आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
खेलाडी

फुटबलका रोजर फेडेरर– टोनी क्रुस

आइतबार, २३ असार २०८१, १६ : ४३
आइतबार, २३ असार २०८१
  • आफ्नो लामो र सफल फुटबल करियरमा मिडफिल्डरका आलोचकहरू नभएका होइनन्, तर उनले हरेकलाई चुप बनाएको लामो समय बितिसकेको छ ।

गत फेब्रुअरी महिनामा मड्रिड डर्बीमा अर्को उत्कृष्ट प्रदर्शनपछि इस्कोले आफ्ना पूर्वसहकर्मी टोनी क्रुसलाई संन्यास नलिन आग्रह गरे । ‘तिमीलाई दुई–तीन वर्ष अझै खेलेको हेरेर आनन्द लिन मन छ,’ स्पेनिस खेलाडीले क्रुसको खेलपछि इन्स्टाग्राम पोस्टमा लेखेका थिए ।

तर, इस्कोको आग्रहलाई वास्ता गरिएन । रियल मड्रिडका समर्थकहरूले सुन्न नचाहेको समाचार क्रुसले गत मेमा पुष्टि गर्दै सन् २०२४ को युरो कपपछि फुटबलबाट संन्यास लिने घोषणा गरे ।

‘मेरो निर्णयका लागि मैले सही समय भेटाउँदा र आफैँले सो कुरा छान्न पाउँदा म खुसी र गौरवान्वित छु,’ उनले स्पष्ट पारे, ‘मेरो खेल उच्चस्तरमा हुँदा नै मेरो करियर अन्त्य गर्ने सधैँभरि लक्ष्य थियो ।’

उनले ठ्याक्क त्यही गरे । आफ्नो सबैभन्दा सफल सिजनपछि क्रुसले आफ्नो करियरलाई पूर्णविराम लगाउने निर्णय गरे । भलै, युरो २०२४ को आयोजकको रूपमा जर्मनीले क्वार्टरफाइनलमा स्पेनसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिनुपर्ने दुःखद अन्त्यको सामना गर्नुपर्‍यो ।

  • बायर्न र युनाइटेडले गुमाएको अवसर

क्रुसले कहिल्यै पनि आफ्नो हकको सम्मान पाएनन् । बायर्न म्युनिखमा आफ्नो कदर नभएको महसुस गरेपछि उनले सन् २०१४ मा क्लब छाड्ने निर्णय गरे । त्यतिबेला बायर्नले उनलाई मारियो गोट्जे जतिको रकम दिन अस्वीकार गरेको थियो । यो एउटा यस्तो खराब निर्णय थियो, जसलाई क्लबका समर्थकले कहिल्यै भुल्न सकेनन् ।

GOAL - Blank WEB - Facebook

गत मेमा एलियान्ज एरिनामा आफ्नो अन्तिम खेल खेल्दा बायर्नका समर्थकहरूले उनलाई ‘शत्रुतापूर्ण स्वागत’ गरेका थिए । यसको जवाफमा उनले बायर्नको डिफेन्सलाई चिर्दै भिनिसियस जुनियरका लागि गोलको अवसर सिर्जना गरिदिए ।

म्यानचेस्टर युनाइटेडका फ्यानहरूका लागि पनि दुःखको खबर छ । डेभिड मोयजलाई भेटेपछि क्रुस ओल्ड ट्राफोर्ड आउन तयार भएका थिए । तर, सन् २०१३–१४ को सिजनपछि स्कट म्यानेजर बर्खास्त भए । उनको स्थानमा आएका लुइस भान हालले क्रुसलाई अनुबन्ध गर्न चासो नै देखाएनन् ।

ब्राजिलमा विश्वकप जारी रहँदा जर्मन मिडफिल्डर आफ्नो नयाँ यात्राबारे विचाराधीन थिए । त्यही बेला उनलाई कार्लो एन्चेलोटीले फोन गरेर रियल मड्रिड आउन आग्रह गरे ।

यो ट्रान्सफर, क्रुसले पछि स्वीकार गरे अनुसार, ‘फुटबलरको रूपमा उनको यात्रा र एक व्यक्तिका रूपमा उनको जीवन बदल्ने’ खालको थियो । यो विश्वकै सबैभन्दा ठुलो क्लबमा उनको नयाँ अध्यायको सुरुवात थियो । जुन सबैभन्दा सुखद् अन्त्यका साथ समाप्त भयो ।

  • ‘गुण र मानसिकताको सम्मिश्रण’

जुन १ मा क्रुसले रियलका लागि अन्तिम खेल खेले । वेम्बलेमा भएको बोरुसिया डर्टमन्डविरुद्धको च्याम्पियन्स लिगको फाइनल खेलमा उनले महत्त्वपूर्ण पहिलो गोलका लागि ड्यानी कार्भाहाललाई अवसर सिर्जना गरे । मड्रिडसँग क्रुसको यो पाँचौँ युरोपियन कपको उपाधि थियो र समग्रमा छैटौँ । इतिहासमा उनीभन्दा बढी कुनै पनि खेलाडीले यो उपलब्धि हासिल गर्न सकेका छैनन् ।

GOAL - Blank WEB - Facebook (3)

खेलपछि उनलाई सोधिएको थियो– लस ब्लाङ्कोसले कसरी यस्तो सफलताको युग हासिल गर्न सफल भयो ?

उनको सरल जवाफ थियो, ‘यो गुण र मानसिकताको सम्मिश्रणका कारणले हो ।’ सायद, उनले आफ्नै बारेमा वर्णन गरिरहेका थिए ।

  • ‘हमेसा सुन्दर र कुशल’

तर, यो सधैँ सहज भने थिएन । रियलमा त्यो हुँदैन पनि । उनी कयौँ पटक रियलका ‘बू व्वाइज’ को निशानामा परे, विशेष गरेर सन् २०१८–२०१९ को उपाधिविहीन सिजनमा ।

तर, हामी यहाँ एउटा यस्तो खेलाडीको चर्चा गरिरहेका छौँ जसले कहिले पनि दबाब महसुस गरेनन् र कहिले पनि नर्भस भएनन् । क्रुसको संयम सामान्य छैन ।

GOAL - Blank WEB - Facebook (1)

जमाल मुसियालाले पनि स्वीकार गरेको कुरा हो– क्रुस बलसँग कति शान्त हुन्छन् । विश्व फुटबलका महान खेलाडी जिनेदिन जिदानले समेत आफूलाई क्रुसले प्रशिक्षण गरेको हेर्दा आनन्द आउने बताएका थिए । ‘यो साँचो हो, मैले उनलाई कहिल्यै पनि बल गुमाएको देखिनँ । उनको खेल हमेसा सुन्दर र कुशल हुन्छ । उनको दिन कहिल्यै पनि खराब हुँदैन ।’

जिदानले करियरको लामो समय क्रुसको नेतृत्वको क्षमताको पनि कम मूल्याङ्कन गरिएको बताए किनभने उनी सधैँ नम्र रहन्छन् । ‘टोनी शान्त र संकोच गर्ने केटो हुन् । तर, जब उनी कुरा राख्छन्, उनी सबैसँग कुरा गर्छन्, उनको प्रशिक्षक, म्यानेजर, सहकर्मी, उनी रोकिँदैनन्,’ उनले रियल फ्रान्ससँग कुराकानी गर्दै भने, ‘मैले यस्ता धेरै छलफल देखेको छु, जहाँ उनको सहभागिता निर्णायक बनेको छ ।’

  • ‘सबैभन्दा बहादुर’

जिदानले क्रुसको ‘निर्मलता’ लाई सद्गुणको रूपमा हेरिरहँदा जर्मनीका विज्ञहरूले भने यसलाई त्रुटिका रुपमा व्याख्या गरे । विशेष गरेर सन् २०१६ को युरोमा जर्मनी सेमिफाइनलमा बाहिरिँदा धेरैले क्रुस धेरै नियन्त्रित र सावधान भएको धारणा निर्माण गरे । उनको संयमित पासका लागि धेरैले उनलाई ‘क्वेरपास टोनी (साइडवेज टोनी)’ भनेर अपमान पनि गरे ।

GOAL - Blank WEB - Facebook (2)

यो आरोपबाट बायर्न म्युनिखका पूर्वम्यानेजर पेप ग्वार्डिओला पनि छक्क पर्छन् । ‘धेरै पटक, जब कुराहरू सही हुँदैनन्, हामी शान्त र टेक्निकल खेलाडीहरूमाथि दोषारोपण गर्छौँ,’ उनले भने, ‘तर यी खेलाडीहरू सबैभन्दा बहादुर हुन्छन् । उनीहरूसँग सबैभन्दा धेरै साहस हुन्छ । जुन खेलाडीहरू सबैभन्दा बढी हल्ला गर्छन्, तिनीहरू नै खेल खराब हुँदा लुक्छन् । टोनी ठिक उल्टो हुन्, उनी सबैभन्दा चुनौतीपूर्ण समयमा सबैभन्दा बहादुर हुन्छन् ।’

क्रुसको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता यसको सही उदाहरण थियो ।

  • ‘क्रुसको खेल शैलीको समय सकियो’

सन् २०२० को युरोको अन्तिम १६ मा इंग्ल्यान्डसँग जर्मनीले लज्जास्पद हार बेहोर्दा क्रुसलाई ‘बलीको बोका’ बनाइएको थियो । पूर्वखेलाडी उली होनेसले क्रुसको खेल्ने शैलीको ‘समय सकिएको’ बताएका थिए । ‘आधुनिक फुटबलमा तेस्रो पासका साथ टोनी क्रुस फिट हुन्नन्,’ बायर्नका पूर्वअध्यक्षले स्पोर्टसँग कुराकानी गर्दै भनेका थिए, ‘आजको खेल सिधा खेलिन्छ । खेलाडीहरू बल लिन्छन् र सिधा द्रुत गतिका साथ दौडिन्छन् ।’

‘हामी इंग्ल्यान्डविरुद्ध अन्तिम क्वार्टरमा १–० ले पछि थियौँ तर क्रुस मध्यलाइनबाट अघि बढ्न छाडे । उनको खेल्ने शैलीको समय समाप्त भइसकेको छ । उनले बारम्बार छेउतर्फ मात्र खेले, यसले विपक्षी टोलीलाई संगठित हुन समय दियो,’ उनले भने ।

बायर्नका लिजेन्ड लोथर म्याथुस पनि यसमा थपिए । ‘क्रुस अन्तर्राष्ट्रिय स्तरको खेलाडी रहेनन्,’ किकरसँग कुराकानी गर्दै उनले भने, ‘व्यक्तिगत रूपमा क्रुससँग मेरो कुनै दुस्मनी छैन । तर, उनले खेल्ने तरिकाको समर्थन गर्दिनँ ।’

‘युरोमा हामीले खेलाडीको मात्र होइन, बलको पनि गतिमा भरपर्ने देख्यौँ । वान–टू टचमा उनले राम्रै गर्छन् तर जब उनले पास गर्छन्, बलले गति गुमाउँछ,’ उनले भने ।

युरो २०२४ मा ती सबै टिप्पणीहरूलाई उनले पूर्ण रूपमा उपहास गरे ।

  • ज्याभीको उत्तराधिकारी

इटालीलाई स्विट्जरल्यान्डले हराएपछि ग्रानिट जाकाले २५ वटा लाइन–ब्रकिङ पासहरू गरेको खुलासा भएको थियो । यो एउटा उत्कृष्ट तथ्याङ्क थियो ।

तर, क्रुसले यो तथ्याङ्क समूह चरणमै उछिनिसकेका थिए । जर्मनीका सबै तीन खेलमा क्रुसको तथ्याङ्क योभन्दा राम्रो थियो ।

020724 Toni Kroos of Germany reacts 1920

युरोमा क्रुसभन्दा प्रोगेसिभ पासर अन्य कुनै पनि खेलाडी थिएन । उनले एकपछि अर्को रेकर्ड तोड्दै अघि बढिरहेका थिए । क्वार्टरफाइनलमा पुग्दा अन्तिम थर्डमा उनले सबैभन्दा धेरै ११३ वटा सफल पासहरू गरेका थिए । यस सूचीमा दोस्रो स्थानमा डेक्लन राइस, जुड बेलिङहम, बुकायो साका र फिलफोडेन मिलेर बनाएको १३ वटा थियो ।

एक अन्तिम प्रतियोगिताका लागि संन्यासबाट फर्किएका क्रसको अन्तर्राष्ट्रिय करियर क्लब करियरजस्तै परीको कथासरह सुन्दर अन्त्य नभए पनि यो सफल पुनरागमन थियो, उनको खेल शैलीका लागि पनि ।

ज्याभीले किन उनलाई आफ्नो उत्तराधिकारी घोषणा गरेका थिए र किन हुवान रोमन रिकेल्मीले उनलाई ‘फुटबलका रोजर फेडरर’ भने भन्ने कुरा उनले पुष्टि गरे । ‘उनले एउटा खेल खेल्न सक्छन्,’ अर्जेन्टिनी खेलाडीले भनेका थिए, ‘खेलपछि उनलाई नुहाउनुपर्ने आवश्यकता पनि पर्दैन ।’ विश्व फुटबलका उत्कृष्ट मिडफल्डरमध्ये एकले यस्तो तारिफ गर्नु चानचुने कुरा होइन ।

वास्तवमै क्रुसलाई हेर्नु यति आनन्ददायी थियो कि इस्कोले जस्तै उनलाई फेरि पनि खेलमा फर्कन आग्रह गर्नबाट कसैले आफैलाई रोक्न सक्दैनन् होला । एन्चेलोटीले त यसअघि नै भनिसकेका छन्, ‘टोनीले संन्यासबारे आफ्नो मन बदले भने अर्को सिजन रियलको ड्रेसिङ रुममा उनका लागि स्थान खाली रहनेछ ।’

तर, विश्व विजेता खेलाडीले स्पष्ट पारेका छन्, उनी आफूलाई रियलका लागि उत्कृष्ट अन्तिम सिजन खेल्ने ३४ वर्षीय टोनी क्रुस भनेर सम्झियोस् भन्ने चाहन्छन् । आफ्नो संन्यास चाँडो भयो भन्नेहरूलाई तारिफका लागि धन्यवाद दिन्छन् ।

यस अर्थमा उनको संन्यास समयपूर्व होइन । वास्तवमा यो सिद्ध छ, उनको हरेक पासजस्तै ।

गोलडटकमबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप