आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

डडेल्धुरामा पहिरामा परी एकको मृत्यु, राजमार्ग अवरुद्ध

आइतबार, २३ असार २०८१, १७ : ५७
आइतबार, २३ असार २०८१

डडेल्धुरा । डडेल्धुरामा पहिरामा परी एक जनाको मृत्यु भएको छ । माथिबाट खसेको पहिराको ढुङ्गा लाग्दा परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार शनिबार बेलुका पहिराबाट खसेको ढुङ्गा लाग्दा पनेरुको मृत्यु भएको हो । 

लगातारको झरीले खानेपानीको मुहानमा क्षति पुग्दा धारामा पानी बन्द भएको थियो । मुहान सफा गर्ने क्रममा पहिराबाट खसेको ढुङ्गा लाग्दा शिक्षक पनेरुको घटनास्थलमा नै मृत्यु भएको छ । परशुराम वडा नं. ३ कै भातगाडा भनिने स्थानमा पानीको मुहान बनाउन गएका बेला माथिबाट खसेको पहिराको ढुङ्गा लाग्दा पनेरुको मृत्यु भएको प्रहरी नायब उपरक्षक कार्कीले बताए । 

तीन दिनदेखि लगातार वर्षाका कारण तराई पहाड जोड्ने भीमदत्त राजमार्ग, डडेल्धुरा–डोटी जोड्ने सेती राजमार्ग र बुडर–जोगबुडा जोड्न सडकमा क्षति भएको छ । भीमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१, शाहुखर्क, अमरगढी नगरपालिका–६, भालुमारेमा पहिरो खस्दा अवरुद्ध भएको हो । शाहुखर्कमा आइतबार बिहान पहिरो खसेको थियो भने भालुमारेमा शनिबार राति नै पहिरो खसेको जनाइएको छ । डोजरले पहिरो हटाएपछि आज दिउँसोबाट राजमार्ग सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

उनका अनुसार आइतबार बिहान सेती राजमार्गको रडुवामा पहिरो खस्दा केही समय राजमार्ग अवरुद्ध भएको थियो । पहिरो हटाएपछि सेती राजमार्ग पनि सञ्चालनमा आएको छ । तर शनिबारदेखि अवरुद्ध भएको बुडर–जोगबुडा सडक अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । सडकखण्डको सुनखोला नजिक माथिबाट पहिरो खसेको परशुराम नगरपालिकाका मेयर भरत जोशीले जनाकारी दिए । शनिबार राति खसेको पहिरो हटाउन सकिएको छैन ।

शुक्रबारदेखि लगातरको झरीले जनजीवन प्रभावित भएको छ । जिल्लाका भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाले एक सूचना जारी गरी विद्यालय बन्द गरिएको छ । बाढीपहिराको जोखिमलाई मध्यनजर गरी विद्यालय बन्द गरिएको अजयमेरुका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र ओझाले जानकारी दिए । 

विशेष कामबाहेक स्थानीय घरबाहिर निस्कन सकिरहेका छैनन् । खोलामा पानीको सतह बढ्दै गएको छ । यद्यपि डडेल्धुरामा खोला नालाले अहिलेसम्म क्षति नपुगाएको उनले जानकारी दिए । ग्रामीण कच्ची सडक पूर्णरुपमा बन्द रहेको छ । 

किसानले लगाएको मकैवालीमा वर्षाले ठुलो क्षति भएको छ । अविरल वर्षासँगै आएको हावाहुरीले मकैवाली नष्ट गरेको किसान बताउँछन् । किसानले लगाएको मकै सबै ढलेको छ । पानी पर्दा रोपाइँ गर्न सहज भए पनि मकैलगायत अन्य खेतीपातीमा भन क्षति पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप