पूर्व उपकुलपति खनियाका दुई पुस्तक विमोचित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा तीर्थराज खनियाबाट लिखित दुई पुस्तक सार्वजनिक गरिएको छ ।
सिफ्टिङ प्याराड्याम इन हाइयर एडुकेशन र नेभिगेटिङ हाइयर एडुकेशन इन नेपाल पुस्तकको आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा काठमाडौ विश्वविद्यालय संस्थापक उपकुलपति सुरेशराज शर्माले विमोचन गरे ।
नेभिगेटिझ हाइयर एडुकेशन इन नेपाल पुस्तकमा नेपालको उच्च शिक्षा र विश्वविद्यालयका शिक्षकमा राजनीतिकरणको चिरफार गरिएको छ ।
पुस्तकमा सरकारले व्यावसायिक पृष्ठपोषण भन्दा टाढा रहेर विश्वविद्यालय सम्बन्धी नीति तय गर्दा उच्च शिक्षामा राजनीतिकरण भएको र उच्च शिक्षा अहिलेको जटिल मोडमा पुग्नुको मुख्य कारण भएको उल्लेख छ ।
राजनीतिक स्वार्थ उच्च शिक्षामा प्रवेश गराउने प्रक्रियाका रूपमा अगाडि बढाइएको उल्लेख गर्दै विद्यार्थी र शिक्षकको स्रंगठन राजनीतिक बहसमा संलग्न हुँदा राजनीतिकरणले महत्त्व पाएको पुस्तकमा जनाइएको छ ।
विद्यार्थी सङ्गठनले राजनीतिक सिद्धान्त र शिक्षकका सङ्गठनले दलीय राजनीतिलाई समर्थन गर्नुले राजनीतिकरणलाई मद्दत पुगेको लेखकको भनाई छ । यसका साथै नियुक्तिमा राजनीतिप्रति प्रतिबद्ध भई सरकार र राजनीतिक पार्टीमा निर्भर हुँदा दलको नियन्त्रण र प्रभाव बढेको, उच्च तहको नियुक्तिमा दलीय राजनीतिका लचिलो व्यक्ति छानिने गरेको र यसरी नियुक्त शिक्षकले राजनीतिक दर्शनतिर ढल्केका विद्यार्थीको पक्ष लिइदिँदा राजनीतिकरण मौलाएको पुस्तकमा उल्लेख छ ।
उच्च शिक्षामा गुणस्तर र मापदण्डलाई पन्छाएर राजनीतिक स्वार्थ हाबी भएको पुस्तकमा लेखिएको छ । त्रिभुवन विश्वविद्यालयमा अति राजनीतिकरण भएको उल्लेख गर्दै पुस्तकमा त्रीवीवीलाई विभिन्न राजनीतिक दलले दलीय दोहनको उद्देश्यले कब्जामा लिएको पुस्तकमा उल्लेख छ ।
नेताहरूले पटक पटक विश्वविद्यालय राजनीतिमुक्त हुनुपर्छ भन्दै आए पनि व्यवहारमा दलीय स्वार्थपूर्तिका लागि दोहन नरोकिएको पुस्तकमा जनाइएको छ । खनियाले विश्वविद्यालय शिक्षकमा अझ राजनीतिकरण बढिरहेको पनि जनाएका छन् । पुस्तकमा विश्वविद्यालयका विद्यार्थीमाझ भइरहेको राजनीतिबारे पनि चिरफार गरिएको छ ।