शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

चित्रबहादुरको प्रश्न : कांग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टी-स्टेट प्रकरणबाट चोखिनका लागि हो ?

आइतबार, २३ असार २०८१, १४ : २१
आइतबार, २३ असार २०८१

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी र गिरिबन्धु टी-स्टेट प्रकरण ढाकछोप गर्नका लागि नेपाली कांग्रेस–नेकपा एमालेबिच सहकार्य भएको भए मान्य नहुने चेतावनी दिएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले त्यस्ता काण्डहरूबाट आफूलाई चोख्याउन कांग्रेस–एमालेले नयाँ सत्ता समीकरण बनाएको हो भने त्यो नेपाली जनतालाई मान्य नहुने बताएका हुन् । 

अध्यक्ष केसीले नयाँ पुराना सबै दलहरू भ्रष्ट छन् भन्ने कुरा नेपाली जनतालाई थाहा भएकाले विगतमा भएका गल्ती सच्याएर अघि बढ्न अब बन्ने सरकारलाई सुझाव दिए । उनले एमालेले सरकारको नेतृत्व गर्ने भन्ने कुराप्रति पनि असन्तुष्टि व्यक्त गरे । संसद्को ठुलो दल काँग्रेसले सरकारको नेतृत्व लिनुपर्ने उनको भनाई थियो ।

अध्यक्ष केसीले भने, ‘मैले अहिले यहाँ देखेँ–दोहोरी । कोही यहाँ नयाँ भर्खरै आएका जस्ता, कोही चाहिँ पुराना । कतिपय चाहिँ सत्तामा बस्दा नेपालमा असाध्यै सुशासन दिएको, भ्रष्टाचार उन्मुलन गरेको, देशको सार्वभौमिकता, अखण्डताको रक्षा गरेको । त्यस्तो गरेको, नगरेको त नेपाली जनतालाई थाहा छ नि । अहिले जुन यहाँ पनि कुरा आयो । यदि भ्रष्टाचारलाई छामछुम पार्नका लागि, भुटानी शरणार्थीको काण्डमा र गिरिबन्धु टी स्टेटको काण्डमा दुई वटा ठुला पार्टीको सम्झौता हो भने यो नेपाली जनतालाई मान्य हुन्न । त्यस कारण यहाँ कसैले पनि रोष्टमबाट आफ्नो सफाइ दिए पनि नेपाली जनताले भोगी राखेका छन्, देखिराखेका छन् । त्यस कारणले को चोखो छ ? भ्रष्टाचारबाट कुन पार्टी मुक्त छ ? त्यस कारण यसभन्दा पहिलेको जुन गठबन्धन थियो, त्यो गठबन्धन बन्नुको पछाडि के थियो ? हामी २०७४ मा वामपन्थीहरू एकै ठाउँमा भएका थियौँ नि । त्यो वामपन्थीहरूको सरकार भत्काउनुको औचित्य के थियो, त्यो भत्काएकोमा सर्वोच्च अदालतले बेठिक भयो भनेपछि फेरि अर्को चोटि पनि भत्काएको होइन ? अनि त्यसको सफाइ दिने बेलामा चाहिँ एमाले बचाउनका लागि भन्ने कुरा आयो होइन ?’ 

उनले थपे, ‘त्यस कारणले सबैको हविगत देखिएको छ । संसद् भित्रका राजनीतिक दलहरू साना, ठुला, नयाँ पुराना सबैलाई नेपाली जनताले देखेका छन् । जानेका छन् । बुझेका छन् । आफ्नो भ्रष्टाचारलाई लुकाउन, जोगाउनका लागि यो खेल भएको हो भने यो राम्रो कुरा होइन । मैले एक वर्ष पहिले नै भनेको थिए–तपाईँहरू संसदीय व्यवस्था मान्नु हुन्छ, सबैभन्दा ठुलो दलले सरकारको नेतृत्व गर्नुपर्दैनथ्यो ? किन यस बेला आएर बल्ल निन्द्रा खुल्यो । त्यो पनि सबभन्दा ठुलाले होइन, माइलो पार्टीले गर्दैछ । यसमा पनि दालमा काला हे । भोलीका दिनमा नेपाली जनताले बुझै जानेछन् । हाम्रो तपाईँहरूलाई सुझाव के हो भने–राजनीतिक पार्टीहरूप्रति नेपाली जनताको असाध्यै घृणा छ । नेपाली जनताले हामीलाई त्यसै घृणा गरेका हुन् ? किन घृणा गरिराखेका छन् भने राजनीति गर्ने भनेको कमाउने । पैसा जम्मा गर्ने । र, आउँदो चुनावलाई करोडौँ रकम जम्मा गर्ने । जोसुकै होस चाहे नयाँ आएकाका कुरा गरौँ, चाहे पुरानाका कुरा गरौँ । सरकारमा बस्नेहरूबाटै सहकारीमा अर्बौँको हिनामिना भएको होइन र ? यो नेपाली जनताले बुझेका छैनन् । यो लोकतन्त्र गणतन्त्र हामीबाटै खतरा छ । अहिलेसम्म जो भयो भयो । विगतका गल्ती कमजोरीलाई स्वीकार गरेर अघि बढ्नुपर्छ ।’

अध्यक्ष केसीले नेपाली जनताले राजनीतिक पार्टीहरूप्रति घृणा गरिरहेको उल्लेख गर्दै त्यसलाई चिर्ने गरी अब बन्ने सरकारले काम गर्नुपर्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप