शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

नयाँ सत्ता समीकरणको कारक आन्तरिक कि बाह्य ?

बाबुराम भट्टराईको विचारप्रति असहमति
आइतबार, २३ असार २०८१, १३ : २८
आइतबार, २३ असार २०८१

‘नयाँ सत्ता समीकरण’ भन्ने नाम दिइएको नयाँ कसरत उही २०२६ सालमा भूपिकृत ‘घुम्ने मेचमाथि अन्धा मान्छे’कै २०२१ साले नमुना हो भनेमा अत्युक्ति नहोला । भूपिको मनमा यस्तो मेचलाई घुमाउने कुनै मुग्लाने वा समुद्रपारि शक्तिकेन्द्र थियो वा थिएन, हामी जान्दैनौँ । हुन सक्छ, त्यतिबेला ‘आन्तरिक पक्ष प्रधान’ थियो होला ! अब संसारभरिका नदीनाला, सागर–समुद्र, महासागरबाट कति पानी बगे कति— अनगिन्ती, अथाह !

अहिलेको परिदृश्यमा त्यस्तै अन्धा मान्छेहरूसँग मिल्ने–जुल्ने गरी जेठ १९ गते अनलाइन खबरमा छापिएको डा. बाबुराम भट्टराईको ‘प्रचण्ड पतनको पराकाष्ठा’ शीर्षकको आलेखको सुरुकै अनुच्छेद ‘हाम्रोजस्तो देशमा भूराजनीति गम्भीर भए पनि आन्तरिक पक्ष नै प्रधान पक्ष हुन्छ’ले मन खट्कियो र त्यो यथार्थपरक छैन । त्यसकारण भ्रामक एवंं असत्य छ नभनीरहन सकिँदैन भन्ने लाग्यो । फलतः यो प्रतिक्रिया लेखेको छु । 

यस्तो मतवादी सोखले अनिष्ट भूराजनीतिक चलखेललाई देख्या नदेख्यै गर्न लगाउँछ, अर्थात् तिनका दुष्ट चालामालाविरुद्ध सैद्धान्तिक रूपले निरस्त्र गर्दछ भन्ने लाग्यो । होइन, यसले हामीलाई सैद्धान्तिक स्वतन्त्रताको भान दिन्छ भने त्यो गोठमा बाँधिएका गाईवस्तुको दाम्लो वा डोरीको लम्बाइ जतिमै सीमित भएको स्वतन्त्रता हो । हो, कहिलेकाहीँ बाहिर चर्न पठाइँदा जन्तुहरू ‘स्वतन्त्र भइयो’ भन्ने खुसीले उफ्रिएलान्, आपसमा झगडा गर्लान् पनि जसरी राजनीतिक पात्रहरू सत्ताका लागि भागबन्डाका लागि गर्ने गर्छन् । तसर्थ निर्दाेष लाग्ने भट्टराई वाक्यांश भिन्न धारवालाहरूलाई सैद्धान्तिक तवरले निरस्त्र गर्ने गोली भरिएको तम्तयार बन्दुक हो ।

साँच्चै भन्ने हो भने, आजको समयमा आन्तरिक पक्षलाई प्रधान बनाई राजनीति गर्ने र राज्य चलाउने सामथ्र्र्य भएका देश दुईवटा (रुस र चीन) मात्र छन् । विश्वको स्वेच्छाचारी अधिपति बन्ने दुस्साहसी अमेरिकी राज पनि ‘आन्तरिक पक्षलाई प्रधान’ बनाएर शासन चलाउन असमर्थ छ । त्यसमाथि आइपाक अर्थात् ‘अमेरिका–इजरायल पब्लिक अफेयर कमिटी’ नामक संस्थामार्फत् यहुदी बडाराष्ट्र अहङ्कारवादका प्रवर्तक तत्त्वहरूको जिइनवादीहरूको खटनपटन छ, जसलाई अनधिकृत तथा उत्तरदायित्वबिनाको विदेशी निकाय भनेर राष्ट्रपति केन्नेडीले दर्ता गराउन आदेश दिएका थिए, परन्तु उनकै हत्या ‘रहस्यमयी’ रूपमा भयो र आजसम्म उक्त आदेश लत्याएको लत्यायै गरिएको छ । यति मात्र नभई, उनको हत्याबारेका अन्तगिन्ती खोजमूलक दस्ताबेज सार्वजनिक गरियोस् भनी उठेको जनमतलाई लत्याई उनकै डेमोक्रेटिक पार्टीका वर्तमान राष्ट्रपति स्वयं बाइडेनले अरु १८–२० वर्ष गोप्य राख्ने आदेश दिए— हाम्रा मदन भण्डारीको हत्याको रहस्य सार्वजनिक गर्न उनकै दलका अनेक पटके सरकार ‘असमर्थ’ भएजस्तै ।

केन्नेडी हत्यापछि अमेरिकी प्रशासन पनि ‘आन्तरिक पक्ष प्रधान’वाला राजनीति चलाउन नसक्ने भएको छ भनेमा फरक पर्दैन भने हाम्रा हुटिट्याउँ चरोले आकाश थाम्नेजस्ता पात्रका जात्राको के अर्थ ?

आखिरी राणा प्रधानमन्त्री मोहनशमशेरलाई ‘स्वतन्त्र भारत’को सरकारले आफ्नो राजदूतसित बसेर काठमाडौँमै अपमानपूर्वक सहीछाप गराइएको ‘१९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि’ कालदेखि हाम्रोजस्तो देशको राजनीतिमा बाह्य भूराजनीतिक रणनीति नै प्रधान र आन्तिरक पक्ष गौण तत्त्व रहिआएको निर्विवाद छ । यसमा कुनै कालखण्ड, विशेषतः टङ्कप्रसाद आचार्यको प्रधानमन्त्रित्व अवधि, प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको शासनकालको इजरायललाई मान्यताबाहेक अरू नीतिगत कार्य, कदाचित राजा महेन्द्रको शासनकालको कुनै खास घटनाक्रम, २०४६÷४७ को नेपाली कांग्रेस–वामशक्ति संंयुक्त जनआन्दोलन, अनुपम तालमेलको ऐतिहासिक संविधान निर्माण एवं आम निर्वाचन स्वतन्त्र राजनीतिका आन्तरिक पक्षको प्रधानताका निःसन्देह, अपवादजन्य घटनाक्रम हुन् । यी अपवादका घटनाक्रम तथा मौलिक उपलब्धि नेपालको राजनीतिको संवैधानिक संस्थागत नियम बन्न नसकून् भनेर नै बाह्य भूराजनीतलाई ‘हाबी’ तुल्याई छाडियो । प्रसङ्गवश, आचार्य सरकारको हठात् विघटनचाँहि ‘आन्तरिक पक्षीय’ द्वेषपूर्ण महेन्द्रीय घटना मात्र थिएन ।

आजको समयमा आन्तरिक पक्षलाई प्रधान बनाई राजनीति गर्ने र राज्य चलाउने सामथ्र्र्य भएका देश दुईवटा (रुस र चीन) मात्र छन् । विश्वको स्वेच्छाचारी अधिपति बन्ने दुस्साहसी अमेरिकी राज पनि ‘आन्तरिक पक्षलाई प्रधान’ बनाएर शासन चलाउन असमर्थ छ ।

२००८ सालमा नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध, नेपाल प्रजा परिषदसित नेकपाको विश्व राजनीतिक इतिहासमै मौलिक संयुक्त मोर्चा, त्यसकै महासचिव एवं नेकपा पोलिटब्युरो सदस्य शैलेन्द्रकुमार उपाध्यायको उक्साइमा तत्कालीन पार्टी महासचिव मनमोहन अधिकारीको उत्तेजनात्मक भूमिकाले गर्दा अस्वाभाविक रूपले विघटन हुनु कदापि ‘आन्तरिक प्रधान पक्ष’ घटना थिएनन् । प्रजातन्त्र पुनस्र्र्थापनापछिका गर्व गर्न सकिने उपलब्धिलाई एक–एक गरी ध्वस्त गर्न थालियो भने राजनीतिक अपराधीकरणले खुला छुट पायो— मदन भण्डारी–जीवराज हत्याकाण्ड र कलबलगुडी गणेशमान दुर्घटनाको कारण आजसम्म नखुलाईकन दबाइनु, पजेरो काण्ड, यौन पर्यटकीय राजनीति, आदि–आदि । संस्थागत संवैधानिक संसदीय राजनीतिक व्यवस्थाविरुद्ध लक्षित माओवादी आतङ्ककाल, राजा वीरेन्द्र परिवार समूल नाश, लोकतन्त्र–गणतन्त्रको आयातीत नारामा सार्वभौम नेपालको अखण्डीय सांस्कृतिक–जातीय विलक्षण एकता ध्वस्त गर्न, गर्ननसके अन्तर्घात गर्न अमेरिकी राजनीतिकशास्त्री एवं परामर्शदाता सेमुएल हनटिङ्टनद्वारा रचाइएको ‘द क्ल्यास अफ सिभिलाइजेसन्स’ रणनीतिको एक–एक एजेन्डा लागू गर्न गराउने इसाइ पक्षीय, सनातन धर्म संस्कृतिविरोधी ‘धर्म निरपेक्ष’ संविधान नै बाह्य परिचालित भूराजनीतिक रणनीतिका ज्वलन्त दृष्टान्त हुन्, जसमा ‘आन्तरिक राजनीतिक पक्षको प्रधानता’ आत्मसमर्पणरूपी लम्पसारवादमा गिरेको थियो ।

ओली ‘दुईतिहाइ बहुमतीय’ दम्भ–अहङ्कारलाई चरमचुलीमा पु¥याई त्यसलाई ढाल्ने पात्र ‘आन्तरिक पक्ष’का भए पनि त्यसका रचेता, निर्देशक, निर्माता पक्ष बिहिरिया भएका छर्लङ्ग नै छनन् र ? 

नेपाली कठपुतलीसरहका राजनीतिक पात्रहरूका आवधिक नाच नचाउने ‘आन्तरिक’ वातावरण र परिस्थिति रचाइए पनि यी सबै अनिष्ट भूराजनीतिक स्वार्थ रक्षाका लागि गरिएका खेलमा, आलङ्कारिक भाषामा भन्नुपर्दा कालजयी कार्ल माक्र्सका ‘एइटिन्थ ब्रुमेर अफ लुई बोनापार्ट’का पात्रहरू जति पनि स्वतन्त्र ‘आन्तरिक पक्ष प्रधान’वाला पाइन्नन् । 

अमेरिका र बेलायतका राज्यीय युद्ध अपराधीहरूको पोल खोलेर अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अस्ट्रेलियाका पत्रकार जुलियन असान्जले विश्वकै चेत जगाइदिए, स्वेच्छाचारी पश्चिमी शासनतन्त्रहरूलाई थर्कमान तुल्याइदिए । यस्तो अभियानका प्रवर्तक ती पत्रकारलाई अमेरिकाको खटनमा बेलायती झ्यालखाने खोरमा पाँच वर्षभन्दा बढी कोच्दा उनको पक्षमा यहाँ को बोल्यो ? जबकि बन्दी जीवनमा अमेरिकामा उनको प्रत्यावर्तन भएमा विश्वका हाम्रो देश नेपाल समेत कुनै ठाउँको पत्रकारको अभिव्यक्ति स्वतन्त्रता हनन मात्र होइन, अमेरिकामा थुनिनबाट बच्न सक्दैन भन्ने कुरा स्पष्ट थियो । यो बाह्य भूराजनीतिक दबाबबाट ‘आन्तरिक पक्ष प्रधान’ हुन नदिने परिबन्ध थिएन त ?

– उक्रेन सङ्कटको मूल कारण मनुष्यहन्ता नाजीवादी तत्त्वहरूलाई उचालेर, उठाएर, भड्काएर बल्कान तथा अरब सभ्यतालाई ध्वस्त गरेझैँ स्लेभ सभ्यता एवं रुसी जाति संहार गर्ने खुला उद्देश्यको प्रोक्सी युद्ध नै थियो र हो । उक्रेनी युद्धको त्यस्तो स्वरूपलाई नबुझेर अमेरिकी नेतृत्वको दबाबमा अनेक आडम्बरी नाम दिएर समर्थन गर्नु र गरिरहनुमा कहाँ ‘आन्तरिक पक्ष प्रधान’ हुन गयो ?

– प्यालेस्टाइनी जनताको स्वाधीनता तथा स्वतन्त्रता आकाङ्क्षामाथि इजरायली वर्णभेदवादी राजले गाजामा चलाएको जातिसखापवादी ‘जेनोसाइडल होलोकास्ट’ अपराधले यहाँका ‘लोकतन्त्रवादी’, ‘गणतन्त्रवादी’, ‘कम्युनिस्ट’, ‘सोसलिष्ट’, ‘मानवाधिकारवादी’, ‘स्वतन्त्र अभिव्यक्तिका अभियन्ताहरू’, ‘राष्ट्रवादीहरू’को मनलाई कहिल्यै नपोल्नु भनेको भूराजनीतिक दबाब ‘हाबी’ भएर ‘आन्तरिक पक्ष प्रधान’ हुनबाट गिरेको होइन ?

– नेपालकै सार्वभौमिक हित एवं सत्तामाथि हनन गर्ने ‘एमसीसी’ जञ्जीर स्वीकार नगर्नु र अमेरिकी फौजी अखडा राख्न नदिनु परम राष्ट्रिय दायित्वमा पर्ने अभीष्ट होइनन् र ? त्यो ‘आन्तरिक पक्ष प्रधान’ बनाउने कर्तव्य–कर्मबाट अपवादबिना सबै राजनीतिक किन चुके र चुकिरहेकै छन् ?

– हाम्रो मुलुकको राष्ट्रिय सार्वभौमसत्ता अनेकपटक दक्षिणी घातमा पर्दा नेपालप्रति अडिग मैत्रीभाव राख्ने हाम्रो उत्तरी छिमेकी देश, विश्वको दोस्रो महाशक्ति सम्पन्न राष्ट्र चीनसित अपवादबिनाका सरकारका व्यवहारले ‘आन्तरिक पक्ष प्रधान’ बनाउला कि घात गर्ला, के कतैबाट कुनै उत्तर छ ?

– नेपाललाई अनगिन्ती गुन लगाएको देशको नाताले मात्र होइन, आज विश्वशान्ति र सुरक्षामा खडा शक्तिशाली राष्ट्र रहेको रुसी संघले नेपालको सरकारलाई पठाएको आधिकारिक दस्ताबेजप्रति अवहेलना पनि ‘आन्तरिक पक्ष प्रधान’ प्रबल गर्ने वा गराउने काममा आघात होइन ? भूराजनीतिक तुच्छ दबाबसामु लम्पसारवाद हाइन ?

– भारतीय सत्ताले नेपालबाट खोसेर कब्जा गरेका भूभाग नेपाललाई ससम्मान नफर्काउन्जेल, नेपालमा हाम्रो सार्वभौमसत्ताको घोर उल्लङ्घन गर्दै चीनविरुद्ध ताकिएका अमेरिकी युद्ध अखाडाहरू निःसर्त नहटुन्जेल नेपालको राजनीतिमा ‘आन्तरिक पक्ष प्रधान’ भनेको त ‘मनको लड्डु घिउसित खानु’ जस्तो हो र भूराजनीतिक चलखेलको अनिष्टता नै ‘हाबी’ भइरहने यथार्थता हो । यो स्वीकारोक्तिबिना सबै विश्लेषण, विवेचना, वाणी, भविष्यवाणी, समीक्षा खोक्रा अभ्यास मात्र ठहर्छन् ।

– अन्त्यमा, तसर्थ बाबुराम भट्टराईको आफ्नै भूमिका र आफैँले भोगेका भूराजनीतिक दबाबबारे आत्मालोचनाबिनाको यस ‘प्रचण्ड पतनको पराकाष्ठा’ विचार राजनीतिक–सैद्धान्तिक प्रस्थापना नभई फगत एक व्यक्तिगत रूपक हुन गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अरविन्द रिमाल
अरविन्द रिमाल
लेखकबाट थप