शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
नयाँ सत्ता समीकरण

लुम्बिनी प्रदेश : सरकार परिवर्तन गर्न कांग्रेस–एमालेलाई हतार, माओवादी आफ्नै तालमा

आइतबार, २३ असार २०८१, ०७ : ०४
आइतबार, २३ असार २०८१

बुटवल । दलीय समीकरण बदलिएपछि लुम्बिनी प्रदेशमा सरकार परिवर्तनका लागि नेपाली कांग्रेस र  नेकपा एमालेले हतािरएका छन् । सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) भने आफ्नै तालमा देखिन्छ । 

मुख्यमन्त्री जोखबहादुर महरालाई छिटो बहिर्गमन गराएर नयाँ सरकार गठन गर्ने रणनीतिमा कांग्रेस,एमाले गठबन्धन रहेको छ ।  कांग्रेस एमाले मिल्दा स्पष्ट बहुमत पुग्ने भएपछि अल्पमतमा परेका महरालाई छिटो राजीनामा गराएर आफूहरू सत्तामा जान हतारिएका हुन् ।  एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ५ मन्त्रीहरूले राजीनामा दिइसकेका छन् । एमालेले प्रदेश प्रमुख अमिक शेरचनलाई नयाँ सरकारको गठनको लागि पहल गर्न आग्रह समेत गरिसकेका छन् । 

केन्द्रमा विभाजित जसपा सांसद अम्बिका काफ्लेले लुम्बिनी प्रदेशमा आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउँदै प्रतिपक्षको सिटमा बसेकी छन्। 

उनले असार ९ गते माओवादीको नेतृत्वमा बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेकी हुन् । एमाले मुख्य सचेतक तुलसी प्रसाद चौधरीले मुख्यमन्त्री जोखबहादुर महरा अल्पमतमा परेको स्पष्ट भएकोले अव छिटै राजीनामा दिन आफूले आग्रह गरेको बताए । उनले एमालेले समर्थन फिर्ता लिनुभन्दा अगाडी जसपाका सांसद अम्बिका काफरलेले विश्वास मत फिर्ता लिएकोले सोही  मितिका आधारमा सरकारले विश्वास मत लिनुपर्ने बताए । 

उनले मुख्यमन्त्रीले एमालेले फिर्ता मितिलाई नभई जसपा सांसदले फिर्ता लिएको मितिबाट लागु गरेर  नयाँ सरकार गठन  प्रक्रियामा जानुपर्ने बताए । 

ambika cafle

यदि जसपाका सांसद फिर्ता लिएको ठहर गरेर विश्वास मत लिनुपर्ने अवस्था आएमा साउन ७ गते भित्र जोख बहादुर महराले विश्वास मत लिनुपर्ने हुन्छ । तर सरकारले उक्त मितिको विषयमा मान्ने पक्षमा छैन । लुम्बिनी प्रदेश सरकार उद्योग, तथा पर्यटन मन्त्री खड्क बस्नेतले जसपाको काफ्लेले विश्वास मत फिर्ता लिएर अन्य दुई जना सांसदको सरकारलाई समर्थन रहेकोले विश्वास मत लिन नपर्ने सल्लाह भएको बताए । 

नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमसेनाले नयाँ सरकार निर्माणको लागि अनौपचारिक रूपमा संवादमा नै रहेको बताए । उनले पहिले माओवादीले सरकार छोडेपछि नयाँ सरकार गठनको विषयमा प्रवेश गर्ने बताए । यस्तै एमालेका मुख्य सचेतक तुलसी चौधरीले पहिला मुख्यमन्त्री बाहिरिएपछि नयाँ सरकार बनाउनको लागि कांग्रेस, एमालेलाई कुनै समस्या नभएको जिकिर गरे ।  

माओवादी मुख्य सचेतक इन्द्रजीत थारुले  अम्बिका काफ्लेले विश्वासको मत फिर्ता लिएको  मिति अनुसार सरकारको विश्वासको मत नलिने बताए । उनले एमालेले फिर्ता लिएको विषयमा कानुनले दिएको समय भित्र मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयास गर्ने बताए ।  माओवादीले विश्वासको मत ल्याउन अन्य दलहरूसँग प्रयास गर्नु स्वाभाविक रहेको बताउँदै केन्द्रको रणनीति हरेर अगाडि जाने उनले बताए ।

उनले मुख्यमन्त्रीसँग राजीनामा र संसद् फेस दुवैको विकल्प रहेको खुलाए । लुम्बिनी प्रदेशमा २०८० साल चैत २३ माओवादी संसदीय दलका नेता जोखबहादुर महरा एमाले सहित ६ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए । केन्द्रमा दलीय समीकरण फेरबदल  भएपछि महरा सरकार सङ्कटमा परेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप