शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

जसपा नेपालको ट्रेड युनियन महासंघ जसपामा आबद्ध

आइतबार, २३ असार २०८१, ११ : ५८
आइतबार, २३ असार २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको भातृ सङ्गठन समाजवादी ट्रेड युनियन महासङ्घले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा आबद्धता जनाएको छ । अर्जुन लम्साल अध्यक्ष रहेको महासङ्घले एक कार्यक्रम गरी जसपा नेपाल निकट रहेको सम्पूर्ण केन्द्रीय समिति जसपामा रूपान्तरण भएको घोषणा गरेको हो । 

जसपाका अध्यक्ष अशोक राईले उपेन्द्र यादवको एकाङ्की व्यवहारले बृहत् पार्टी निर्माण तथा पहिचान स्थापित गर्न नसकिएको दाबी गरे । पार्टीको महाधिवेशनमा आफू निकटलाई रातारात प्रतिनिधि बनाएर पार्टी कब्जा गर्न खोजेको अहिलेको व्यवहारले प्रस्ट पारेको बताउँदै अध्यक्ष राईले ती सबैबाट पाठ सिकेर जसपालाई गतिशील र पहिचान पक्षधरको पार्टी बनाउने बताए ।  

पार्टीका महासचिव इस्तियाक राईले आफूले उपेन्द्र यादवसँग लगातार १८ वर्षसम्म काम गरेको तर त्यसको पनि उनले मूल्याङ्कन गर्न नसकेको गुनासो गरेको बताए । उनले पार्टी निर्माणको क्रममा आफूलाई ६ वटा मुद्दा लागेको बताउँदै विभिन्न आन्दोलनको क्रममा पटक पटक जेल गएको तर त्यसको  मूल्याङ्कन पार्टीले गर्न नसकेको गुनासो गरे । 

आफूभन्दा वरिष्ठ नेताहरूलाई उपेन्द्र यादवले पार्टीमा मिलाएर राख्न नसकेको गुनासो गर्दै बाबुराम, महन्थ ठाकुर, अशोक राई, राजेन्द्र महतोलगायतका शीर्ष नेताहरूलाई पार्टी छाड्न बाध्य बनाएको उनले टिप्पणी गरे । 

श्रमिकहरूको एकताले देशको शासन व्यवस्था बदलेको इतिहास रहेको उल्लेख गर्दै उनले श्रमिकहरू आफ्नो हक अधिकारका लागि एकजुट भएर जानुको विकल्प नरहेको धारणा राखे ।  महासङ्घका अध्यक्ष अर्जुन लम्सालले महासंघमा विभिन्न पेसागत १७ वटा घटक सङ्गठनहरू आबद्ध रहेको बताए । श्रम मन्त्रालय अन्तर्गतको श्रम विभागमा दर्ता रहेको यो महासङ्घले श्रमिक पक्षीय आन्दोलनको सन्दर्भमा राष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाएको उनको दाबी छ । 

देशको हरेक ऐतिहासिक आन्दोलनमा महासङ्घले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै उनले महासङ्घका सबै राष्ट्रिय घटकसहित केन्द्रीय समिति, मधेस प्रदेश समितिबाहेक सबै प्रदेश समिति, जिल्ला समिति, प्रतिष्ठान, इकाईहरू जनता समाजवादी पार्टीमा रूपान्तरण तथा आबद्धता जनाएको बताए । उनले केन्द्रीय समितिका अध्यक्ष, महासचिवसहित दुई तिहाइभन्दा बढी सदस्यहरू जसपामा आबद्ध भएको दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप