पुच्छर लुकाएर भाग्न नसक्ने प्रचण्ड
हिजोआज समाचारहरू हेर्दा रोनाल्डो र प्रचण्डको हालत उस्तै–उस्तै देखिन्छ । आफ्नो जीवनकालमा अन्तिमपटक युरो–कप जितिछाड्ने सपना देखेका रोनाल्डो रुँदैरुँदै मैदानबाट बिदा भएका छन् । प्रचण्ड रुन्छन् कि रुँदैनन् थाहा छैन तर उनी आफ्ना सपनाहरूको बोरा–बिस्तारा पोका पारेर फेरि एकपटक बालुवाटारबाट बिदा हुने तर्खरमा छन् ।
भूकम्प अचानक आएजस्तै, समुद्रमा आँधी अचानक चलेजस्तै, ज्वालामुखी अचानक फुटेजस्तै प्रचण्डको सरकार पनि अचानक ढल्यो । बालुवाटारमा प्रचण्ड मस्त सुतिरहेका थिए, उता केपी ओलीले मध्यरातमा आरजु देउवाको निवासमा पुगेर पेनाल्टी हानिसकेका थिए ।
केही दिनअगाडि कांग्रेसका सांसद् विनोद चौधरी बालकोट पुगेर केपी ओलीलाई एउटा विरहको गीत सुनाएका थिए । अर्बपतिजस्तो मान्छेले किन त्यस्तो हर्कत गरेको होला भन्ने लागेको थियो, तर त्यो सांगीतिक प्रस्तुति सरकार ढलाउनका लागि आयोजना गरिएको रहेछ ।
त्यसअघि पनि केपी ओली बालकोटमा बालबालिकासँग फुटबल खेल्ने, कहिले नायिकाहरूलाई बोलाएर नेपाली चलचित्रको भविष्यका बारेमा सोधखोज गर्ने गर्दथे । वास्तवमा उनको सक्रियता हेर्दा देशको प्रधानमन्त्री नै उनी हुन् जस्तो लाग्थ्यो । देशको प्रधानमन्त्री प्रचण्ड थिए, तर देशको चिन्तामा केपी ओली रातभरि अनिदो बस्दै आएका थिए ।
नैतिकताको सुलीमा प्रचण्ड
कुनै समयमा टाउकोको मूल्य तोकिएको प्रचण्डको यतिबेला फेरि नैतिकताको मूल्य तोकिएको छ । नैतिकताको प्रश्न उठाएर कहिले प्रचण्डको ज्यान मागिन्छ, कहिले राजीनामा मात्रै मागिन्छ । कतिपय मानिसलाई यति धेरै हतार छ, तिनीहरूले प्रचण्डलाई कपडा फेर्ने समय पनि दिन चाहन्नन् । राजीनामा–पत्र लेख्न पनि दुई–चार दिन लाग्छ होला ।
सरकार ढलेको विषयमा मिडियामा धेरै कुरा आएको छ, तर मलाई प्रचण्ड सरकार ढल्नुमा बोक्सीको हात छ जस्तो लाग्छ ।
आफू अल्पमतमा परेपछि संसद् भंग गरेर भाग्नेका कैयौँ नजिर छन्, तर प्रचण्ड एकपटक संसदमै उपस्थित हुन चाहेको बुझिन्छ । अर्थात् प्रचण्डले पुच्छर लुकाएर भाग्न जानेका छैनन् । यस्तोमा नैतिकताको प्रश्न उठेको छ । नैतिकताका आधारमा राजीनामा दिनका लागि प्रचण्डलाई कुनै फौजदारी अभियोग लागेको छैन । प्रचण्डले बहुविवाह गरेका छैनन् ।
यसकारण प्रचण्डले स्वाभाविक किसिमको राजीनामा दिने नै हो । प्रचण्डले सधैँ नयाँ–नयाँ प्रयोग गर्ने भएकाले कतिपयलाई अस्वाभाविक लागेको मात्र हो । सरकारमा जाने र कसरी सरकारबाट निस्किने भन्ने मामुली कुरामा कम्तीमा प्रचण्डलाई सिकाउनुपर्दैन होला जस्तो लाग्छ । यो संविधान निर्माणमा अग्रणी भूमिका खेलेको नेताले संवैधानिक प्रक्रिया अनुसार नै बहिर्गमन हुन चाहेको हो ।
जुन संसदले इतिहासकै अत्यधिक मत दिएर प्रचण्डलाई प्रधानमन्त्रीका रूपमा विजयी गराएको थियो, त्यही संसदले इतिहासकै सबैभन्दा कम मत दिएर प्रचण्डलाई हराउन लागेको छ । यो प्रचण्डको नाममा थप अर्को नयाँ रेकर्ड हो । सायद रेकर्ड राख्नकै लागि विश्वासको मत मागिएको होला । यसो गर्दा प्रचण्डले लाज मान्नुपर्ने कुनै कारण छैन । किनकि यो सरकारको जन्म केपी ओलीले गराएका थिए, आज उनैले मृत्यु दर्ताको प्रमाणपत्र थमाउन लागेका छन् ।
केही वर्षअगाडि प्रधानमन्त्रीका रूपमा आफू अल्पमतमा परेपछि केपी ओलीले संसद् भंग गरेर देशैभरि वितण्डा मच्चाएका थिए, तर प्रचण्ड संसदमा उभिन खोजेका छन् । यस्तो राम्रो कुरामा किन चिन्ता लिनुप¥यो र ? प्रचण्डले विश्वासको मत लिँदै गर्दा कतै प्रहरीले लाठी चार्ज गर्नुपर्दैन, कतै निषेधित क्षेत्र घोषणा गर्नुपर्दैन, कोही कसैले मांसाहारी आन्दोलन गर्नु पनि पर्दैन ।
बरु फेरि पनि उल्टो काम गरेको केपी ओलीले नै हो । अविश्वासको प्रस्ताव संसद्मा लगेर दर्ता गर्नुको साटो आरजु देउवाको घरमा गएर नयाँ सरकार गठन भएको घोषणा गरे, तर वैधानिक सरकार संसद्बाट निर्माण हुँदै छ । केही दिनभित्र दुलाहाको जस्तो पोसाक लगाएर केपी ओली बानेश्वर चोकनजिकै रहेको संसद् भवनमा पुग्नेछन् । कालो अनुहार बोकेर गगन थापा पनि त्यहाँ आउनेछन् । तिनीहरू बहुतै ठुलो हुल बाँधेर आउनेछन् । घेराबन्दी गर्नेछन्, तर प्रचण्ड डराएर पुच्छर लुकाएर भाग्ने छैनन् ।
प्रचण्ड पुच्छर लुकाएर नभाग्नुको एउटा कारण छ, त्यो भने सक्नुहुन्छ भने तपाईंहरू दुई पार्टी मिल्नुहोस्, मलाई धेरै घुर्की नलगाउनुहोस् भनेर प्रचण्डले संसद्मै उभिएर भनेका थिए । प्रतिपक्षमा गएर जनताको आवाज उठाउने तर डराएर नभाग्ने उनको कथन थियो । डराएर त बरु केपी ओलीहरू भागे । ठुला–ठुला मान्छेहरू मिलेर जोगिन खोज्नु डरकै कारण हो । कांग्रेसलाई पनि डर लागेकै कारण एमालेसँग मिल्न बाध्य भएको हो ।
केही दिनपछि केपी ओलीको फोटो बिजुलीको पोल–पोलमा टाँसिन सक्छन् । फेरि एकपटक चुच्चे रेलको उद्घाटन हुन सक्छ । पानी जहाज कार्यालयमा थप कर्मचारी खटिन सक्छन् । दुई–चारजना संसद अपहरणमा पर्न सक्छन् । फेरि एकपटक हावाबाट बिजुली चल्न सक्छ । महेश बस्नेतलाई झुटो आरोप लगाउने महिला जेल जान सक्छिन् ।
कसको डर, किन डर भन्ने प्रश्न उठ्छ । मेरो एकजना साथी थियो, सर्पको फोटोसँग पनि डराउँथ्यो । कांग्रेस र एमाले प्रचण्डसँग डराए त म भन्दिनँ तर प्रचण्डको फोटोसँग डराएको पक्का हो । हिजो युद्धकालमा पनि शोषकहरू प्रचण्डको फोटोसँगै डराएका थिए । टोपबहादुरदेखि कृष्णबहादुरसम्म, प्रतीकदेखि दीपेशसम्मलाई धरपकड गर्ने प्रचण्डले अब हामीलाई बाँकी राख्दैन भन्ने तिनीहरूलाई लागेको हुनुपर्छ ।
किन ढल्यो प्रचण्ड सरकार ?
सरकार ढलेको विषयमा मिडियामा धेरै कुरा आएको छ, तर मलाई प्रचण्ड सरकार ढल्नुमा बोक्सीको हात छ जस्तो लाग्छ । केही वर्षअगाडि केपी ओलीले भाषण गरेका थिए, ‘मलाई मार्नका लागि मान्छेहरूले के–केसम्म गरेनन्, अनेक तिकडम षड्यन्त्रहरू गरियो, एकपटक त बोक्सी उठाएर लगाएको पनि थाहा पाएँ, पछि मैले खुद त्यो बोक्सीसँग कुरा गरेर आफूलाई जोगाएँ । बोक्सी को थियो भन्नुहोला, बोक्सी त मैरै साथीहरू रहेछन् । यसकारण बोक्सी सोक्सी केही हँुदैन, यदि भएमा आफ्नै साथीभाइ हुन्छन् ।’
प्रचण्ड सरकारको बलियो सारथीका रूपमा उभिएको थियो रास्वपा । विदेशी केटासँग बिहे गरेको भनेर शिक्षामन्त्री सुमना श्रेष्ठसँग केपी ओली रिसाएका थिए । उनले काठमाडौँको रैथाने नेवार्नी बिहे गरे भन्दैमा सबैको भाग्यमा त्यस्तो कहाँ लेखिएको हुन्छ र ? सुमनालाई बर्खास्त गर्नका लागि ओलीले अल्टिमेटम नै दिए, तर प्रचण्डले टेरेनन्, आखिर प्रचण्ड आफैँले अल्टिमेटम प्राप्त गर्नुप¥यो । पढे–लेखेका भनिएका रास्वपाका मान्छेहरू नै बोक्सी बनेर निस्किए ।
नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मान्छे त खासमा रवि लामिछाने थिए । खासमा प्रचण्ड सरकारको नैतिकता धुमिल बनाएको पनि यिनैले हो । आफ्नो काण्ड नदेख्ने अरुको मात्रै काण्ड भेटाएँ भन्ने; हिलो आफ्नो अनुहारमा छ गन्ध अनुहारको अनुहारमा खोज्ने— रविले गृहमन्त्रीका रूपमा साह्रै ज्याद्रो पारा देखाए । दीपकराज गिरीको फ्लिम हिट भएको थाहा पाउन पनि ५२ दिनसम्म फ्लिम हलमा चल्नुपर्छ । रवि ब्रदरले १०० दिनमा काम तमाम गर्छु भने ।
आफ्नो फाइल जमिनमुनि लुकाएर अरुको फाइल चोक–चोकमा पर्दाफास गर्छु भने । यो सब उपद्रोलाई प्रचण्डले रक्षा कवच बनेर टुलुटुल हेर्नुपर्ने बाध्यता थियो । आफैँले लुकाएको जीबी राईको लोकेसन पत्ता लगाइयो भन्दै फूर्ति लगाउने रवि ब्रदरले प्रहरीको ड्युटी पनि आफैँ गरेर संवेदनशीलको हद नाघे । रवि ब्रदरलाई देख्दा प्रहरीहरूले पनि जोकर आयो भन्न थाले । वास्तवमा प्रचण्ड एक्लिनुको कारण यो पनि हो ।
चौथो दलबाट गृहमन्त्री बनेका रवि ब्रदरको नसुहाउँदो अस्वाभाविक फूर्ति देखेर पहिलो दल र दोस्रो दल मिल्न बाध्य भए । आफूले सहकारीको करोडौँ पैसा ठगेर लाखौँ जनतालाई रुवाउने, अनि सबैभन्दा ठुलो पार्टीको सभापतिको श्रीमतीलाई पक्राउ गर्छु भन्ने । वास्तवमा पक्राउ त रवि ब्रदरले आफूले आफैँलाई गराउनुपर्ने थियो ।
जब मिडियाका मालिक कैलाश सिरोहियालाई पक्राउ गरियो, त्यसपछि परिस्थिति झनै बिग्रियो । रवि ब्रदरले आफ्नो व्याक्तिगत रिस त्यसरी पोख्न हँुदैनथ्यो । गृहमन्त्रीको काम भनेको नियमको गराउने हो, आफैँ दंगा प्रहरीको सिपाहीजस्तो बनेर आवेग प्रकट गर्ने होइन । सिरोहियाको नागरितामा कुनै समस्या नै थिएन । समस्या प्रशासनको हस्त लेखनमा थियो । प्रशासनले दुईजनालाई एकै नम्बरको नागरिकता थमाउँछ भने गल्ती लिनेको हँुदैन, दिनेको हुन्छ ।
प्रमाण नै नपुगेपछि प्रहरीले आजको मितिसम्म सिरोहियामाथि मुद्दा चलाउन सकेन । रवि ब्रदरको सबैभन्दा धेरै झगडा कांग्रेसका नेता गगन थापासँग प¥यो, जो सही थिएन । विदेशीलाई सूचना बेचेको जस्ता संसद्बाट भन्नै नहुने गोपनीयताको कुरा रवि ब्रदरले भन्दिए । यस प्रकारको गतिविधिबाट ठुला दलहरू झन् झस्किए । रवि ब्रदरलाई शक्तिबाट निकाल्नका लागि पनि दुई ठुला दलहरू मिल्नैपर्ने भयो ।
ठुला दलहरूको दम्भ
एमाले र कांग्रेस अब हामी कहिल्यै नछुट्टिने भनेर कसम खाएका छन् । तर यिनीहरू केही राम्रो गर्न मिलेको होइन, नराम्रो हुनबाट जोगिनका लागि मिलेका हुन् । केपी ओली र देउवा कस्ता छन्, सारा संसारलाई थाहा छ । यिनीहरूको शासनकाल नदेखेको होइन, नभोगेको पनि होइन । प्रचण्ड हटेपछि कुनै युधिष्ठिरको राज्य अभिषेक हँुदैन ।
एउटै थालमा भात खाएको आफ्नै साथीहरू माधवकुमार नेपाल, वामदेव गौतमसँग मिल्न नसक्ने केपी ओली राणा खान्दानका ज्वाइँसँग मिल्न कदापि सक्दैनन् । आफ्ना मुद्दा–मामला के के छन्, त्यो मिलाइसकेपछि यिनीहरूको झगडा फेरि सुरु हुन्छ । रवि ब्रदरले खोतल्छु भनेको फाइललाई यिनीहरूले खाल्डो खनेर पुर्नेछन्।
उहिले हाम्रो गाउँमा सासु र बुहारी मिलेर बसेको भनेर सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । ठिक त्यस्तै केही राजनीतिक विश्लेषकहरूले एमाले–कांग्रेस मिलेकोमा हर्ष बढाइँ गरिरहेका छन् । यिनीहरूको राजनीतिक विश्लेषण कहिल्यै मिलेको छैन, भोलि पनि मिल्दैन । मिलेको भए यति बेला प्रचण्ड हामीमाझ हुने थिएनन्, मरिसकेका हुने थिए ।
देउवाको पालो आएको कल्पना गर्दा पनि अल्छी लागेर आउँछ । देउवाको पालो आएपछि सबैभन्दा पहिला उनको ज्योतिषीले दुई–चार लाख बक्सिस पाउन सक्छन् । टेलिभिजन पत्रकारलाई समय दिनेछैनन्, मजासँग सिरक ओढेर सुत्नेछन्। आवश्यक नै प¥यो भने आफ्ना तर्फबाट कुरा राख्न आरजु देउवालाई खटाउनेछन् ।
प्रचण्ड नेतृत्वको पार्टी नेकपा माओवादी विविध कारणले खुम्चिएर सानो भएको छ । सानो भए पनि कांग्रेस– एमालेलाई राजाको हली हुनबाट जोगाउने माओवादी नै हो । कांग्रेस–एमाले ठुलो भएर के त्यस्तो महान् काम गरे ? आखिरीमा गणतन्त्र ल्याएर संविधान लेखेको माओवादीले नै हो । त्यही भएर गिरिजाप्रसाद कोइरालाले जाने बेलामा प्रचण्डको नाम लिएका थिए ।
अस्ति तिनै गिरिजाका पुराना तस्बिरहरू प्रदर्शनीमा राखिएको रहेछ । ती फोटोहरूमध्ये सबैभन्दा हेर्न लायक फोटो गिरिजा र प्रचण्डको दस्तखत गरेको वाला नै थियो । तस्बिर आफैँ बोल्छ भन्छन्, त्यो फोटोमा केपी ओलीको स्थान कता थियो ? त्यसकारण कुनै राजनीतिक दल ठुलो भएर केही फरक पर्दैन । सबैभन्दा ठुलो विचार हो ।
प्रचण्डको पार्टी सानो छ तर विचार ठुलो । एमाले पार्टी पक्कै पनि ठुलो हो । नेपाली समाजको विकास क्रममा यो पार्टीको पनि ठुलो भूमिका छ, तर यो संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका एमालेका नेताहरू नै आज एमालेमा छैनन् । यसकारण केपी ओलीलाई यो संविधान संशोधन गर्ने कुनै अधिकार छैन । हाम्रो लोकतान्त्रिक संविधानले कोही कसैलाई ‘किम जोन उन’ बनाउन सक्दैन ।
जसले देशमा साना दलहरूको औचित्य छैन भन्छ, त्यसले समाजका स–साना मान्छेहरूको अर्थ पनि छैन भन्छ । जेठा दाइ र माइलादाइ मिलेर आफ्नो अविवाहित कान्छा भाइको सम्पूर्ण जायजेथा हरण गरेर गाउँबाट लखेट्नुलाई कुनै बहादुरी भनिँदैन । बरु त्यस्तालाई त ‘भाइमारा’ भनिन्छ । नेपालभन्दा सयौँ गुणा ठुला छन्, चीन र भारत । तर के चीन र भारत ठुलो देश हँुदैमा यिनीहरू मिलेर नेपाललाई एकै मिनेटमा ‘करपझ्याप’ पार्न मिल्छ ? मिल्दै, मिल्दैन ।
अब के हुन्छ ?
केही दिनपछि केपी ओलीको फोटो बिजुलीको पोल–पोलमा टाँसिन सक्छन् । फेरि एकपटक चुच्चे रेलको उद्घाटन हुन सक्छ । पानी जहाज कार्यालयमा थप कर्मचारी खटिन सक्छन् । दुई–चारजना संसद अपहरणमा पर्न सक्छन् । फेरि एकपटक हावाबाट बिजुली चल्न सक्छ । महेश बस्नेतलाई झुटो आरोप लगाउने महिला जेल जान सक्छिन् । केपी ओली गायक पनि भएकाले टिकटक माथिको प्रतिबन्ध फुकुवा हुन सक्छ । दुर्गा प्रसाईं र केपी ओलीको सानदार भेट हुन सक्छ । हिजो बालकोट पुगेर गीत गाएका विनोद चौधरी फेरि बालुवाटार पुगेर गीत गाउन सक्छन् । नक्कली डा. गोविन्द केसी फेरि अनशन बस्न सक्छन् ।
त्यसपछि देउवाको पालो आउला । देउवाको पालो आएको कल्पना गर्दा पनि अल्छी लागेर आउँछ । देउवाको पालो आएपछि सबैभन्दा पहिला उनको ज्योतिषीले दुई–चार लाख बक्सिस पाउन सक्छन् । टेलिभजन पत्रकारलाई समय दिनेछैनन्, मजासँग सिरक ओढेर सुत्नेछन्। आवश्यक नै प¥यो भने आफ्ना तर्फबाट कुरा राख्न आरजु देउवालाई खटाउनेछन् । कतै आन्दोलन भएमा अब के गर्ने हो यार भन्दै केपी ओलीलाई बारम्बार फोन गर्नेछन् । अरु त के होला र खै, केही पनि हँुदैन ।
प्रश्न उठ्छ, के त्यसो भए अब के फेरि कमेरड प्रचण्ड प्रधानमन्त्री बन्न सक्दैनन् त ? पक्कै पनि प्रचण्ड प्रधानमन्त्री बन्न सक्छन्, तर पूर्वप्रधानमन्त्री । अब बहालवाला प्रधानमन्त्री बन्न प्रचण्डले धेरै नै पापड पेल्नुपर्ने देखिन्छ । त्यसका लागि प्रचण्डसँग विचार त छ तर उमेर, ऊर्जा र संगठन छैन । केही छन् वरिपरि तिनीहरूले आफ्ना लागि जे गर्नुछ, त्यो गरिसकेका छन्, अब बेकारमा किन दुःख गर्छन् ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
४ प्रतिक्रिया
भर्खरै
-
बीवाईडीको १०० विद्युतीय गाडी डेलिभरी
-
पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनीमा, तस्बिरहरु
-
जनमत पार्टीकी सांसद सापकोटालाई पदबाट नहटाउने सभामुखको निर्णय
-
कम्बोडियामा ३२ हजार करोड लगानी रहेको आरोपपछि ओलीले भने– अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल !
-
अहिलेको सरकार र समीकरणलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्त्री
-
सेयर बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्ने बाटो खुल्यो