शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
नयाँ सत्ता समीकरण

मन्त्री बन्न कांग्रेस सांसदले थाले दौडधुप, उपप्रधानमन्त्रीबारे अलमलमा देउवा

शनिबार, २२ असार २०८१, १९ : ०९
शनिबार, २२ असार २०८१

काठमाडौँ । नेकपा एमालेसँग सत्ता सहकार्यको समझदारीपछि नेपाली कांग्रेसका सांसदहरू मन्त्रीका लागि दौडधुपमा लागेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा कांग्रेस सांसदको भिड लाग्न थालिसकेको छ ।

असार १७ मा कांग्रेस र एमालेबिच सत्ता सहकार्यको सहमति भएसँगै कांग्रेस सांसदहरूले मन्त्रीको लबिङ तीव्र पारेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ मा विश्वासको मत लिनेगरी तयारी गरेका छन् । त्यसैले यही महिनाभित्रै नयाँ सरकार गठनको ढोका खुल्ने छ । सरकार गठनको ढोका नखुल्दै कांग्रेसमा मन्त्री बन्न चर्को हानथाप सुरु भइसकेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा उपप्रधानमन्त्रीसहित सरकारमा कांग्रेसबाट नेतृत्व गर्नेमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतको नाम चर्चामा छ ।

सभापति देउवा भने कांग्रेसबाट उपप्रधानमन्त्री पठाउने–नपठाउने अन्योलमा छन् । देउवा निकट स्रोतका अनुसार कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच उपप्रधानमन्त्री नराख्ने विषयमा छलफल भएको छ ।

‘सभापतिजी उपप्रधानमन्त्री नरोक्ने कि भन्नेमा हुनुहुन्छ जस्तो छ । पार्टीबाट नेतृत्व गरेर सरकार जान इच्छुक शीर्ष नेताहरूको दबाब थेग्न सक्नु भयो भने यो पटक कांग्रेसबाट उपप्रधानमन्त्री नपठाउने सम्भावना छ,’ स्रोतले भन्यो, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीजी पनि आफ्नो पार्टीबाट समेत उपप्रधानमन्त्री नपाउने पक्षमा हुनुहुन्छ रे ।’

त्यतिबेला नै देउवाले अर्को पटक सरकारमा पार्टीको नेतृत्व गर्ने गरी उपप्रधानमन्त्रीसहित पठाउने बचन सिंहलाई दिएका थिए ।

यद्यपि कांग्रेसबाट उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्दा सिंहको सम्भावना उच्च छ । पार्टीको १४ औँ महाधिवेशनमा सिंहको समर्थनको बलमा देउवा दोस्रो चरणमा सहजै सभापतिमा दोहोरिएका थिए ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पनि सिंह कांग्रेसबाट नेतृत्व गरेर सरकार सहभागी हुन चाहेका थिए । पुस १० मा भत्किएको कांग्रेस–माओवादीसहितको गठबन्धन बिउँताउन भगीरथ प्रयत्न गरेका उपसभापति पूर्णबहादुर खड्काले प्रचण्ड सरकारमा कांग्रेसबाट नेतृत्व गर्ने मौका पाए । प्रचण्डले नै खड्कालाई पठाइदिन आग्रह गरेपछि सिंह रोकिएका थिए ।

त्यतिबेला नै देउवाले अर्को पटक सरकारमा पार्टीको नेतृत्व गर्ने गरी उपप्रधानमन्त्रीसहित पठाउने बचन सिंहलाई दिएका थिए । २०७९ को आम चुनावमा काठमाडौँ–१ मा राप्रपाका रवीन्द्र मिश्रसँग झिनो मतले विजयी भएपछि एमाले अध्यक्ष ओलीलाई भेटेर सिंहले धन्यवाद दिएका थिए ।

ओलीलाई धन्यवाद दिन उनी बालकोट पुगेका थिए । त्यतिबेला कांग्रेससँगको सत्ता सहकार्यका लागि ओली तयार रहेको सन्देश सिंहले देउवालाई सुनाएका थिए । आम निर्वाचनपछि कांग्रेस र एमालेबिच सत्ता सहकार्यको प्रयास भए पनि विफल भएको थियो । सिंहलाई मन्त्री बनाउन देउवा सकारात्मक भए पनि उनको स्वास्थ्य अवस्थामा पूर्ण रूपमा सुधार आइसकेको छैन ।

१४ औँ महाधिवेशनमा देउवासँग बिग्रिएको सम्बन्धलाई निधिले सुमधुर बनाउँदै लगेको पाइन्छ ।

आम निर्वाचनपछि एमाले–कांग्रेसलाई एक ठाउँमा उभ्याउन प्रयास गरेका निधि पनि अहिले कांग्रेसबाट नेतृत्व गरेर ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुन इच्छुक छन् । देउवालाई प्रधानमन्त्री बनाउने उद्देश्यले २०७९ पुस ९ मा ओली निवास बालकोट पुगेर निधिले सबै प्रयास गरेका थिए ।

कांग्रेस र एमालेबिच विश्वासको वातावरण नबन्दा पुस १० मा ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाएका थिए । १४ औँ महाधिवेशनमा देउवा समूहबाटै विद्रोह गरेर सभापति लडेका निधि दोस्रो चरणमा देउवालाई समर्थन गर्न पुगेका थिए । १४ औँ महाधिवेशनमा देउवासँग बिग्रिएको सम्बन्धलाई निधिले सुमधुर बनाउँदै लगेको पाइन्छ ।

यस्तै कांग्रेसबाट सरकारमा नेतृत्व गर्ने चर्चामा रहेका अर्का पात्र सिटौला हुन् । कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतासमेत रहेका सिटौला पनि देउवाको विश्वास पात्र मानिन्छन् । राष्ट्रियसभा अध्यक्ष बन्ने सपना बुनेर गत माघमा राष्ट्रियसभा सदस्य बनेका सिटौलालाई मन्त्री बनाउन ओली इच्छुक नहुन सक्ने चर्चा छ । गत आम चुनावमा झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित सिटौलामाथि संसद्को यही कार्यकालमा मन्त्री बन्न नैतिक प्रश्न खडा हुने देखिन्छ । २०७४ मा आफ्नो नेतृत्वमा बनेको सरकारमा आम चुनावमा पराजित बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभा सदस्य रहेको अवस्थमासमेत मन्त्री बनाउन ओलीले अनिच्छा देखाएका थिए ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आफू पराजित भएको प्रतिनिधि सभाको कार्यकाल सकिएपछि मात्र २०७९ मा मन्त्री बनेका थिए । कानुनका ज्ञाताहरू संविधानअनुसार प्रतिनिधि सभा चुनावमा हारेका व्यक्ति सोही कार्यकालमा मन्त्री बन्नु नैतिक नहुने बताउँछन् । यद्यपि राष्ट्रियसभा सदस्यमा निर्वाचित भइसकेपछि मन्त्री बन्न संविधानले नरोक्ने संवैधानिक कानुनका ज्ञाता चन्द्रकान्त ज्ञवालीले बताए । संविधानको धारा ७८ को उपधारा १ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने व्यवस्था छ ।

सिटौला मन्त्री बन्न संविधान बाधक नभए पनि ओलीसँग उनको सम्बन्ध भने सुखद छैन ।

त्यसैगरी उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका व्यक्ति सोही प्रतिनिधिसभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भनी संविधानमा उल्लेख छ ।

सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएर संघीय संसद्को सदस्य भइसकेकाले मन्त्री बन्ने कुरामा संविधान बाधक नहुने ज्ञवालीको भनाइ छ । यस्तै वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले पनि राष्ट्रिय सभा सदस्य भइसकेपछि मन्त्री बन्न कुनै समस्या नरहेको बताए ।

सिटौला मन्त्री बन्न संविधान बाधक नभए पनि ओलीसँग उनको सम्बन्ध भने सुखद छैन । ओलीले २०७४ र ०७९ मा राप्रपा अध्यक्ष लिङ्देनलाई साथ दिँदा सिटौलाको सांसद यात्रामा ब्रेक लागेको थियो । कांग्रेसमा भने ओलीसँग रणनीतिक रूपमा ट्याकल गर्न सिटौला उपयुक्त पात्र भएको विश्लेषण भइरहेको छ ।

यस्तै ओली नेतृत्वमा बन्ने सरकारमा कांग्रेसले १० मन्त्री पाउने नेताहरू बताउँछन् । मन्त्रीका लागि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको नाम सर्वाधिक चर्चामा छ । कांग्रेस–एमाले सहकार्यका सूत्रधार मानिएका लेखकलाई मन्त्री बनाउन देउवा र ओलीकै चाहना रहेको बताइन्छ ।

संविधान संशोधनको मूल एजेन्डा बनाएर कांग्रेस र एमालेबिच भएको गठबन्धन सरकारमा लेखक मन्त्रीमा नछुट्ने देउवा निकट स्रोतले रातोपाटीलाई बतायो । ‘कांग्रेस र एमालेमा रमेश लेखकजी जत्तिको संविधानको ज्ञाता अर्को पात्र छैन । कांग्रेस र एमालेबिच सहमति हुँदाको मस्यौदाकार पनि उहाँ नै हो । संविधान संशोधनको विषयमा सरकारमा गृहकार्य गर्न पनि उहाँलाई मन्त्री बनाउने पक्काजस्तै छ,’ स्रोतले भन्यो ।

लेखकले गृह मन्त्रालय ताकेको बुझिएको छ । यस्तै कांग्रेसबाट देउवा पत्नी डा. आरजु राणा देउवा पनि मन्त्री बन्ने सम्भावना उच्च छ । उनले परराष्ट्रमन्त्रीमा इच्छा व्यक्त गरेको नेताहरू बताउँछन् ।

यसअघि प्रचण्ड सरकारमा कांग्रेस सामेल हुँदा आफूले परराष्ट्रमन्त्रीका लागि देउवासँग आग्रह गरे पनि नपठाएको उनको गुनासो थियो ।

कांग्रेसमा देउवा समूहबाट लेखक, राणाका साथै विनोद चौधरी, उदयशम्शेर राणा, किशोरसिंह राठोर, अजय चौरसिया, वीरबहादुर बलायर, श्याम घिमिरे लगायत मन्त्रीको दौडमा छन् ।

कांग्रेसको शेखर कोइराला समूहबाट सांसद चन्द्र भण्डारी, बद्री पाण्डे, जीवन परियार, रामनाथ अधिकारी, तेजुलाल चौधरी, सञ्जय गौतम लगायत मन्त्रीको लबिङमा छन् । महामन्त्री गगन थापाले सांसद प्रदीप पौडेल, प्रतिमा गौतम लगायतलाई मन्त्री बनाउन जोडबल गरिराखेका छन् ।

पूर्वमहामन्त्री शशांक कोइरालाले दीपक गिरी र दीपक खड्कामध्ये एक जनालाई मन्त्री बनाउन लबिङ गरेको पाइन्छ । प्रकाशमान सिंहले आफू मन्त्री नबन्ने परिस्थितिमा राजन केसीलाई अगाडि सार्ने सम्भावना छ । अघिल्लो सरकारमा सहभागी उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङको मन्त्रीमा सम्भावना छैन भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि मन्त्रीको लाइनमा नरहेको बुझिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप