आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

कृषि कर्जाको ब्याज अनुदान दुरुपयोग भएको छैन : गभर्नर अधिकारी

आइतबार, २३ असार २०८१, १३ : ५७
आइतबार, २३ असार २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवा स्वरोजगार तथा कृषि क्षेत्रमा प्रदान गरिएको सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान दुरुपयोग नभएको बताएका छन् । आइतबार राजधानीमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सहुलियतपूर्ण कर्जाको ब्याजदर दुरुपयोग भएको हल्ला गरिए पनि त्यसो नभएको उनले दाबी गरे । 

‘देशमा केही छैन, केही हुँदैन र केही सम्भव छैन भन्ने भाष्यको विकास गराउन खोजिएको छ । केही साना कुरा व्यवस्थापनमा समस्या आउँदा र लगानीसँगै प्रतिफलको निश्चितता नहुँदा युवा शक्ति विदेश पलायन भइरहेका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत थप युवा सशक्तीकरण र रोजगारीका कार्यक्रम ल्याउँछ’ गभर्नर अधिकारीले भने । 

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले युवा, महिला, कृषि, उद्यम र उद्यमशीलतालाई जोड दिने बताए । सोही अवसरमा गभर्नर अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न सके मात्र देशको अर्थतन्त्र सुधार भई बढ्दो विदेश पलायन रोकिने बताए । 

सरकारको योजनाअनुसार अर्थ मन्त्रालयले युवाहरूलाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धी कार्यविधि तयार पारेको र कार्यविधिअनुसार नै अनुदान बाँडिएको पनि गभर्नर अधिकारीले दाबी गरे । 

हालसम्म एक लाख २६ हजार ऋणीले कृषि कर्जामा अनुदान पाएको र त्यस्तो अनुदान पाउने अधिकांश महिला तथा साना किसान रहेको गभर्नर अधिकारीको भनाइ छ ।

उद्यमशीलता विकास एवम् रोजगारी सिर्जना र वित्तीय पहुँच तथा साक्षरता विस्तारका लागि साना किसान विकास लघुवित्त र साना किसान सहकारीले महत्त्वपूर्ण भूमिका खेलेको पनि गभर्नर अधिकारीले बताए । 

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वास्तविक लाभग्राहीले सरकारी सेवा सुविधा र अनुदान पाउन नसकेको बताए । कृषि कर्जामा दिइएको अनुदान वास्तविक लाभग्राहीले भन्दा पनि टाठा बाठाहरूले पहुँचको आधारमा दुरुपयोग गरेको उनले धारणा राखे । विभिन्न सहुलियत कर्जा लक्षित वर्गमा पुग्न नसकेको उनको भनाइ छ । साथै, नीतिगत स्थायित्वको अभावमा निजी क्षेत्रको मनोबल खस्किँदै गएको र उनीहरुले लगानी गर्न नचाहेको क्षेत्रीले बताए ।

साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालाले सरल कर्जा प्रवाहमार्फत् युवा उद्यमशीलता विकास, समावेशी वित्तीय पहुँच विस्तारमा संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको बताए । साना किसान विकास लघुवित्तले साना किसान कृषि सहकारीमार्फत् कर्जा प्रवाह गर्ने भएकाले उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत आन्तरिक उत्पादन बढाउन ठुलो योगदान पुगेको उनले दाबी गरे ।

साना किसान लघुवित्तबाट कर्जा पाएकामध्ये ७९ प्रतिशत भन्दा बढी महिला रहेको र देशभरका ५ सय ५० स्थानीय तहमा साना किसान लघुवित्तको सेवा पुगिसकेको उनले जानकारी दिए । हाल साना किसानले ११ लाखभन्दा बढी घरपरिवारका ४५ लाख जनसङ्ख्याका सेवा पुर्‍याएको उनको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप