आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
प्राकृतिक प्रकोप

बाढी/पहिरोले सडक अवरुद्ध, अकासियो तरकारीको मूल्य

आइतबार, २३ असार २०८१, २३ : २५
आइतबार, २३ असार २०८१

काठमाडौँ । बाढी–पहिरोले देशका विभिन्न सडक अवरुद्ध हुँदा सामान ढुवानी प्रणाली प्रभावित भएको छ । परिणाम स्वरूप काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अकासिएको छ ।

असार पहिलो साताको तुलनामा आजसम्ममा तरकारीको मूल्यमा उच्च वृद्धि भएको हो । यसमध्ये पनि गत साताको बुधबार–बिहीबारको तुलनामा तरकारीको मूल्य अचाक्ली वृद्धि भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यतिबेला सबैजसो तरकारीको मूल्य महँगिएको छ । नेपाल प्रहरीका अनुसार शनिबारको बाढी र पहिरोका कारण देशभर डेढ दर्जनभन्दा बढी सडकमार्ग अवरुद्ध बनेका छन् । प्रहरीले दिएको जानकारी अनुसार बागमती प्रदेशका सबैजसो जिल्लाका सडक अवरुद्ध बनेका छन् । उपत्यका छिर्ने सडकमार्गमा बाढी र पहिरोले बढी क्षति गरेको छ ।

प्रहरीका अनुसार रसुवा, चितवन, काभ्रे र मकवानपुरका सडकमार्गमा बाढीले क्षति पुर्याएको छ । यही कारणले उपत्यकामा आउने तरकारीको आपूर्ति न्यून हुँदा थोक मूल्य अचाक्ली महँगिएको हो । कालीमाटी बजारको वेबसाइटमा प्रकाशित मूल्यसूचीका अनुसार ठुलो गोलभेँडाको थोक मूल्य प्रतिकिलो ९५ रुपैयाँ छ । असार पहिलो साता गोलभेँडाको मूल्य प्रतिकिलो ५६ रुपैयाँ थियो ।

भारतीय ठुलो गोलभेँडाको खुद्रा मूल्य प्रतिकिलो ११५ रुपैयाँ, सानो लोकल गोलभेँडाको मूल्य प्रतिकिलो ५५ रुपैयाँ छ । असार पहिलो साता लोकल गोलभेँडाको मूल्य प्रतिकिलो १२ रुपैयाँ थियो । यो प्रतिकिलो ४३ रुपैयाँसम्मको वृद्धि हो । यसबाहेक रातो आलु, सेतो आलु, सुकेको प्याज, गाजर, बन्दा, काउली, रातो–सेतो मुला, लाम्चो भन्टा लगायत सबैजसो तरकारीको मूल्य आकाशिएको छ ।

आइतबार रातो आलुको मूल्य प्रतिकिलो ६२ रुपैयाँ, मुडे आलु ५३ रुपैयाँ, सुकेको प्याज ८७ रुपैयाँ, गाजर ८५ रुपैयाँ, बन्दा ४५ रुपैयाँ र काउली ९५ रुपैयाँ छ । यस्तै सेतो मुला ५५ रुपैयाँ र रातो मुला ७५ रुपैयाँ तथा लाम्चो भन्टा ५५ रुपैयाँ प्रतिकिलोमा थोक बजारमा बिक्री भइरहेको छ ।

यसअघि असार पहिलो सातासम्ममा रातो आलुको थोक मूल्य ५४ रुपैयाँ थियो । यस्तै मुडे आलु ५१, सुकेको प्याज ८३ रुपैयाँ, गाजर ६५, बन्दा २३, काउली ३५, सेतो मुला प्रतिकिलो ४६ रुपैयाँमा थोक बजारमा बिक्री भइरहेको थियो । असार लागे यता निरन्तर बढ्न थालेको तरकारीको मूल्य शुक्रबार र शनिबारको अविरल वर्षाका कारण आएको बाढी र पहिरोपछि ह्वात्तै बढेको हो ।

थोक बजारमै प्रतिकिलो १०० रुपैयाँ हाराहारीसम्म पुगेको तरकारीको मूल्य खुद्रा बजारसम्म पुग्दा कम्तीमा २० प्रतिशत बढ्छ । खुद्रा बजारमा उपभोक्ताको हातसम्म पुग्दा दुई–तीन तह हुँदै पुग्छ । यसबाट उपत्यकामा तरकारीको मूल्य छोइ नसक्नु गरी बढेको देखिन्छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार बोडीको थोक मूल्य ६५ रुपैयाँ, घिउ सिमी ११० रुपैयाँ, टाटे सिमी ११० रुपैयाँ, भटमास कोसा १२० रुपैयाँ, तिते करेला ९५ रुपैयाँ, लौका ७५ रुपैयाँ र परवर ४५ रुपैयाँ प्रतिकिलो छ । यस्तै चिचिण्डो ५५ रुपैयाँ र पाकेको फर्सीको थोक मूल्य ७५ रुपैयाँ तथा भिण्डी ७५ रुपैयाँ छ ।

असार पहिलो साता (असार ७) गते बोडीको मूल्य ६६ रुपैयाँ थियो भने घिउ सिमी प्रतिकिलो ५५ रुपैयाँ, भटमास कोसा ९५ रुपैयाँ, तिते करेला ३५ रुपैयाँ, लौका ४६, परवर ६५, चिचिण्डो ३५, घिरौला ३६, पाकेको फर्सीको थोक मूल्य ३८ रुपैयाँ थियो । यी सबै तरकारीको मूल्य बढेको छ ।

यसबाहेक सबै किसिमका सागको थोक मूल्य तथा हरियो प्याज, सबै प्रकारका च्याउ, कुरिलो, न्यूरो, ब्रोकाउली लगायत सबैजसो हरियो तरकारीको मूल्य बढेको कालीमाटी विकास समितिले जनाएको छ । समितिका निर्देशक विनय श्रेष्ठ वर्षायाममा प्रत्येक वर्ष तरकारीको मूल्य बढ्ने बताउँछन् । रातोपाटीसँगको कुराकानीमा श्रेष्ठले भने, ‘राजमार्गहरू अवरुद्ध बनेका छन् । किसानले वर्षाका कारण खेतबारीमा पुगेर तरकारी टिप्न र टिपेको तरकारी बजारसम्म पुर्याउन सकिरहेका छैनन् ।’

उनका अनुसार वर्षायाममा सिनजल तरकारीको मूल्यमा अचाक्ली वृद्धि भएको हो । आलु र प्याजमा भने सो बमोजिमको मूल्यवृद्धि छैन । ‘हरियो तरकारीहरू काउली, बोडी, सिमी, लौका, करेला लगायतका तरकारीको मूल्य बढेको छ,’ श्रेष्ठले भने, ‘कालीमाटीमा तरकारी नै कम आउन थालेको छ । यसकारण पनि मूल्य उकालो लागेको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप