आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

बागमती सरकारबाट एमाले मन्त्रीहरूले सोमबार राजीनामा दिने

आइतबार, २३ असार २०८१, १८ : ३४
आइतबार, २३ असार २०८१

हेटौँडा । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीले सोमबार राजीनामा दिने भएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेल हेटौँडा आएलगत्तै राजीनामा दिने तयारी गरेका एमाले मन्त्रीहरूले सोमबार मात्रै राजीनामा दिने भएका हुन् ।  

आइतबार दिउँसो हेटौँडा आइपुगेका मुख्यमन्त्री जम्कट्टेलको आग्रहमा एमालेले सरकारबाट बाहिरिन सोमबारको समय निर्धारण गरेको हो । हेटौँडा आएपुगे लगत्तै मुख्यमन्त्री जम्कट्टेलसँग छलफलका लागि एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए ।

छलफलका क्रममा मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् बैठकबाट केही निर्णय गर्नुपर्ने भएकाले त्यसपछि राजीनामा दिन आग्रह गरे पश्चात् एमाले सकारात्मक भएर फर्किएको एक मन्त्रीले बताए । सोमबार बिहान सबै मन्त्रीहरूले राजीनामा दिएर सरकार छाड्ने तयारी गरेका थिए । 

‘आजै राजीनामा गर्ने तयारी थियो । मुख्यमन्त्री ज्यूले केही निर्णय गर्नुपर्नेछ भनेर भन्नुभयो । त्यसले भोलि बिहानसम्म पर्खिने छौँ । सोमबार बिहान सरकारबाट बाहिरिएर एमाले कांग्रेस गठबन्धनबाट नयाँ सरकार गठनमा हामी अघि बढ्छौ ।’ ती मन्त्रीले भने, ‘मुख्यमन्त्रीले चालु आर्थिक वर्षमा नै भएको केही कामहरू टुंगयाएर बाटो खुल्ला गरिदिन आग्रह गरेका थिए । सोही अनुसार हामी अघि बढ्ने भएका छौँ ।’

उनका अनुसार मुख्यमन्त्री जम्कट्टेलले गौतम बुद्ध क्रिकेट रंगशालाको बजेटका सन्दर्भमा निर्णय गर्ने बाँकी रहेको र सो विषय टुग्याएर अघि बढ्न भनेका थिए । गत २०८० कात्तिक २१ मा भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबिचको बैठकमा उक्त रंगशाला निर्माणका लागि प्रदेश सरकारले लगानी गर्ने सहमति भएको थियो । उक्त बैठकमा महानगरपालिकाले तयार पारेको लागत अनुमान प्रस्ताव अनुसार ७५ करोड रुपैयाँ लगानीमध्ये ७० प्रतिशत प्रदेश सरकार र ३० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने सहमति भएको थियो । सो विषयको निर्णय गर्नुपर्ने भएकाले मुख्यमन्त्रीको आग्रहमा एमालेले सहजिकरण गर्ने भएको उनले बताए ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले कार्यालय समयभन्दा ढिला गरी मुख्यमन्त्री हेटौँडा आएकाले सोमबार मात्र राजीनामाको कार्यक्रम अघि बढ्ने बताए । उनका अनुसार काठमाडौँबाट आउने बित्तिकै राजीनामा पत्र थमाउन उपयुक्त नभएकाले कार्यालय समयमा नै प्रक्रिया अनुसार अघि बढ्ने तयारी गरेको हो । यसअघि सरकारमा नरहने भएकाले संसदबाटै राजीनामाको घोषणा गरिएको र हाल सरकारको सहकार्यका रूपमा रहनु पर्ने भएकाले हतार नगरिएको उनको भनाई छ ।

‘सरकारको पाटनरको रूपमा बस्नु पर्ने समीकरण भएको हतार नगर्ने निर्णयमा पुगेका हौँ । मुख्यमन्त्री कार्यालय समयभन्दा ढिला गरेर हेटौँडा आउनु भयो । त्यस कारण पनि सोमबार राजीनामाको कार्यक्रम अघि बढाउने तयारी छ । हतार हतार गर्नुपर्ने अवस्था पनि होइन । राजनीतिक नैतिकता पनि देखाउनु पर्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप