शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

डा. दामोदर पुडासैनीका झरीसम्बन्धी सात कविता

आइतबार, २३ असार २०८१, १२ : ०५
आइतबार, २३ असार २०८१

झरी १
तिमीले मलाईनै स्पर्श गरिरह्यौ
झरिरह्यौ मलाईनै पगालेर
थोपा थोपा तिमीलाई 
बटुलेकोछु अँजुली र मुटुमा ।

मलाई पीर छ एउटा मात्रै
भोलि घाम झुल्कनेबेला 
तिमी हराइसक्छ्यौ कि बाफ बनेर ।

म तिमीलाई 
जÞिन्दगीभरि झरी देखिरहन चाहन्छु 
कि सधैँ तीर्खा मेटियोस्
उकाली ओराली र बाटाहरूमा
र, बगिरहोस् मरूभूमिमा अथाह र अनन्त कोशी कर्णाली  ।
०००
झरी –२
मलाई तिम्रा 
कयौँ कुरा सुन्न मन छ
तर 
तिम्रो आवाजमा होइन 
झरीको संगीतमा ।

यो साँझ 
मिल्छ भने आऊ झरी बनेर
बनाउँला दुवै मिलेर नयाँ इन्द्रेनी ।

यो साँझ 
नाच्न पनि मन छ मलाई तिमीसँग
सम्झिरहेछु 
बलेसीमा झरेको थोपाको स्पन्दन
र, तिमीले छोडेका मुटुका झङ्कारहरू । 

तिमीले सोच्यौ होला
म जमिसकेँ ढुंगा बनेर
तर तिमीलाई के थाहा 
क्षणक्षणमा वर्षिरहेछु म 
आगोको झरी बनेर ।
०००
झरी– ३
स्कुल जाँदा
खेतका आलीआली हिँडिन्थ्यो
गाउँका गोरेटाहरूमा
गजगजी हिलो फाँड्दै हिँडिन्थ्यो
खेतबारीमा महिनौँ घुम ओढेर 
भस्मे फाँडेर बाउसे गर्थे बा आमाहरूले
झिसमिसेमा झरीमा उठ्थ्यो बिहान 
साँझ थकित झरीले 
घर भित्र्याउँथ्यो बा–आमालाई 
घर पसेपछि
घरभित्र झन् बेस्सरी वर्षन्थ्यो बा आमाको झरी— 
कहिले बालीनाली लगाइसक्ने भनेर
कहिले भारो पर्मको हिसाब टुङ्ग्याइसक्ने हो भनेर
र, कहिले रोकिएला खै दुःखको झरी भनेर ।

अन्त्यमा
औँलाका काप कापमा चिलाउँथ्यो झरी
मकैबारीका सिमी–बोडी केलाउन 
र, डोका, नाम्ला, चकटी र स्याखु बुन्नमै अल्झन्थ्यो झरी
ठिक मध्यरातमा
ठुलो आवाज आउँथ्यो घरपछाडि पहिरोको 
त्यतै लाग्नुहुन्थ्यो बा–आमा 
कोदाला, कोदाली र गल–घन लिएर
र आँखाको झरी झरीमा मिसाउँदै
उतैबाट झर्नुहुन्थ्यो पल्खे र सिरिसे खेततिर
झरी रोकिन्नथ्यो झरीको अन्तिम सिमानासम्म ।


अचेल झरी
पाहुना बनेर आउँछ
कि दलाल बनेर आउँछ
सिकाउँछ सबैलाई—
‘घर ढलान, मान्छे र जग्गा जमिन मुठी बाहिर चलान’
०००
झरी ४

झ्यालबाट 
झरी वर्षेझैँ हेरिरहेछु निरन्तर बाहिरतिर ।

बादल नाच्दै नाच्दै झर्यो
सुमसुम्यायो 
जिरेनियम, इन्द्रकमल र लाहुरेफूलका 
रंगीन पत्रहरूलाई
र सुमसुम्यायो मेरो मनको गहिराइतिर ।

देखेँ 
छमछम नाचिरहेकी छ्यौ तिमी
मेरो आँगनको मुटुमा ।
०००
झरी ५

तिमीलाई जस्तै
मलाई पनि चाहिएको हो झरी ।

तिमी 
महल, गाडी र सपनाका सुरुङ बनाएर
शरीर लुकाउँछौ
माया प्रेमका कथा बुन्छौ
र झरीकै बहानामा 
झर्न खोज्छौ जीवनदेखि धेरै टाढा
म भने
एक्लै छु रूखको डालीमा
या शीतले लछप्प भिजेका पातपातमा
चट्याङको वेग धानेको छु
पानी धारा सहेको छु रातोदिन
र, उडिरहेछु समयको झरीसँगै टाढा–टाढा ।

जीवन यात्रा हो
यात्रामा 
कहिले ठोक्छ असिनाले 
कहिले टोक्छ घाम पानीले
यात्राको बाटो बनाउने हो आफैँले नै
यात्रालाई झरीले रोक्न सक्तैन ।
०००
झरी ६
पहिले–पहिले झरी आउँथ्यो 
आइरहन्थ्यो 
वर्षामा, ग्रीष्ममा, हेमन्तमा, शिशिरमा र वसन्तमा पनि
बोटबोटजस्तै देखिन्थ्यो
खोला–खोलाजस्तै बग्थ्यो सङ्लो र सालीन
घाम र हावा पनि एकनासले चलिरहन्थे चम्किलो र शुद्ध भाकामा ।

अहिले 
झरी आउनै गाह्रो मान्छ
बल्लतल्ल आइहाल्यो भने
एउटा हुण्डरी बहुला साँढे 
बयेली चलिरहेको बालीमा पसेझैँ आउँछ
कि सखाप पारिदिन्छ मान्छेका सपनाका बाटाहरू
कि गड्यामगुडुङ ढालिदिन्छ मान्छेका सपनाका महलहरू ।

झरी ७

मलाई झरीमा रुझ्न मन थियो
अचेल झरी त पोलिथिन जलाएको राग
पेट्रोल सल्काएको ज्वाला 
र, धुलोको घना वर्षामा वर्षिइरहेछ ।

नेताहरू 
सधैँ सधैँ निसास्सिएकाछन् साइनाइड झरीमा
उनीहरू 
एकातिर कालो झरीभित्र नक्कली बिल बनाउन व्यस्त छन्
अर्कातिर 
व्यस्त छन् कुर्सीसम्म पुग्ने सिँडीहरूको जोड–घटाउमा
हामी जनता भने 
घरी यता घरी उता केही झर्छ कि झरीबाट 
भन्ने आशामा 
कहिले यो बादल, कहिले उ कुहिरो समातिरहेछौँ ।

झरी झन् झन् अस्पष्ट बनिरहेछ
र, फस्दै गइरहेछ देश
झन् झन् खडेरीको मारमा । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. दामोदर पुडासैनी ‘किशोर’
डा. दामोदर पुडासैनी ‘किशोर’
लेखकबाट थप