शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

जब बुकायो साकाको खुसीयाली मनाउने शैलीले २८ वर्षअघिको घटना सम्झायो

आइतबार, २३ असार २०८१, १३ : ३४
आइतबार, २३ असार २०८१

काठमाडौँ । ५६ वर्षदेखि युरोकपमा सहभागिता जनाउँदै आए पनि इङ्ल्यान्डले हालसम्म उपाधिको स्वाद चाख्न पाएको छैन । सन् १९६८ मा सम्पन्न तेस्रो संस्करणदेखि इङ्ल्यान्डले युरोकपमा सहभागिता जनाउँदै आएको छ ।

विश्व फुटबलको दोस्रो ठूलो प्रतियोगितामा युरोकपमा इङ्ल्यान्ड फाइनलभन्दा अगाडि बढ्न सकेको छैन । इङ्ल्यान्ड अघिल्लो संस्करणको फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित भएको थियो ।

यसपटक पनि लयमा देखिएको इङ्ल्यान्ड प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ । क्वार्टरफाइनल खेलमा इङ्ल्यान्डले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हरायो । समूहगत चरणमा पनि अपराजित रहँदै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

यसपटक इङ्ल्यान्डको प्रदर्शनबाट युवा समर्थक बढी नै उत्साही र आशाबादी छन् । इङ्ल्यान्डका लागि यो संस्करणको कथा सन् १९९६ को संस्करणसँग धेरै हदसम्म मिल्दो–जुल्दो छ । सन् १९९६ को क्वार्टरफाइनलमा पनि इङ्ल्यान्ड पेनाल्टी सुटआउटमै विजयी हुँदै सेमिफाइनलमा पुगेको थियो ।  

त्यतिबेला इङ्ल्यान्डले क्वार्टरफाइनलमा बलियो स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो । ठुला प्रतियोगिताको पेनाल्टी सुटआउटमा इङ्ल्यान्डले हालसम्म केवल दुईपटक आफूले गरेको सबै प्रहारलाई गोलमा परिणत गर्न सकेको छ ।

दोस्रो पटक, शनिबार राति स्विट्जरल्यान्ड विरुद्धको क्वार्टरफाइनलमा र त्यसअघि पहिलो पटक, सन् १९९६ को युरोकपको क्वार्टरफाइनलमा स्पेनविरुद्ध । त्यतिबेला इङ्ल्यान्डको टोलीमा रहेका खेलाडी स्टुअर्ट पियर्स र वर्तमान टोलीमा रहेका खेलाडी बुकायो साकाको कथा पनि मिल्दो–जुल्दो छ ।

Bukayo Saka 1

सन् १९९६ को क्वार्टरफाइनलमा तेस्रो नम्बरमा पेनाल्टी प्रहार गर्न आएर गोल गरेका थिए  भने शनिबार राति साकाले पनि त्यही इतिहास दोहो-याए । २८ वर्षअघि गोल गर्दा स्टुअर्टले जसरी खुशी मनाएका थिए शनिबार राति साकाले पनि त्यसरी नै आफ्नो खुशी ब्यक्त गरे ।

त्यतिबेला स्टुअर्टको खुसीयाली मनाउने शैलीलाई युवा समर्थकले जसरी निकै मन पराएका थिए त्यसरी नै अहिले साकाको खुसीयाली मनाउने शैलीलाई पनि युवा समर्थकले निकै रुचाएका छन् । यी दुबै खेलाडीको जीवनसँग एउटा नमिठो संयोग पनि जोडिएको छ ।  

यी दुबै खेलाडीले आफ्नो सक्रिय खेलजीवनमा नमिठो क्षणको सामना गरेका थिए । खासमा स्टुअर्ट पियर्सले सन् १९९० को विश्वकपको सेमिफाइनलमा पेनाल्टी प्रहारको अवसरलाई खेर फालेका थिए । सोही कारणले इङ्ल्यान्डको टोली तात्कालीन पश्चिम जर्मनीसँग पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित भएको थियो ।

स्टुअर्टकै कारण त्यतिबेला इङ्ल्यान्डका लाखौँ समर्थक निराश बनेका थिए । त्यसैले त्यसको ६ वर्षपछि सन् १९९६ को युरोकपको क्वार्टरफाइनलमा स्पेनविरुद्ध पेनाल्टी सुटआउटमा गोल गरेपछि स्टुअर्ट पियर्स निकै खुसी देखिएका थिए ।

सन् २०२० को युरोकपको फाइनलमा साकाले स्टुअर्ट पियर्सकै जस्तो गल्ती दोहो¥याएका थिए । साकाले इटालीविरुद्धको फाइनल खेलमा पेनाल्टी प्रहारको अवसरलाई खेर फालेका थिए । उनको त्यही गल्तीका कारण इङ्ल्यान्डको टोली पहिलो पटक युरोकप जित्नबाट चुकेको थियो । फाइनल खेलमा इटाली पेनाल्टी सुटआउटमा ३–२ गोलले विजयी भएको थियो ।

त्यसैले शनिबार राति स्विट्जरल्यान्डविरुद्ध ट्रेन्ट एलेक्जेन्डर अर्नोल्डले निर्णायक गोल गर्नासाथ साका टोलीका साथीसँग खुसीयाली साटासाट गर्नुको सट्टा एक्लै खुसीयाली मनाउन तल्लिन थिए । अर्नोल्डको निर्णायक गोललगत्तै साकाले घुँडा टेकेर हात फैलाउँदै सबैप्रति आभार ब्यक्त गरे ।

Bukayo Saka

त्यसपछि मात्र उनले टोलीका साथीहरुसँग खुसी साटासाट गरेका थिए । साकाको खुसीयाली मनाउने यो शैलीले इङ्ल्यान्डका धेरै समर्थकलाई २८ वर्षअघिको क्षणलाई सम्झाएको थियो । सन् १९९६ को युरोकपको क्वार्टरफाइनलमा स्पेनविरुद्ध खेल्दा स्टुअर्ट पियर्सको मनोदशा पनि ठिक यस्तै थियो ।

‘यो जितले मेरो खेलजीवनमा निकै ठुलो अर्थ राख्छ । सन् २०२० को युरोकपदेखि आफ्नो काँधमा म जुन बोझ बोकेर आइरहेको थिएँ त्यसबाट म धेरै हदसम्म मुक्त भएको छु,’ साका भन्छन्, ‘यो जितले मेरो आत्मविश्वास पनि निकै बढाएको छ ।’

सन् २०२० को फाइनलमा इटालीवरुद्ध पेनाल्टी प्रहारको अवसर खेर फालेपछि साकाले आफ्नै समर्थकबाट जातीय दूब्र्यवहारको सामना पनि गुर्न परेको थियो । त्यसयता पटक–पटक खेल मैदानमा उनीमाथि रंगभेदी ब्यवहार पनि भएको थियो । साकामात्र होइन, मार्कुस रासफोर्ड जाडन सान्चोजस्ता प्रभावशाली खेलाडीले पनि यसको भागिदार बन्नु परेको थियो ।

सन् २०२० को युरोकपको फाइनलमा पेनाल्टी प्रहारको अवसर खेर फाल्दा साका केवल १९ वर्षका थिए । त्यतिबेला उनी पाँचौँ नम्बरमा पेनाल्टी प्रहार गर्न आएका थिए । तर, उनको प्रहारलाई इटालीका गोलरक्षक जियानलुइगी डोनारुमाले विफल पारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप