हजका लागि साउदी गएका नेपाली यात्री फर्किए

काठमाडौँ । हजका लागि साउदी अरब गएका नेपाली यात्री ४२ दिन पछि नेपाल फर्किएका छन् । यो वर्षको हज यात्रा सहज रूपमा सम्पन्न गरी नेपाल फर्किएको हज कमिटीका अध्यक्ष इसरा मुल्ला मियाँले बताए ।
यो वर्ष हज यात्रा कमिटीका सदस्य र दुई जना चिकित्सक सहित ७६४ जना हजको लागि साउदी अरब पुगेका थिए । हज यात्राको लागि प्रति व्यक्ति चार लाख १५ हजार रुपैयाँ सङ्कलन गरिएको थियो । कमिटीका सदस्य र चिकित्सकको लागि सरकारले टिकटको सुविधा प्रदान गरेको कमिटीका अध्यक्ष मियाँले बताए ।
२०२१ सालदेखि नेपाल सरकार मार्फत हज यात्रामा जाने क्रम सुरु भएको हो । त्यसअघि भने हजयात्री भारतको मुम्बई हुँदै पानी जहाजबाट साउदी अरब पुग्ने गरेका थिए । २०२० सालमा रौतहट जिल्लामा मुस्लिम अगुवाहरूको भेलाले सरकारसँग हज समितिको माग गरेको थियो । तत्पश्चात् हज कमिटी गठन गरी सरकार मार्फत हजमा जाने क्रम सुरु भएको हो ।
इस्लाम धर्मका प्रमुख स्तम्भ इमान, नमाज, रोजा, जकात र हज हुन् । स्वास्थ्य र आर्थिक हिसाबले सक्षम व्यक्तिहरू जीवनमा कम्तीमा एक पटक अनिवार्य हर्ज जानुपर्ने मान्यता रहँदै आएको छ । हजको मुख्य विधि हिजरी पात्रोको १२ औँ महिना जुलहिज्जाको ८ देखि १२ तारिखसम्म गरिन्छ । यस बाहेक पनि हजयात्री महिना दिनसम्म मक्का र मदिनामा विभिन्न धार्मिक कर्ममा सहभागी हुन्छन् । जुलहिज्जाकै १० तारिखमा इस्लाम धर्मावलम्बीको अर्को ठुलो चाड बक्र ईद पर्छ ।
हज यात्रामा जानेहरूले मक्का पुग्नुअघि नै सेतो रङको नसिलाइएको कपडा लगाउनुपर्छ । जसलाई एहराम भनिन्छ । यो कपडा लगाएपछि हजको प्रक्रिया शुरु भएको मानिन्छ । मम्का पुगेर तवाफ र सई गरेपछि मात्र अर्को कपडा लगाउने गरिन्छ । काबाको सात पटक परिक्रमा गरिन्छ । जसलाई तवाफ भनिन्छ । त्यस्तै, सई पनि हज यात्रीको अर्को प्रमुख कार्य हो । सईपछि पुरुषहरूले कपाल खौरिने गर्छन् भने महिलाले पनि केही अंश काट्ने गर्छन् ।
हाजीहरूले तवाफ गरी सकेर एक दिन मिना र एक दिन मुजदल्फह बसेर जुलहिज्जाको ९ तारिख दिन मक्का भन्दा परेको ठुलो मैदानमा दिन बिताउने गर्छन् । खुला आकाशमुनि यहाँ बसेर क्षमा याचना गर्ने गरिन्छ ।
हजयात्रीहरु गत जुन २९ देखि नेपाल फर्कन सुरु गरेका हुन् । जुलाई ३ तारिखसम्ममा सबै यात्री नेपाल आइपुगेको अध्यक्ष मियाँले बताए । गत जेठको पहिलो हज यात्री साउदी अरब पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड के आधारमा सरकार ढल्ने अभिव्यक्ति बारम्बार दिन्छन् ?
-
जम्मु-कश्मिरमा मारिएका सुदीपको सम्झनामा दीप प्रज्वलन
-
हिमालयन रि–इन्स्योरेन्सलाई वैदेशिक रोजगार म्यादी जीवनबीमा पुल सञ्चालनको अधिकार
-
पैदल यात्रुको मृत्यु प्रकरण : ६ दिनसम्म किन जलाइएन शव ?
-
भारतका लागि नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई
-
जिम्मेवारी र माया बिचको सङ्घर्ष झल्काउने ‘परिबन्ध’ गीत