आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्स

विश्वकप सकिएलगत्तै मैदानमा ओर्लिए विश्व क्रिकेटका ‘बुढा बाघ’

आइतबार, २३ असार २०८१, १४ : ३३
आइतबार, २३ असार २०८१

काठमाडौँ । भर्खरै अमेरिका र वेस्ट इन्डिजमा आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण सकिएको छ । विश्वकप विजेता भारत अहिले जिम्बाबे भ्रमणमा छ । जिम्बाबेसँगको अप्रत्यासित हारका कारण पनि भारतीय क्रिकेट चर्चाको विषय बनिरहेको छ ।

टी–२० विश्वकप भर्खरै सकिएकाले पनि पछिल्लो केही दिनयता क्रिकेटको अन्तर्राष्ट्रिय क्यालेन्डर सुस्ताएको अवस्थामा छ । यसका बावजुद इङ्ल्यान्डमा अहिले परक स्वादको एउटा क्रिकेट प्रतियोगिता सञ्चालन भइरहेको छ ।

कुनै समय विश्व क्रिकेटमा आफ्नो अदभूत ब्याटिङ र बलिङबाट तहल्का मच्चाउने पूर्वखेलाडीहरु अहिले क्रिकेट खेल्न फेरि मैदानमा ओर्लिएका छन् । ‘वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्स–२०२४’ नाम दिइएको उक्त प्रतियोगिता जुलाई २४ तारिखसम्म चल्नेछ ।

प्रतियोगितामा ६ वटा टोली सहभागी छन् । प्रतियोगितामा सहभागी टोली पाकिस्तान च्याम्पियन्स, अस्ट्रेलिया च्याम्पियन्स, भारत च्याम्पियन्स, इङ्ल्यान्ड च्याम्पियन्स, वेस्ट इन्डिज च्याम्पियन्स र दक्षिण अफ्रिका च्याम्पियन्स हुन् ।

हालै सम्पन्न टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग नमिठो हार भोगेको थियो । तर, वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्समा पाकिस्तानले भारतलाई ६८ रनले हराएको छ । पाकिस्तानका कप्तान युनिस खान, भारतका कप्तान हरभजन सिंह, अस्ट्रेलियाका कप्तान ब्रेट ली, दक्षिण अफ्रिकाका कप्तान ज्याक्स कालिस, वेस्ट इन्डिजका कप्तान क्रिस गेल र आयोजक इङ्ल्यान्डका कप्तान केभिन पिटर्सन हुन् । 

हालसम्म आफूले खेलेको तीनवटै खेलमा विजयी भएको पाकिस्तान च्याम्पियन्स ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । हालै सम्पन्न टी–२० विश्वकपमा पाकिस्तानको युवा पुस्ताले निराशाजन प्रदर्शन गरे पनि इङ्ल्यान्डमा भने पाकिस्तानका पूर्वखेलाडीले तहल्का मच्चाएका छन् ।

तीनमध्ये दुई खेल जितेको अस्ट्रेलिया चार अंकसहित दोस्रो र दुई खेलमा विजयी भएको भारत पनि चार अंकसहित तेस्रो स्थानमा छन् । तीनमध्ये एक खेलमा विजयी भएको इङ्ल्यान्ड च्याम्पियन दुई अंकसहित चौथो स्थानमा छ ।

दुई–दुई खेल खेलेका वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले भने एक खेल पनि जितेका छैनन् । हालै सम्पन्न टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग नमिठो पराजय भोगेको थियो । तर, इङ्ल्यान्डमा जारी वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्समा भने पाकिस्तानले भारतलाई ६८ रनको ठुलो अन्तरले हराएको छ ।

पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ४३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ७५ रनमात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि ओपनर कमरान अकमलले ४० बलमा ७७ रन, अर्का ओपनर सर्जिल खानले ३० बलमा ७२ रन र सोएब मक्सुदले २६ बलमा ५१ रन बनाएका थिए । पाकिस्तानी टोलीमा सोएब मलिक, साहिद अफ्रिदी, आमेर यामिन, युनिस खान (कप्तान), वाहब रियाज, सोहेल तनविर, मिसबाह उल हक, सोहेल खान, सइद अजमललगायतका खेलाडी सहभागी छन् ।

भारतका लागि सुरेश रैनाले ४० बलमा ५२ रन बनाएका थिए । अम्बाती रायडुले ३९ र रोविन उथप्पाले २२ रन बनाएका थिए । भारतीय टोलीमा युसुफ पठान, हरभजन सिंह (कप्तान), युवराज सिंह, गुरकृतसिंह मन, ईरफान पठान, पवन नेगी, अनुरित सिंह, धवल कुलकर्णीलगायतका खेलाडी छन् ।

यसैगरी अस्ट्रेलियन टोली ब्रेट लीको कप्तानीमा रहेको छ । अस्ट्रेलियन टोलीमा एरोन फिन्च, सान मार्स, बेन डंक, कालुम फर्गुसन, डन क्रिस्टियन, बेन कटिङ, टिम पाइन, नाथन कल्चर, पिटर सिड्ललगायतका खेलाडी छन् ।  

यसैगरी दक्षिण अफ्रिकी टोली ज्याक्स कालिसको कप्तानीमा छ । दक्षिण अफ्रिकी टोलीमा रिचर्ड लेभी, निल म्याकेन्जी, जिन पल डुम्नी, जस्टिन अनटङ, इमरान ताहिर, डेल स्टेनलगायतका चर्चित पूर्वखेलाडी रहेका छन् ।

यसैगरी वेस्ट इन्डिजको टोली क्रिस गेलको कप्तानीमा छ । क्यारेबियन टोलीमा ड्वेन स्मिथ, चाडविक वाल्टन, जोनाथन कार्टर, किर्क एडवार्डस, आस्ली नर्स, टिनो बेस्ट, सामुएल बद्री, फिडल एडवार्डस लगायतका खेलाडी सहभागी छन् ।

यसैगरी आयोजक इङ्ल्यान्डको कप्तान केभिन पिटर्सन हुन् । इङ्ल्यान्डको टोलीमा फिल मस्टर्ड, ईयान बेल, रवी बोपरा, ओवाइस साह, केभिन ओ’ब्राइन, अली ब्राउन, उस्मान अफजल, क्रिस सोफिल्डलगायतका खेलाडी रहेका छन् ।

समूहगत चरणको खेलपछि चार टोली यो प्रदर्शनी खेलको सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताका खेलहरु बर्मिङ्घम र नर्थएम्पटनस्थित काउन्टी क्रिकेट स्टेडियममा खेलाइँदैछ । प्रतियोगिताको यो पहिलो संस्करण हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप