शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
प्राकृतिक प्रकोप

बाढीका कारण देशभर बिजुली उत्पादन प्रभावित, कसरी व्यवस्थापन हुँदैछ वितरण ?

भारततर्फ ६४० मेगावाट निर्यात, राष्ट्रिय कूल माग १५ सय मेगावाटभन्दा बढी
आइतबार, २३ असार २०८१, १४ : ५०
आइतबार, २३ असार २०८१

काठमाडौँ । शुक्रबारदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशभर बिजुलीको उत्पादन प्रभावित बनेको छ । शनिवार मात्रै देशभर ६४० मेगावाट क्षमताका जलविद्युत आयोजना प्रभावित बनेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

यस्तै देशका केही स्थानमा बिजुलीको पोल तथा तारमा समेत क्षति पुगेको प्राधिकरणको भनाई छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले शनिवार आएको बाढीले देशभरका ६४० मेगावाट क्षमताका जलविद्युत आयोजनाको उत्पादन प्रभावित बनेको बताए । तर यो क्षति सामान्य खालको भएको घोषको भनाई छ ।

‘ठुलो क्षति होइन । बाढीका कारण उत्पादन प्रभावित बनेको मात्रै हो,’ घोष भन्छन्, ‘हेडबक्स जोगाउनका लागि सबै आयोजनाले सुरक्षा सतर्कता अपनाएका थिए । अधिकांश आयोजनाले आजैदेखि उत्पादन सुरु गरिसके ।’ सञ्चालनमा रहेको देशकै ठुलो जलविद्युत परियोजनाको सूचीमा रहेको माथिल्लो तामाकोसीबाट समेत उत्पादन ठप्प भएको थियो ।

शनिवार आएको बाढीका कारणले ४५६ मेगावाट क्षमताको यो आयोजनाको उत्पादन समेत प्रभावित बनेको हो । यसबाहेक अन्य स्थानका आयोजनाको उत्पादन समेत रोकिएको थियो । यस्तै १० मेगावाटको सुनकोसी र ६० मेगावाटको माथिल्लो त्रिशूली ए जलविद्युत आयोजनाको समेत शनिवार उत्पादन रोकिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरण र प्राधिकरणका सहायक कम्पनीको कूल ५२६ मेगावाट बिजुली उत्पादन प्रभावित बनेको थियो । तर यी आयोजनामा ठुलो क्षति भने पुगेको छैन । बाढीको लेदो पसेको भेटिएमा सरसफाइमा ५–७ घण्टासम्म लाग्छ । आयोजनामा बाढीको लेदो पसेको सफा गरेपछि आयोजनाले उत्पादन नै सुरु गरिसेकेका हुन् । स्वतन्त्र ऊर्जा उत्पादनको लगानीमा सञ्चालित आयोजनाको कूल ११४ मेगावाट क्षमताका बिजुली उत्पादन प्रभावित बनेको थियो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्की बाढीका कारण उत्पादनमा थप क्षति नहोस भनेर प्लान्टबाट उत्पादन रोकिएको बताउँछन् । निजी क्षेत्रद्वारा प्रवर्द्धित ३६ मेगावाटको बलेफी, २० मेगावाटको तल्लो मोदी, १८ मेगावाटको मध्य मोदी र ४० मेगावाटको माथिल्लो चमेलियाको उत्पादन रोकिएको थियो । यी आयोजनाको हेडबक्समा बाढी पस्ने डरले उत्पादकले शनिवार बन्द गरेका हुन् ।

‘आयोजनामा ठुलो क्षति पुगेको छैन, उत्पादन प्रभावितचाहिँ बनेको छ,’ कार्कीले भने, ‘अधिकांशले सरसफाइपछि आयोजना सञ्चालनमा ल्याइसकेका छन् ।’  केही आयोजनाले भने न्यून क्षमतामा चलाइरहेका छन् । ती आयोजनाले बाढी पस्ने डरले न्यून क्षमतामा चलाइरहेका हुन् । अध्यक्ष कार्कीका अनुसार बाढी पसेमा क्षति कम होस् भनेर न्यून क्षमतामा उत्पादन गरिन्छ । उत्पादन क्षमताभन्दा न्यून बिजुली उत्पादन गर्नेमा लिखु, मध्य तमोर, मोदी, त्रिशूली, देवीघाट र चमेलिया लगायत छन् ।

कस्तो छ वितरणको अवस्था ?

प्राधिकरणको लगानी रहेका आयोजनाबाट ३५७ मेगावाट, प्राधिकरणका सहायक कम्पनीमार्फत ५३७ मेगावाट र निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनाबाट १३ सय ११ मेगावाट बिजुली उत्पादन भइरहेको छ । कूल जडित क्षमता ३१ सय मेगावाटभन्दा माथि पुगिसकेकाले उत्पादनमा पर्ने सामान्य प्रभावले बिजुलीको वितरण प्रणालीलाई ठुलो असर नगर्ने प्राधिकरण बताउँछ । 

वर्षायाममा पूर्ण क्षमतामा बिजुली उत्पादन हुने भएकाले भारतबाट आयात गर्नुपर्दैन । बरु यतिबेला प्राधिकरणले ६४० मेगावाटभन्दा बढी बिजुली भारत निर्यात गरिरहेको छ । प्राधिकरणका अनुसार राष्ट्रिय माग १५ सय मेगावाट आसपास छ । जबकि भारत निर्यातसहितको कूल माग २२ सय मेगावाटभन्दा बढी बिजुली छ ।

प्रवक्ता घोषकाअनुसार तनहुँमा बाढीका कारण बिजुलीको प्रसारण लाइनमा क्षति हुनु बाहेक अन्यत्र क्षतिको सूचना आएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप