आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

१४ किलो चाँदीका गहनासहित ३ जना पक्राउ

आइतबार, २३ असार २०८१, १८ : २३
आइतबार, २३ असार २०८१

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १४‍‍.२५० किलो चाँदीको गरगहनासहित ३ जनालाई पक्राउ गरेको छ ।

चाँदीका अवैध गरगहना भण्डारण र बिक्री वितरणमा संलग्न भारतीय नागरिक २२ वर्षीय अमनकुमार, २६ वर्षीय बिकीकुमार साह तथा पर्साको लिपर्नीबिर्ता–६ का ३४ वर्षीय श्रवणप्रसाद कानुनलाई पक्राउ गरिएको सीआईबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले काठमाडौँको सानो गौचरनस्थित अटो सर्भिसेज प्रालिको अटो वर्कशपभित्र रोकी राखेको अवस्थामा भारतीय नम्बरको बिआर ०६ यु ९०५३ नम्बरको कार चेक गर्दा उक्त कारको डिकीमा लुकाईछिपाई राखेको अवस्थामा सो परिणामको चाँदीको गरगहना बरामद गरेको थियो ।

सीआईबीले अवैध चाँदीका गहना र सोको भण्डारण र बिक्री वितरणमा संलग्नलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

ललितपुरबाट काठमाडौँतर्फ आउँदै गरेको सो भारतीय नम्बरको कारमा अवैध रूपमा चाँदीको गरगहना ल्याई अवैध रूपमा काठमाडौँका विभिन्न स्थानमा बिक्री वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा सीआइबीले यही असार २१ गते उनीहरूलाई पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप