आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
महिला एसिया कप

नेपालले तेस्रोपटक सहभागिता जनाउन लागेको महिला एसिया कपको रोचक इतिहास

आइतबार, २३ असार २०८१, १८ : ०७
आइतबार, २३ असार २०८१

काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते)सम्म श्रीलंकामा आयोजना हुँदैछ । यसपटक नेपालले पनि प्रतियोगितामा सहभागिता जनाउँदै छ । नेपालले गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपमार्फत यो प्रतियोगितामा सहभागी हुने अवसर पाएको हो । 

सुरुमा प्रिमियर कपमा पहिलो हुने संयुक्त अरब इमिरेट्स (यूएई) र दोस्रो हुने मलेसियालाई मात्र एसिया कपमा सहभागिता जनाउने पाउने प्रावधान राखिएको थियो । तर, केही समयपछि एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले सेमिफाइनलमा पराजित भएका दुई टोली नेपाल (तेस्रो हुने) र थाइल्यान्ड (चौथो हुने) लाई पनि एसिया कपमा सहभागी गराउने निर्णय लिएको थियो । 

यसरी अन्तिम समयमा आएर एसिया कपमा नेपालको सहभागिता पक्का भएको हो । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्णकालीन सदस्यका रूपमा प्रतियोगितामा सहभागिता जनाएको हो । 

महिला क्रिकेटमा एसियाली क्षेत्रको यो सबैभन्दा ठुलो प्रतियोगिता हो । यो प्रतियोगितामा एसियाली क्षेत्रका टेस्ट राष्ट्रको पनि सहभागिता रहन्छ । त्यसैले नेपाल, थाइल्यान्ड, यूएईजस्ता राष्ट्रका लागि आफूभन्दा बलिया टोलीसँग खेलेर अन्तर्राष्ट्रिय अनुभव बटुल्ने यो गतिलो अवसर हो । 

women tean

  • नवौँ संस्करणमा आठ टोली 

महिला एसिया कपको नवौँ संस्करणमा आठवटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाली टोली प्रतियोगिताको समूह ‘ए’ मा परेको छ ।

दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तान पनि नेपालकै समूहमा परेका छन् । चौथो टोलीको समूहमा यूएई रहेको छ । प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । 

प्रतियोगिताको समूह चरणमा कुल १२ खेल खेलिनेछ । दुवै समूहमा रहेका टोलीले एक–अर्कासँग एक–एक खेल्नेछन् । त्यसपछि दुवै टोलीबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच जुन २८ तारिखमा फाइनल खेल हुनेछ । 

GQ6nIcFXkAAQWfN

  • नेपालको अन्तिम खेल भारतसँग

समूहगत चरणमा नेपालले आफ्नो पहिलो खेल यूएईसँग खेल्नेछ । नेपाल र यूएईबिचको खेल जुलाई १९ तारिखमा डम्बुलामा खेलिने छ । नेपालले आफ्नो दोस्रो खेल जुलाई २१ तारिखमा पाकिस्तानसँग डम्बुलामै खेल्नेछ । नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेल जुलाई २३ तारिखमा बलियो प्रतिद्वन्द्वी भारतसँग डम्बुलामै खेल्नेछ । 

  • नेपाली टोली र अभ्यास खेल

प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो टोलीको घोषणा पनि गरिसकेको छ । महिला एसिया कप यात्रामा होमिने नेपाली टोलीमा ईन्दू बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट रहेका छन् । 

लामो समयको अभ्यासपछि क्यानले आफ्ना खेलाडीको बिदाइ पनि गरिसकेको छ । नेपाली टोलीले आफ्नो अन्तिम तयारी श्रीलंकामै गर्नेछ । नेपाली टोलीले एसिया कप सुरु हुनुअघि श्रीलंका भ्रमणकै क्रममा केही अभ्यास खेल पनि खेल्ने कार्यक्रम रहेको छ ।

GRYz2hFWEAAv23R 

  • एसिया कपमा नेपालको पहिलो सहभागिता

नेपालले तेस्रो पटक महिला एसिया कपमा सहभागिता जनाउन लागेको हो । नेपालले यसअघि सन् २०१२ मा चीनमा सम्पन्न पाँचौँ संस्करणमा पनि सहभागिता जनाएको थियो । महिला एसिया कपमा नेपालको त्यो पहिलो सहभागिता थियो । 

एसिया कपको त्यो संस्करणमा पनि आठ टोली सहभागिता थिए । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, थाइल्यान्ड र हङ्कङ रहेका थिए । समूह ‘बी’ मा भने नेपाल, बंगलादेश, श्रीलंका र चीन परेका थिए । 

449124879_894362179386830_5954250750450781423_n

प्रत्येक समूहबाट दुई–दुई टोली सेमिफाइनलमा पुग्ने प्रावधान रहेको थियो । समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट बंगलादेश र श्रीलंका सेमिफाइनलमा पुगेका थिए । नेपाल आफूले खेलेको तीनवटै खेलमा पराजित भएको थियो । 

नेपाली टोली आफ्नो पहिलो खेलमा श्रीलंकासँग २० रनले पराजित भएको थियो । दोस्रो खेलमा पनि नेपाली टोली बंगलादेशसँग नौ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा भने नेपाली टोलीलाई आयोजक चीनले ४५ रनले हराएको थियो । प्रतियोगिताको फाइनलमा भारतले पाकिस्तानलाई १८ रनले हराउँदै उपाधि चुमेको थियो ।  

त्यतिबेला नेपाली टोलीमा रुविना क्षेत्री (कप्तान), ईन्दू बर्मा, ममता चौधरी, करुणा भण्डारी, सोनु खड्का, सीता रानामगर, रश्मि चौलागाइँ, सरिता मगर, ममता थापा, नेरी थापा, निरा राजोपाध्याय, रेखा रावल, रोसनी बोहरा, सोभा आले, तृष्णा सिंहलगायतका खेलाडी थिए । 

  • एसिया कपमा नेपालको दोस्रो सहभागिता

यसैगरी नेपालले सन् २०१६ मा थाइल्यान्डमा सम्पन्न महिला एसिया कपको छैटौँ संस्करणमा पनि सहभागिता जनाएको थियो । त्यो संस्करणमा ६ वटा राष्ट्रले मात्र सहभागिता जनाएका थिए । प्रारम्भिक चरणमा ६ वटै टोलीलाई एउटै समूहमा राखेर लिगका आधारमा भिडन्त गराइएको थियो । 

449506936_898491758973872_8657324551704900894_n

लिग चरणको समाप्तिपछि अङ्क तालिकामा सबैभन्दा माथि रहने दुई टोली सिधै फाइनलमा पुग्ने प्रावधान थियो । सोही आधारमा भारत पहिलो र पाकिस्तान दोस्रो हुँदै फाइनलमा पुगेका थिए । फाइनलमा भारतले पाकिस्तानलाई १७ रनले हराउँदै उपाधि जितेको थियो ।

त्यो संस्करणमा पनि नेपालले कुनै खेल जित्न सकेको थिएन । नेपाल तालिकाको अन्तिम स्थानमा रहेको थियो । नेपाली टोली पाकिस्तानसँग नौ विकेटले, श्रीलंकासँग आठ विकेटले, बंगलादेशसँग ९२ रनले, थाइल्यान्डसँग आठ विकेटले र भारतसँग ९९ रनले पराजित भएको थियो ।

त्यतिबेला नेपाली टोलीमा रुविना क्षेत्री (कप्तान), सोभा आले, ईन्दू बर्मा, रश्मि कर्माचार्य, करुणा भण्डारी, सरस्वती कुमारी चौधरी, सरिता मगर, सीता रानामगर, ज्योति पाण्डे, निरा राजोपाध्याय, सबनम राई, रोसनी बोहरा, नेरी थापालगायतका खेलाडी थिए ।

  • नेपाली खेलाडीसँग एसिया कपको अनुभव

नेपालका केही खेलाडीसँग यसअघि पनि एसिया कप खेलिसकेको अनुभव छ । नेपालले सन् २०१२ र सन् २०१६ मा एसिया कप खेल्दा रुविना क्षेत्री टोलीकी कप्तान थिइन् । थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेकी उनी अहिले पनि टोलीकी महत्वपूर्ण सदस्य हुन् । 

यसैगरी अघिल्ला दुवै संस्करणमा ईन्दू बर्मा पनि टोलीकी प्रभावशाली खेलाडी थिइन् । उनी अहिले नेपाली टोलीकी कप्तान हुन् । ईन्दूले पनि थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेकी छन् ।

indu

वर्तमान टोलीकी अर्की प्रभावशाली खेलाडी सीता रानामगरले पनि यसअघि दुईवटा संस्करणमा सहभागिता जनाइसकेकी छन् । यसका अतिरिक्त सबनम राई र ममता चौधरीले पनि यसअघि एसिया कपको अनुभव बटुलिसकेका छन् । 

  • एसिया कपमा भारतको आधिपत्य

एसिया कपको पहिलो संस्करण सन् २००४ मा आयोजना भएको थियो । त्यसयता हालसम्म आठवटा संस्करण सम्पन्न भइसकेको छ । त्यसमा भारतीय टोलीको आधिपत्य देखिन्छ । हालसम्म सम्पन्न आठमध्ये सातवटा संस्करणको उपाधि भारतले नै जितेको छ ।

बाँकी एउटा संस्करणको उपाधि भने बंगलादेशले जितेको छ । महिला एसिया कपको इतिहासमा सबैभन्दा बढी पटक फाइनलमा पुगेर पराजित हुने टोली श्रीलंका हो । पाँचपटक फाइनलमा पुगेर पनि श्रीलंकाले उपाधि चुम्न सकेको छैन । 

BB1oS9lX

पाकिस्तान दुई पटक र भारत एक पटक फाइनलमा पराजित भएका छन् । बंगलादेशले भने सन् २०१८ मा महिला एसिया कपको उपाधि जितेको थियो । त्यतिबेला बंगलादेशले फाइनलमा भारतलाई तीन विकेटले हराएको थियो । 

  • पहिलो संस्करणमा केवल दुई टोली

महिला एसिया कपको इतिहास निकै रोचक छ । यो प्रतियोगिताको पहिलो संस्करण सन् २००४ मा आयोजना भएको थियो । पहिलो संस्करणको आयोजक राष्ट्र पनि श्रीलंका नै थियो । रमाइलो पक्ष के हो भने, महिला एसिया कपको पहिलो संस्करणमा दुईवटा राष्ट्रले मात्र सहभागिता जनाएका थिए । 

त्यसैले महिला एसिया कपको नौवटै संस्करणमा सहभागिता जनाउने राष्ट्र भारत र श्रीलंका मात्र हुन् । पहिलो संस्करणमा भारत र श्रीलंकाबिच एकदिवसीय ढाँचामा कुल पाँचवटा खेल खेलाइएको थियो । पाँचवटै खेलमा भारत विजयी भएको थियो । 

449394009_898491808973867_1204022562047053673_n

प्रतियोगिताको दोस्रो संस्करणमा भने तीनवटा राष्ट्रले सहभागिता जनाएका थिए । दोस्रो संस्करण सन् २००५/०६ मा पाकिस्तानमा खेलाइएको थियो । त्यसैले भारत र श्रीलंकाका अतिरिक्त तेस्रो टोलीका रूपमा पाकिस्तान सहभागी भएको थियो । 

सन् २००६ मा भारतमा सम्पन्न तेस्रो संस्करणमा पनि भारत, पाकिस्तान र श्रीलंका गरी तीन राष्ट्र सहभागी थिए । सन् २००८ मा श्रीलंकामा सम्पन्न चौथो संस्करणमा चौथो टोलीका रूपमा बंगलादेश पनि थपिएको थियो ।

449434618_898491262307255_8608270781879041843_n

यसैगरी सन् २०१२ मा चीनमा सम्पन्न पाँचौँ संस्करणमा अघिल्ला चार राष्ट्रका अतिरिक्त नेपाल, चीन, हङ्कङ र थाइल्यान्डले पनि सहभागिता जनाएका थिए । सन् २०१६ मा थाइल्यान्डमा सम्पन्न छैटौँ संस्करणमा ६ राष्ट्र सहभागी थिए । चार टेस्ट राष्ट्रका अतिरिक्त नेपाल र थाइल्यान्डले त्यो संस्करणमा सहभागिता जनाएका थिए ।

यसैगरी सन् २०१८ मा मलेसियामा सम्पन्न सातौँ संस्करणमा ६ वटा टोलीले भाग लिएका थिए । चारवटा टेस्ट राष्ट्रका अतिरिक्त त्यो संस्करणमा थाइल्यान्ड र मलेसिया सहभागी थिए । सन् २०२२ मा बंगलादेशमा सम्पन्न आठौँ संस्करणमा सात टोली सहभागी थिए । त्यो संस्करणमा चारवटा टेस्ट राष्ट्रका अतिरिक्त मलेसिया, थाइल्यान्ड र यूएईले भाग लिएका थिए ।

448943999_898489962307385_6854482138654389342_n

  • कहिले एकदिवसीय, कहिले टी–२०

एसीसी महिला एसिया कपको ढाँचामा पनि विविधता पाइन्छ । पहिलो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो । प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो संस्करण पनि एकदिवसीय ढाँचामा नै खेलाइएको थियो ।  

तर, सन् २०१२ मा सम्पन्न पाँचौँ संस्करण भने टी–२० ढाँचामा खेलाइएको थियो । त्यसयताका सबै संस्करण टी–२० ढाँचामै खेलाइएको छ । हाल श्रीलंकामा आयोजना हुन लागेको नवौँ संस्करण पनि टी–२० ढाँचामै खेलाइँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप