शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
नयाँ समीकरणको तरङ्ग

सत्ता गुम्ने भएपछि प्रचण्डले देखे प्रतिगमनको खतरा, पूर्वमाओवादी घटकहरू सहमत

आइतबार, २३ असार २०८१, ०८ : २१
आइतबार, २३ असार २०८१

काठमाडौँ । आम निर्वाचन यता चौथो पटक भएको राजनीतिक उथलपुथलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफै सत्ताबाट बाहिरिने अवस्थामा पुगेका छन् । असार १७ गते मध्ये रातमा दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच समीकरण फेरबदलमा सहमति गरेपछि उनी सत्ता बर्हिगमनको बाटोमा छन् । २०७९ साल पुस १० गते  कांग्रेस नेतृत्वको गठबन्धन त्यागेर केपी ओली निवास बालकोट पुगेका प्रचण्ड एमालेको प्रस्तावमा तेस्रो पटक प्रधानमन्त्री  बन्न सफल भएका थिए । 

डेढ वर्षमा कहिले एमाले कहिले कांग्रेससँग मिलेर राजनीति उथलपुथल ल्याएका उनी अहिले तिनै दुई ठुला दलको सिकार भएका छन् । यद्यपि गलेर राजीनामा नदिने भन्दै उनले असार २८ गते संविधानले दिएको अधिकार प्रयोग गरी संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । तर संसद्को अङ्कगणित प्रचण्डको पक्षमा देखिँदैन । 

२७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेस एमालेको पक्षमा १६७ मत रहेको छ । जब कि बहुमतका लागि १३८ मत आवश्यक पर्छ । अङ्कगणित आफ्नो पक्षमा प्रतिकुल हुँदाहुँदै प्रचण्डले विश्वासको मत लिन खोज्नुलाई राजनीति वृत्तमा अनेकन् विश्लेषण भइरहेको छ । 

केहीले संविधानले दिएको अधिकार प्रयोग गर्नु प्रधानमन्त्रीको अधिकार भएको बताएका छन् । केहीले त्यतिबेलासम्म कांग्रेस एमालेको सम्बन्धमा फाटो ल्याउन सकिन्छ कि भनेर प्रयोग गर्न खोजिएको हुन सक्ने अनुमान गरेका छन् । कतिपयले अल्पमतमा परेपछि नैतिकताका आधारमा राजीनामा दिएको भए राम्रो हुने सुझाव दिएका छन् । 

विश्वासको मतको तयारी  र भावी रणनीतिको विषयमा पटक पटक सक्ता साझेदार दलहरूसँग छलफल गरिरहेका छन् । सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले उनलाई खुलेर साथ दिइरहेका छन् । 

माओवादीका उपमहासचिव मातृका यादवले कांग्रेस एमाले मिलेर सङ्घर्षबाट प्राप्त उपलब्धि समाप्त पर्ने षड्यन्त्र भइरहेकाले सङ्घर्षका लागि जनतामा जाने बताएका छन् । 

‘कांग्रेस एमालेले संविधान संशोधन गरी ०४७ को प्रतिगामी व्यवस्था ल्याउने षड्यन्त्र गरिरहेका छन् । सङ्घर्षबाट प्राप्त उपलब्धि सङ्घीयता, संविधान, सङ्घीय गणतन्त्र, धर्मनिरपेक्ष र समानुपातिक प्रतिनिधित्वको रक्षा गर्न वामपन्थी, उत्पीडित, जनजाति, दलित, मधेसी लगायतसँग मिलेर जनसङ्घर्ष गर्छौँ’, यादवले भने । 

प्रधानमन्त्री निवास बालुवाटारमा असार १८ गते बसेको माओवादी पदाधिकारी बैठकले प्रतिक्रान्तिको खतरा भएको निष्कर्ष निकाल्दै वामपन्थी शक्तिहरूबिच एकता र सहकार्य गरेर जनसङ्घर्षमा जाने निर्णय गरेको थियो । सत्ताबाट बहिर्गमन भएपछि प्रचण्डले पूर्वमाओवादी लगायत सम्पूर्ण वामपन्थी शक्तिहरूसँग मिलेर सङ्घर्ष गर्ने रणनीतिक तयारीमा लागेका छन् । 

‘प्रतिगमन भए प्रचण्डसँग सहकार्य हुनसक्छ’

पछिल्लो कांग्रेस एमाले समीकरणलाई लिएर पूर्वमाओवादी घटकहरू पनि सशङ्कित देखिएका छन् । प्रतिगमनको खतरा रहेकाले माओवादी केन्द्रसहित वामपन्थी शक्तिहरूबिच सहकार्य हुन सक्ने नेताहरूले बताएका छन् । 

पछिल्लो सत्ता उथलपुथल प्रचण्डकै कारण भएकाले भावी एजेन्डासहित उनी सच्चिएर आए सहकार्य हुन सक्ने वैज्ञानिक समाजवादीका अध्यक्ष विश्वभक्त दुलाल आहुतिले बताउँछन् । संसदीय व्यवस्थाभित्र समीकरण फेरबदल भइराख्नु स्वाभाविक भए पनि संविधान संशोधन कुरा उठ्नुले प्रतिगमनको खतरा रहेको उनले आशङ्का व्यक्त गरे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता सीपी गजुरेलले प्रतिगमनतिर कांग्रेस र एमाले गएमा अग्रगमनका पक्षधर क्रान्तिकारी शक्तिहरू मिलेर सङ्घर्ष गर्ने स्पष्ट पारे । 

‘पछिल्लो सत्ता समीकरणलाई हामीले गम्भीर रूपमा अध्ययन गरिरहेका छौँ । खास गरी यो संविधान नै परिवर्तन गर्ने भनेर उनीहरू आइराखेका छन् । यसले फेरी प्रतिगमनमा जाने हो कि भन्ने खतरा बढाएको छ । प्रतिगमन भयो भने त्यसकोविरुद्ध अग्रगमन पक्षधरसँग मिलेर जान सकिन्छ’, उनले भने ।  

पछिल्लो सत्ता उथलपुथल प्रचण्डकै कारण भएकाले भावी एजेन्डासहित उनी सच्चिएर आए सहकार्य हुन सक्ने वैज्ञानिक समाजवादीका अध्यक्ष विश्वभक्त दुलाल आहुतिले बताउँछन् । संसदीय व्यवस्थाभित्र समीकरण फेरबदल भइराख्नु स्वाभाविक भए पनि संविधान संशोधन कुरा उठ्नुले प्रतिगमनको खतरा रहेको उनले आशङ्का व्यक्त गरे । यदि त्यस्तो अवस्था आएका माओवादीसहित क्रान्तिकारी शक्तिहरूबिच सहकार्य गरेर जान सकिने उनको भनाइ छ । 

‘प्रतिगमन कस्तो रूपमा आउन खोज्छ, त्यसको आधारमा मोर्चाबन्दी बन्छ । अहिले नै भन्ने कुरा होइन । आत्तिने बेला पनि भएको छैन’, आहुतिले भने, ‘साँच्चै संविधान संशोधन गरेर प्रतिगमनतिर जान खोजिए त्यतिबेला नयाँ  बहसको सृष्टि हुन्छ । उत्पीडित समुदाय र वर्ग फेरी चुप लागेर बस्दैन । उसले नयाँ पहलकदमी लिएर आउँछ ।’

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेतृ दुर्गा सोवले अहिले नै प्रतिगमनको खतरा नभएको निष्कर्ष सुनाइन् । अहिलेको परिस्थिति प्रचण्डको सत्ता लिप्साका कारण आएको उनको बुझाइ छ । यदि कांग्रेस एमाले  प्रतिगमनतर्फ गएमा माओवादीसहित सबैपक्षसँग सहकार्य हुनसक्ने उनले बताइन् ।   

यता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता अनिल शर्मा विरहीले पछिल्लो सत्ता समीकरणबाट प्रतिगमनको खतरा रहेको आशङ्का व्यक्त गरे । त्यस्तो अवस्था आइपुगे माओवादी घटकसहित वामपन्थी, देशभक्त शक्तिहरूबिच मोर्चाबन्दी गरेर आन्दोलनमा जाने बताए । 

‘संविधान संशोधनसहित कांग्रेस एमालेको सत्ता समीकरण बनेको छ । यसबाट प्रतिगमनको खतरा बढेको छ । त्यस विरुद्ध सङ्घर्षमा जान प्रचण्डले पहलकदमी लिनुपर्छ । वामपन्थी, देशभक्त सबै शक्तिहरू मिलेर सङ्घर्षमा जानेछौँ’, उनले भने ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेतृ दुर्गा सोवले अहिले नै प्रतिगमनको खतरा नभएको निष्कर्ष सुनाइन् । अहिलेको परिस्थिति प्रचण्डको सत्ता लिप्साका कारण आएको उनको बुझाइ छ । यदि कांग्रेस एमाले  प्रतिगमनतर्फ गएमा माओवादीसहित सबैपक्षसँग सहकार्य हुनसक्ने उनले बताइन् ।   

‘अहिले जुन राजनीतिक परिस्थिति सिर्जना भएको छ, त्यो प्रचण्डकै सत्ता लिप्साका कारणले भएको हो । सत्तामा टिकिराख्न उनले जसरी तिकडम गरे, त्यसकै परिणाम पछिल्लो समीकरण बन्यो’, सोवले भनिन्, ‘अहिले नै प्रतिगमनमा लैजान त्यति सहज छैन । जानजाति, दलित, मधेसी, उत्पीडित समुदायको सङ्घर्षबाट प्राप्त भएको उपलब्धि हो । यदि त्यो दिशामा मुलुक गयो भने राष्ट्रिय एजेण्डामा माओवादीसहित सबैसँग सहकार्य हुनसक्छ । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र भन्ने हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप