आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
निबन्ध

आग्लो नलगाउँदा

शनिबार, २२ असार २०८१, १७ : ५४
शनिबार, २२ असार २०८१

समयलाई अनुकूल बनाएर मात्र कहाँ हुँदोरहेछ र ? सोचिएका एक तर बन्छन् अनेक । आफु ताक्छु मुढो बन्चरो ताक्छ घुँडो भनेजस्तै भएको छ । मन हो, बाँध्न सकिँदैन । कहिलेकाहीँ फुस्किएका बेला अलिअलि नभड्किएला भन्न पनि सकिन्न । सधैँ आँखामा बिर्को लगाउने कुरो पनि भएन । यो आँखा र मनको फास्ट कन्ट्याक्ट देखेर अचम्म लाग्छ मलाई । नचाहेको कुरो होस् भन्ने चाहना होइन मेरो । आफ्नो सङ्कल्पलाई त्यत्तिकै छाडिहाल्ने मान्छे पनि होइन म । भोलिको अनुमानित भावनाको बिस्कुन सुकाउन नसके पनि हिलोको खेतमा सिला खोज्न गाह्रो मान्दिनँ म । सिला खोज्नुको अर्थ धेरैको अपेक्षा नगर्नु नै हो ।

मलाई थाहा छैन, म सदा सत्यको बाटोमा हिँड्छु कि हिँड्दिनँ । मान्छे हो, सधैँ एक्लै हुने कुरो होइन । समय र परिस्थितिले आफ्नो पाइताला अरुका तिर मोडिन पनि नसक्ला भन्न सकिन्न । बिर्सेर कहिले सपनामा जस्तो असत्को बाटो नहिँंडिएला भन्न पनि सकिन्न । सम्भावना जतासुकै हुन्छन् । यही कारण भनेको हुँ, सम्भावनाको मुहान बन्द गर्न सकिँदैन । सामथ्र्यको कुरो पनि होइन यो कसैको ।

द्वन्द्व हो यो मभित्रको । मन्दिरको सुगन्धित वातावरणमा सत्य र निष्ठाप्रतिको प्रतिबद्धताको चन्दन लगाउन चाहने म । आधुनिकताको चम्किलो आडम्बरले विचलित गराउने धुनका तारहरूमा नतरिङ्गिने पनि कुरो हो यो ।

मलाई आफ्नै पसिनाको खेतले पर्याप्त सन्तुष्टि दिलाएको छ र पनि अर्काको फाँटमा फस्टाएको बालीमा आँखा लुकाउन सकेको छैन । राम्रो कुरो जे भए पनि त्यसको आस्वादन आँखाले गर्नु अनुचित हैन । राम्रो हेर्नकै लागि त हुन्छन् नि । बरु नहेर्नुचाहिँ राम्रोप्रतिको अपमान हो । त्यसैले त हो नि दृष्टिपानको विरुद्ध अदालतमा आजसम्म वकालत नभएको  ।

धर्मनीतिले पनि त्यही भन्छ । राम्रोलाई नराम्रो भन्नु सत्यको अदालतमा हार स्वीकार गर्नु हो । सुन्दरताको परिभाषा सुन्दर नै हो । परिभाषामा सङ्कुचित बन्नु सौन्दर्यको अपमान हो र हो अधिकार हनन पनि । गहिरिएर भन्ने हो भने अरु–अरु पनि पक्कै होलान् ।

नचाहेको कुरो होस् भन्ने चाहना होइन मेरो । आफ्नो सङ्कल्पलाई त्यत्तिकै छाडिहाल्ने मान्छे पनि होइन म । भोलिको अनुमानित भावनाको बिस्कुन सुकाउन नसके पनि हिलोको खेतमा सिला खोज्न गाह्रो मान्दिनँ म ।

म सत्य बोल्न कञ्जुस्याइँ गर्दिनँ । यथार्थ सर्वदा सुखदायी नै हुन्छ भन्ने लोकोक्ति भए पनि पृथक्ताको गर्भ बढ्न थालेको महसुस छ ममा । सत्यको पक्षधर बनेकामा स्वादिलो पीडाले अङ्कमाल गर्न थालेको छ मलाई ।

दुई दशकअघिको कुरा हो यो । वर्षौंदेखि म आफ्नो अभीष्टमा तपस्यारत थिएँ । मूर्तिवत् आफ्नो कामनार्थ स्थिर थिएँ । भत्काएर मलाई खण्डित तुल्याउने रम्भा र मेनकाहरू नृत्यरत सलबलाइरहेजस्तो लाग्थ्यो । कसैको दृढतालाई बिथोल्नु वा कसैले गरेको महान् प्रतीक्षामा भूकम्प पैदा गर्नु उनीहरूको कर्म पनि र धर्म पनि हुनसक्थे होलान्, तर सतर्कता मेरो धर्म नै हो । चेतनाका पहरेदारहरूको जहीँतहीँ पोस्ट खडा गरिसकेको थिएँ । विचलनका कुनै पनि क्षण ममा निर्माण हुन सक्दैन भन्ने मेरो दृढता थियो ।

उनीहरूले आँखामा काम भर्छन्, छमछम नाच्छन् तर कहिले थाक्दैनन् र हार्दैनन् पनि । उनीहरूको वैशिष्ट्यता नै हो यो । आफुले अर्जुनदृष्टि लगाएर छेडेका प्रयत्नका लागि बाध्य बनाउन आवश्यकताअनुरूप परिवर्तित हुन सक्छन् । त्यतिबेला प्रतिज्ञा काम्न सक्छ र कमजोर बन्न सक्छ भन्ने मेरो बलियो मत छ । भएर पनि जसको कुनै औषधी छैन र बने पनि लाग्न सक्दैन भन्ने लाग्छ मलाई । आत्मसमर्पण सबैभन्दा सुन्दर विकल्प बन्न सक्छ भन्ने पनि लाग्छ मलाई ।

मभित्र त्यस्तैत्यस्तै अनुभूतिको सञ्चार केन्द्र स्थापना हुन थालेकोे थियो । आफुलाई राम्ररी आग्लो लगाएर बन्द गर्न सक्ने स्थिति पनि थिएन मेरो । बाजले परेवा गाँजेजस्तै भएको थियो । यातनाबाट परेवालाई पीडा प्रदर्शन गराएर आनन्दको अकासेखेतीको नमिठो स्वादमा लिप्त भएजस्तो मुसुक्क थिएँ म । मुस्कुराएको मुस्कानमा कैद गरेको स्नेह रोक्न नसकेजस्तो भएको थिएँ म । आँखाको नानीमा सुटुक्क ल्याप्चे गर्दा सडक बनाएर कुल्चन सकिनँ मैले । आस्थाको सगरमाथा बनिदिँदा आरोहणको झन्डा फरफराउन सकिनँ मैले । रहरका अनुनयमा लमतन्न पारिदिँदा छातीमा ताण्डवनृत्यको ताल बन्न सकिनँ म । कमजोरी हुन् कि उदारता हुन् यी मेरा ? अलमलमा छु म अहिलेसम्म ।

आकाश बनाएर मेरो छातीमै किन बादल बनाएर मडारिने मोह राखेका होलान् ? फूलको मञ्चमा हाँसेर आफ्नो मुस्कानको सुगन्धित जुलुसमा किन सामेल गराउन खोजेका होलान् ? कल्पनामा इच्छाको बाली किन छरिरहन्छन् मैमाथि ? असल उब्जाउ, बजार र सम्पन्नताको सपनामा नरमेको भए हुन्थ्यो नि मैमाथि ।

सपनालाई अन्त्यभन्दा शुभारम्भ ठानेर अप्राप्यतामा मायाको बगैँचा बनाउँदा पनि कहिले थकाइ मार्नु नपरेको मान्छे म । कुवामा देखिएको कुनै समयको प्रतिविम्बमाथि किन यतिसाह्रो विश्वस्त बनेर पछि लाग्या होला बेकारमा । यो पनि प्रश्न छ आफैँमाथि आजसम्मकै ।

तथ्य सबै सामु भए पनि प्रत्यक्षतः भइएन कहिल्यै । अदालतमा वकिलले झैँ प्रतिवाद पनि गरिएन कहिल्यै, तर कहिलेकाहीँ कृत्रिम समुद्रमा मेरा दुइटा आँखा खसेर तरङ्ग बन्थे । त्यही तरङ्गलाई मेरो भाका स्विकार गर्दै तिहारको जस्तै उज्यालो बन्ने उत्कण्ठा उनीहरूका । कहिले मनको एक धड्कन चुहिन्थ्यो मेरो । त्यसैमा अँगालेर स्नेहको संसद् सिर्जना गर्ने अभिलाषा उनीहरूका । सपनामा गुन्जेको ओठको एक ध्वनिलाई स्वादिलो सङ्गीत ठानेर गाउने इच्छा उनीहरूका ।

प्रश्न हुन सक्छ यस्तो अपहत्तेमा— कस्तो आशक्तता यो मायाको ? उमेरको भुकभुकेमा रमेका हुन् कि दुर्लभ मायाको अतृप्ततामा सङ्घार टेक्न आएका हुन् ?

भएर पनि अरुको आँखा बनेर कहिले हेर्न सकिनँ मैले । मन भएर कहिले ढुकढुकिन सकिनँ मैले । खुसीमा ओठ बन्न र दुःखमा आँखा बन्न कहिले मानेनन् मेरा मनहरूले । तर पनि मेरो दूर सौहार्दतामा निथ्रुक्कै भिजेर हात थाप्ने उनीहरू, मायाको फूल रोपेर गर्भधारण गर्ने उनीहरू, ऋषिमुनिझैँ नदीमा पवित्र भएर बालुवाको आराधना गर्ने उनीहरू । अन्यान्यको सुखको अधिग्रहण गरेर अनुमानित आफ्नो भोको कोखलाई आनन्दले थपथपाउने उनीहरू । रनभुल्लको आगोमा सेकाएर तापिरहने उनीहरू ।

प्रश्न हुन सक्छ यस्तो अपहत्तेमा— कस्तो आशक्तता यो मायाको ? उमेरको भुकभुकेमा रमेका हुन् कि दुर्लभ मायाको अतृप्ततामा सङ्घार टेक्न आएका हुन् ? ताजमहलझैँ प्रेम प्रतीकका नाममा शोषणको नमुना बनाउन खोजेका हुन् कि दाइजोको डाहमा आत्मदाह गर्ने गरिब आमाको उद्धार गर्न खोजेका हुन् ?

नसकेर केही गर्न अपहरित रूपले केही घडी टाढिन पनि भएन सम्भव । कताकतै नजानेरै केही अणु ओथारा बसेछन् सायद । लघु क्षणावधिमा पनि म बन्ने रहर जाग्नु जागेछ उनीहरूभित्र । सहस्र प्रस्ताव स्वीकार गर्ने बाचा बाँधेर आफ्नो आयु समाहित गर्न गौरव गर्छन् उनीहरू ।

आँखाको दहमा चुर्लुम्म डुबाएर आँसुले मेरो चित्र कोरेका बेला सहानुभूतिको डोरीले तनतनी बाँधिन्थेँ म । जब म आफूलाई चाहेर पनि फर्काउन सक्दिनँथेँ तब प्रणयको भीक्षा मागेका उनीहरूका आवाज गुनगुनिन्थे निरन्तर – ‘सपनामा भए पनि सधैँ मेरो ओठमा सुसेली बजाउन आउनुस् न है ।’

प्रतिबद्धताको मेरो ढोका एकैपटक गल्र्याम्म उघ्रेपछि कठोर बनेर भनिदिन्थेँ, ‘असम्भव ।’

सम्भावनाको समापनपछि जति मच्चिए पनि त्यसको कुनै अर्थ र मूल्य हुँदैन । नबोलेर केहीबेर आँखा लुकाएर ओभानो बनाउँथे र कोलाहल भाग्यमा ग्रहण लागेको ठान्दै सराप्नु सराप्दथ्यो आफुले आफैँलाई । चाहनाको शिविर भत्किएको आभास गर्दै साँघुरो ठान्छन् आफ्नो भाग्यलाई । फेरि पनि केही सम्झाउँथेँ म, केही सम्झेजस्तै गर्थे उनीहरू ।

कहिलेकाहीँ भने म आफैँ सम्झिन सक्दिनँथेँ । अलिअलि हराएको जस्तो, अलिअलि गुमाएको जस्तो लागिरहन्थ्यो कताकति भित्रभित्र । अनुभूतिका भाकाहरूले पछ्याउन छोडिसकेको हुन्थिनँ म । चाहेजस्तोले पनि नहुने र नपाएको जस्तोले पनि नहुने । सायद यो भनेकै यस्तो पो हो कि ?

मनमा अन्तर्कलह बढ्न थाल्छ । शान्ति खोज्छु र सबैका सामुबाट अप्रत्यक्ष तवरले गतिलो ओढारमा स्थानान्तर हुन्छु । स्वादहीनको मन बन्न खोज्छु । ढुकढुकीमा कुनै रङ नभरेर कसैसँग पनि इन्द्रेणी बन्ने मोह राखेको थिइनँ मैले ।

त्यसैले त होला नि, उज्यालो आकाश खोजेर कुनै अप्सराहरू श्रीखण्डको मल्हम दलेर मसँग प्रवेशद्वार ढकढकाउन आउन छोडेका थिए । यो गुप्तवासलाई ठुलो उपलब्धि ठानेको थिएँ मैले । तर सम्झना भित्रिन कहाँ बन्द गर्ने झ्याल ढोका चाहिँदोरहेछ र ? सम्झनालाई बन्द गर्ने कुनै झ्यालखाना पनि हुँदो रहेनछ । कुनै ठाउँ गोप्य हुँदोरहेनछ ।

अहिले पनि कहिलेकाहीँ मनले मात्र सुन्ने गरी मधुरो स्वर गुनगुनाएजस्तो लाग्छ – ‘यो जुनी त खेर गयो–गयो, अर्को जन्म हुन्छ भने सार्थक हुन सकोस् है साथ पाएर । म एक्लो हुन सक्छु तर कसैको हुन सक्दिनँ । सक्नुहुन्छ भने दया गरेर मर्नुअघि अलिकति माया गरेर जानुस् है । धन्य भएर मर्न पाउँछु म ।’

होस् अब, जे भए पनि नेटो काटिसकेपछिका सबैलाई सपना बनाउनुपर्छ । आँखा र मनमा गजवार लगाइदिनुपर्छ ।

ओहो ! मानिस किन आफ्नो इच्छाका लागि यति धेरै स्वार्थी बन्छन् । हुन त, यो स्वार्थ पनि हो कि हैन ? हो भने पनि मेरो कि अरुको ? खोई र आजसम्म स्वार्थको निष्पक्ष परिभाषा हुन सकेको ?

सान्निध्यको सपना पढेर समर्पणको आरती उतार्नुु, हो केही महान् कुरा र होइन सामान्य पनि । मौकामा हीरा नफुटाउनु र बेमौकामा कौडी फुटाउनुजस्तै । सांसारिक जीवनपछिका अदृश्य यात्राहरूमा रमाउनु वा पिरिनुको कुनै अर्थ हुँदैन । यो आफैँले आफैँलाई कैद गरेकोभन्दा पनि अन्धकार हुन्छ होला । अहिले जानिने तथ्य पनि हैन यो । समाधानको गोरेटोसम्म नभएको समस्याको ठाउँमा आजसम्म कोही पुग्न नसकेको कहाँ होला र ?

होस् अब, जे भए पनि नेटो काटिसकेपछिका सबैलाई सपना बनाउनुपर्छ । आँखा र मनमा गजवार लगाइदिनुपर्छ । अन्यथा हिजोका प्रत्येक क्षणका पृष्ठलाई पल्टाएर वाचन गरिरहने हो भने वर्तमान र भविष्यमाथि पनि बृहत्तर अन्याय हुनेछ ।

अन्याय भनेको देखेको, सुनेको र भोगेको कसैका लागि पनि मीठो हुँदैन । आफ्नो निमित्त आफैँले भय उत्पादन गर्नु सबैभन्दा ठुलो पाप हो भन्ने भागवत् गीतालाई विरोध नगरी स्वीकार गर्न तयार छु म । ‘आज’ आँगनको सर्वोत्तम दिन र ‘अहिले’ राम्रो कामका लागि सबैभन्दा उपयुक्त समय भनेको पनि शिरमा राखेको छु मैले ।

हिजोसँग लडेर वा लडाएर आजको महत्त्वपूर्ण समय बर्बाद होस् भन्ने चाहन्नँ म । नगरेको अर्को ठुलो भुल गर्न चाहन्नँ म । भागवत् गीतामा भनिएको छ– ‘सबैभन्दा बुद्धिमान् मानिस त्यही हो जसले आफुले ठिक ठानेको काम गर्छ ।’ रामबाणजस्तो लाग्छ मलाई यो वाक्य । यति मात्र पढ्दा र सुन्दा पनि मभित्रको आत्मविश्वास बढेर एकैपल्ट सगरमाथा बन्न खोजेजस्तो लाग्छ । भरिएर कतै रित्तो नभएकोजस्तो लाग्छ ।

त्यसैले भन्न सक्छु निर्धक्कसँग— म जे छु ठिकै छु, जे गर्दै छु राम्रै गर्दै छु ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रीओम श्रेष्ठ ‘रोदन’
श्रीओम श्रेष्ठ ‘रोदन’
लेखकबाट थप