आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

पछाडि सर्न थाल्यो पृथ्वीको ‘कोर’

आइतबार, २३ असार २०८१, १५ : १७
आइतबार, २३ असार २०८१

काठमाडौँ । पृथ्वीको सतहबाट ३ हजार २२० माइल मुनि धातुको ठोस भकुन्डो छ । यसलाई धातुको तरल सतहले घेरेको छ । 

पृथ्वीको केन्द्रमा रहेको यो सतहमा मुख्यतः फलाम र निकेल छ । यो सूर्यको बाहिरी सतह जत्तिकै अर्थात् ९ हजार ८०० डिग्री फरेनहाइट तातो भएको अनुमान गरिएको छ । पृथ्वीको चुम्बकीय क्षेत्रले धातुको यो ठोस भकुन्डोलाई घुमाइरहन्छ । बाहिरको तरल सतह र त्यसभन्दा बाहिर रहेको सतहले भने भित्री तहलाई तान्छ । दशकौँसम्म यो तान्ने र धकेल्ने क्रमका कारण भित्री तहको घुमाइको गतिमा विविधता देखिएको छ ।

पृथ्वी घुमेजस्तै गरी यो भकुन्डो पनि स्वतन्त्र रूपमा घुमिरहन्छ । पृथ्वीको यो हिस्सा रहस्यमय छ । सन् १९३६ मा डेनिश भूकम्पशास्त्री इन्ज लेहम्यान पृथ्वीको कोर पत्ता लगाएका थिए । यो हिस्सा कसरी घुम्छ, यसको गति र दिशालगायत अनेकौँ कुराहरू अझै पनि रहस्यमै अड्किएको छ । दशकौँदेखि यी विषय बहसको केन्द्रमा पनि छन् । तर हालैका वर्षमा पृथ्वीको सबैभन्दा भित्री तहको घुमाई अचानक परिवर्तन भएको बताइएको छ । यस्तो किन भइरहेको छ र यसको अर्थ के हो भन्नेमा वैज्ञानिकहरू विभाजित देखिन्छन् ।

समस्या के छ भने पृथ्वीको गर्भभित्रको यो हिस्सा हेर्न सकिँदैन । ठुला भूँइचालाहरूको तरङ्गबारे अध्ययन र जाँच गरेर भूकम्पविद्हरूले भित्री तहको चालबारे जानकारीहरू बटुलिरहेका छन् । उस्तै तीव्रताका भूकम्पहरूको तरङ्गबीचको भिन्नताका आधारमा वैज्ञानिकहरूले भित्री तहको अवस्थितिमा आएको परिवर्तन र यसको घुमाइको हिसाब गर्ने गरेका छन् । सन् १९७० र ८० को दशकमा भित्री सतहको घुमाई फरक भएको अनुमान निकालिएको थियो ।

भूकम्पविद्हरूले ९० को दशकमा भने यसको प्रमाण नै सार्वजनिक गरेको अष्ट्रेलियाको जेम्स कूक विश्वविद्यालयमा भौतिक विज्ञानका वरिष्ठ लेक्चरर डा. लरेन वास्जेक भन्छिन् । यस्तो कसरी अथ्र्याइयो भन्नेमा अनुसन्धाताहरू विभाजित देखिन्छन् । उपलब्ध सीमित डेटा र सदूरताका कारण भित्री सतहको विस्तृत निगरानी गर्न सकिन्न । ९० को दशकपछि भएका अध्ययनहरूले भित्री तहको घुमाइको गति र दिशाबारे विमति राखेका छन् । केहीले त सो तह घुम्दै घुम्दैन पनि भनेका छन् ।

सन् २०२३ मा एउटा प्रस्तावित मोडलमा पृथ्वीको सबैभन्दा भित्री तह कुनै बेला पृथ्वीभन्दा छिटो–छिटो घुम्ने गरेको तर अहिले आएर यसको गति सुस्त भएको भनेर भनिएको थियो । अर्को मोडलमा भने वैज्ञानिकहरूले भित्री हिस्सा पृथ्वीकै  गतिमा घुम्ने गरेकोमा घुमाई सुस्ताएर अहिले तरल तहको ठिक उल्टो दिशातिर घुम्न थालेको पनि भनिरहेका छन् ।  यो निष्कर्ष बलियो बनाउन थप डेटा चाहिने केही विज्ञहरू बताउँछन् ।

जुन १२ मा द नेचर जर्नलमा सार्वजनिक भएको अनुसन्धान प्रतिवेदनले भित्री हिस्साको घुमाई सुस्ताएको पुष्टि गर्नुको साथै यो दशकौँदेखि घुमाइ सुस्त र तीव्र हुने क्रमको हिस्सा भएको बताएको थियो । नयाँ तथ्यले घुमाइको गतिमा आएको परिवर्तन ७० वर्षको चक्र भएको पुस्टी गरेको थियो । आफूहरूले यसबारे २० वर्षदेखि तर्क दिँदै आएको युनिभर्सिटी अफ साउदर्न क्यालिफोनिर्याको डर्नसाइफ कलेज अफ लेटर्स, आर्ट्स एन्ड साइन्सेजमा अर्थ साइन्सेजका प्राध्यापक डिन डा. जोन भिडेलले भनेका छन् । तर यो तर्कमा सबैजना सहमत भने छैनन् । यसले पृथ्वीलाई कस्तो प्रभाव पार्छ भन्ने प्रश्न अझै पनि अनुत्तरित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप