शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरियो, ग्रामीण सडक अवरुद्ध

शनिबार, २२ असार २०८१, १९ : ४९
शनिबार, २२ असार २०८१

बलेवा । अविरल वर्षसँगै आएको पहिरोले जिल्लाको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरिएको छ । जैमिनी–१ र वडा नं ४ को बीच भएर बग्ने ठेउलेखोलामा निर्माण भएको जलविद्युत् आयोजनाको बाँध पहिरोका कारण पुरिएको हो । 

कुश्मिसेरा, सुर्कवा व्याडथला सडकखण्डमा आएको पहिरोले उक्त बाँधमा क्षति पु¥याएको बारही हाइड्रोपावरका प्रशासन प्रमुख लिलानाथ पौडेलले बताए । पहिरोका कारण बाँध पुरिँदा विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको उनले जानकारी दिए । उनले १.५ मेगावट विद्युत् उत्पादन हुने आयोजनालाई पुनःसञ्चालन गर्न समय लाग्ने बताए ।

पहिरोले जैमिनी नगरपालिकाको केन्द्रविन्दु कुश्मिसेराबाट सर्कुवा,जैदी,अर्जेवा, विनामारे, व्याडथाला जाने सडक पूर्णरुपमा अवरुद्ध भएको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । जैमिनीको केन्द्रविन्दुबाट सबै वडा जाने ग्रामीण सडक बन्द भएका छन् ।

उपप्रमुख शर्माले भने, “यसै वर्ष स्तर वृद्धि गरेर कालेपत्र र ढलान गरिएको कुश्मिसेरा–सर्कुवा–व्याडथला खण्डमा गएको पहिरोले जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । अविरल वर्षा भइरहेकाले तत्काल सडक स्तारोन्नति गरी सञ्चालन गर्ने अवस्था छैन ।” 

जैमिनी नगरपालिको केन्द्रबाट जाने अधिकांश सडक पहिरोले अवरुद्ध बनेका उनले जानकारी दिए । उपप्रमुख शर्माका अनुसार कालिगण्डकी करिडोर खण्डको विनामारेमा सडक माथिबाट आएको लेदोसहितको पहिरोले करिडोर अवरुद्ध बनेको छ । 

वर्षाका कारण जिल्लाको गलकोटबाट हिल हुँदै ताराखाला जाने सडक पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बागलुङ हुँदै म्याग्दीको बेनीबजार जाने खण्डअन्तर्गत बागलुङ नगरपालिका–४ बान्द्रेमा सडक माथिबाट आएको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप