था भए क्लोरिन राखेर निर्मलीकरण गरेर पानी पिउनु पर्ने डा. पुनले सुझाएका छन् । 

–आफ्नो तथा आफ्नो वरिपरिको वातावरणको सरसफाइमा ध्यान पुर्‍याउनुपर्छ । बाढी प्रभावित क्षेत्रमा खानेपानी उपलब्ध गराउने निकायले सफा र सुरक्षित पानी उपलब्ध गराउनुपर्ने विज्ञहरूको आग्रह छ । 

–खानेकुरा खानुअघि र पकाउनुअघि राम्रोसँग हात धुनुपर्छ । व्यक्तिले जथाभाबी दिसापिसाब गर्न हुँदैन । खानेकुरालाई राम्रोसँग पकाएर मात्र खानुपर्ने विज्ञहरू बताउँछन् । 

–विशेष गरी बालबालिका, दिर्घरोगी, गर्भवती महिला र रोगप्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिलाई पानीजन्य रोगको जोखिम बढी हुने भएकाले व्यक्तिगत सरसफाइ ध्यान दिन चिकित्सक सुझाउँछन् ।

–बर्खाको मौसममा बासी तथा काँचो खानेकुरा खानुहुँदैन । बाहिरको खाना पनि नखान चिकित्सकको सल्लाह छ ।

–बाढीले विभिन्न जीवजन्तु बगाएर ल्याउने धेरै सम्भावना हुन्छ । जसले गर्दा वातावरण दुर्गन्धित हुन्छ । सोबाट जोगिन बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्दछ । 

वर्खायाममा देखिने कीटजन्य रोगहरू:

डेंगु

विगत वर्षमा झाडापखाला, हैजा र डेंगुलगायत सरुवा रोगहरू महामारीकै रूपमा फैलिएका थिए । यस वर्ष पनि ७३ जिल्लामा फैलिएको डेंगुबाट १४ सय ३२ जना प्रभावित भएका छन् । डेंगु जनघनत्व बढी भएका क्षेत्रमा सङ्क्रमण बढी देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा (ईडीसीडी) ले उल्लेख गरेको छ । 

मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी काठमाडौँमा १५९ जनामा डेंगु देखिएको छ । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ३५० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु सङ्क्रमण फैलिन्छ ।

स्क्रब टाइफस

नेपालमा बर्खा सिजनमा देखापर्ने सरुवा रोगमध्ये एक हो ‘स्क्रब टाइफस’ । यो रोग उपियाँको टोकाइबाट मानिसमा सर्दछ । यो रोग उपियाँमा पाइने ‘ओरेन्सिया’ जीवाणुबाट लाग्ने भेरी अस्पतालका फिजिसियन डा. सङ्केत कुमार रिसालले बताए ।

यो किर्ना प्रायः घरपालुवा जनावर, झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडीमा रहने गर्दछ । ‘टाइफस’ र ‘स्क्रब टाइफस’ दुई स्टेजको हुन्छ । जुम्रा, लामखुट्टे लगायतले टोकेमा टाइफस हुने र उपियाँ, किर्नाले टोकेमा ‘स्क्रब टाइफस’ हुने रिसाल बताउँछन् ।

‘स्क्रब टाइफस’ मानिसबाट मानिसमा सर्दैन । नेपालमा गाई–भैँसी, बाख्रा लगायत पालिन्छ । समृद्ध समाजमा कुकुर लगायत विभिन्न जनावर पाल्ने गरिन्छ । यी जनावरहरूमा उपियाँ हुन्छन् । ती उपियाँले मानिसलाई टोकेमा सङ्क्रमण हुने डा. रिसालले बताए ।

dr. sanket risal

अरू सिजनमा घरपालुवा चौपाया चरनका लागि बाहिर लैजाने भए पनि बर्खा सिजनमा घर छेउछाउको गोठमा रहन्छन् । मानिससँग सम्पर्क हुनासाथ उपियाँले मानिसलाई टोक्ने र ‘स्क्रब टाइफस’ को जोखिम बढी हुने डा. रिसाल बताउँछन् । ‘स्क्रब टाइफस’को जोखिम बाह्रै महिना हुने भए पनि बर्खा सिजनमा बढी हुने उनको तर्क छ ।

डा. रिसालका अनुसार ‘स्क्रब टाइफस’ भएमा ज्वरो आउने, मांसपेशीदेखि हड्डीसमेत दुख्ने लक्षण देखिन्छ । तर ज्वरो आउने बित्तिकै ‘स्क्रब टाइफस’ भएको अनुमान गर्न नसकिने उनको भनाइ छ ।

कीटजन्य रोगबाट जोगिने उपायहरू 

कीटजन्य रोगको सङ्क्रमण फोहोरबाट हुने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्छ । खेतबारीमा काम गर्दा, वनजङ्गल र झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउनका साथै सम्भव भएसम्म बुट लगाउन डा. रिसालको सुझाव छ । 

सकेसम्म झुल लगाएर सुत्न पनि उनले सुझाव दिए । सरकारी निकायले मात्रै डेंगुलाई न्यूनीकरण गर्न सम्भव नहुने भएकाले आम नागरिकलाई पनि विज्ञहरूले यसको रोकथाम र नियन्त्रणमा केही सुझाव दिएका छन् । घरको वरिपरि पानी जम्न नदिने, पूरै शरीर ढाक्ने कपडा लगाउने, घरमा बस्दा अनिवार्य झुलभित्र बस्ने, लामखुट्टे भगाउने क्रिम प्रयोग गर्ने, झ्याल ढोका बन्द राख्ने वा जालीको व्यवस्था गर्ने उनीहरूको सुझाव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप