शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

सबै केन्द्रीय समिति सदस्य चयनपछि मात्रै पदाधिकारीको टुङ्गो लगाउने एकीकृत समाजवादीको निर्णय

शनिबार, २२ असार २०८१, १६ : ५१
शनिबार, २२ असार २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले २९९ केन्द्रीय सदस्य चयन भइसकेपछि मात्रै पदाधिकारी टुङ्गो लगाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको पार्टीका नेता जगन्नाथ खतिवडाले बताए । 

उनले बैठकले महाधिवेशनको सामान्यतया समीक्षा गरेको र महाधिवेशन भव्यतापूर्ण सम्पन्न भएको निष्कर्ष निकालेको जानकारी दिए । महाधिवेशनबाट पार्टीका नेता, कार्यकर्तामा ठुलो उत्साह पैदा भएको उनको भनाई थियो । 

उनले पार्टीलाई अघि बढाउन धेरै ठुलो ऊर्जा प्राप्त भएको निष्कर्ष रहेको जिकिर गरे । उनले बैठकले पदाधिकारी नयाँ चयन भई नसकेको अवस्थामा दैनिक काम व्यवस्थापन गर्न  पुरानै व्यक्तिलाई पुरानै जिम्मेवारी दिने निर्णय भएको बताए ।

उनले भने, ‘यो महाधिवेशनले अनेकौँ आशङ्का चिर्दै विद्रोहबाट निर्माण भएको पार्टीको सम्पूर्ण काम, गतिविधि, क्रियाकलाप र नीतिहरूको अनुमोदन गरेको छ । पार्टीलाई अघि बढाउन धेरै ठुलो ऊर्जा प्राप्त भएको निष्कर्ष रहेको छ । अहिलेको अन्तरिम अवस्थामा पदाधिकारी नयाँ चयन भई नसकेको तर हाम्रा पुराना पार्टीका दैनिक कामलाई पुरानो कमिटीले सञ्चालन गरिरहेको दैनिक काम पुनः सञ्चालन गर्नुपर्ने, यसका बैंक खाताहरू सञ्चालन गर्नुपर्ने, प्रत्येक दिनका दैनिक काम व्यवस्थापन गर्न आज भन्दा अगाडि जुन जुन जिम्मेवारी जसले जसले लिएका थियौँ त्यही त्यही जिम्मेवारी तिनै व्यक्तिलाई अन्तरिम अवस्थाको लागि त्यो अधिकार प्रयोग गर्न दिइएको छ । कमिटीलाई पूर्णता दिन थप छलफल गर्नुपर्ने भएकाले भोलि ११ बजे बैठक बस्नेछौँ । २९९ केन्द्रीय सदस्य चयन भइसकेपछि मात्रै पदाधिकारी टुङ्गो लगाउनेछौँ ।’

बैठकपछि बोल्दै पार्टीका नेता जीवनराम श्रेष्ठले अहिले बन्न लागेको सत्ता गठबन्धन दक्षिणपन्थी अवसरवादी चरित्रको रहेको बताउनु भयो । उहाँले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै समर्थन र विश्वासको मत दिने बताए । उनले भने, ‘सरकारको विषयमा हामीले भनेका छौँ । अहिलेको जुन गठबन्धन भएको छ, अपर्झट जसरी बनेको छ, यो दुई वटा फरक फरक सिद्धान्त बोकेका फरक फरक मान्यता बोकेका दलहरू जुन मिलेका छन्, यसले एउटा चरम अवसरवादको जुन खालको स्थिति देखिएको छ, त्यसो भएको हुनाले हामी अहिले यसका सबै कुरालाई नजिकबाट नियालिरहेका छौँ । अहिलेको वर्तमान सरकारमा नै छौँ । यसलाई विधिसम्मत ढंगबाट प्रधानमन्त्रीले विश्वासको मत लिने भन्नु भएको छ, त्यसमा सहभागी हुन्छौँ । दक्षिणपन्थी अवसरवादी चरित्र यसमा देखियो ।’

केन्द्रीय समितिको बैठक आइतबार पुनः बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप