मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

हेटौँडा काठमाडौँ जोड्ने सडकहरू सञ्चालनमा

शनिबार, २२ असार २०८१, २१ : ०८
शनिबार, २२ असार २०८१

हेटौँडा । पहिरोका कारण बन्द हेटौँडा काठमाडौँ जोड्ने सडकहरू सञ्चालनमा आएका छन् । शुक्रबारदेखि परेको वर्षाका कारण हेटौँडा काठमाडौँ जोड्ने विभिन्न सडकहरूमा पहिरो खसेर बन्द भएको थियो । सो पहिरो पन्छाएर सडक सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार वर्षाका कारण काठमाडौँतर्फ जाने सडक खण्डहरू अवरोध हटाएर सञ्चालनमा ल्याइएको छ ।  

त्रिभुवन राजपथ सडक खण्ड,(पालुङ हुँदै नौबिसे काठमाडौँ), चित्लाङ चन्द्रागिरि हुँदै काठमाडौँ, भैँसे भिमफेदी सडक खण्ड, फखेल हुँदै काठमाडौँ, मातातिर्थ हुँदै काठमाडौँ, सिस्नेरी हुँदै काठमाडौँ सडक सञ्चालनमा रहेको उनले बताए । 

भैँसे भिमफेदी सडक खण्डको २ स्थानमा पहिरो गएको र दुवै स्थानमा पहिरो पन्छाई एकतर्फी सडक सञ्चालनमा ल्याइएको उनले बताए । 

कान्ति लोकपथ खुल्न ३ दिन लाग्ने

पहिरोका कारण बन्द भएको कान्ति लोकपथ तत्काल सञ्चालनमा नआउने भएको छ । पहिरो पन्छाउन केही दिन लाग्ने प्रहरीले जनाएको छ । शनिवार बिहान ७ बजेको समयमा कान्ति लोकपथ सडक खण्ड अन्तर्गत भिमफेदी–८ माहादेवटार, भिमफेदी–८ प्रताप डाँडा, बकैया– १२ को आले र बकैया–११ को सिमात घुम्तीमा पहिरो खसेकाले बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो । 

मकवानपुर तर्फको पहिरो हटाई एक तर्फी सुचारु सडक सञ्चालन गरिए पनि ललितपुर भट्टेडाँडा कार्कीवासमा ठुलो पहिरो गएकाले हटाउन कठिन भएको प्रहरीको भनाई छ । ललितपुर तर्फको पहिरो पन्छाउन ३ दिन लाग्ने प्रहरीको अनुमान रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप