शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
युरोकप फुटबलको अन्तिम क्वार्टरफाइनल

सेमिफाइनलमा पुग्ने अन्तिम टोली बन्ने होडमा ‘अरेन्जी’ र टर्की

शनिबार, २२ असार २०८१, १६ : २३
शनिबार, २२ असार २०८१

(विश्व फुटबल महासंघद्वारा जारी पछिल्लो वरीयतामा नेदरल्यान्ड्स सातौँ र टर्की ४२औँ स्थानमा छन् । युरोकपमा नेदरल्यान्ड्सको यो ११औँ सहभागिता हो भने टर्कीको छैटौँ । नेदरल्यान्ड्सले एकपटक युरोकप जितेको छ भने टर्की फाइनलमा पनि पुग्न सकेको छैन । छनोट प्रतियोगितामा टर्की समूह विजेता बनेको थियो भने नेदरल्यान्ड्स उप–विजेता । यी दुई टोलीबिच हालसम्म १४ खेल खेलिएको छ । नेदरल्यान्ड्सले ६ र टर्कीले चार खेल जितेका छन् ।)

  • आइतबारको खेल 
  • नेदरल्यान्ड्सविरुद्ध टर्की (विहान ००ः४५ बजे) 

काठमाडौँ । युरोकप फुटबलको १७औँ संस्करणमा आइतबार चौथो तथा अन्तिम क्वार्टरफाइनल खेल खेलिँदैछ । अन्तिम क्वार्टरफाइनल खेलमा टर्कीले बलियो नेदरल्यान्ड्सको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बिहान ००ः४५ बजे सुरु हुनेछ । 

जारी युरोकपको प्रारम्भिक चरणमा टर्की समूह ‘एफ’ मा परेको थियो । टर्की आफ्नो समूहको उप–विजेता बन्दै प्रि–क्वार्टरफाइनलमा पुगेको हो । टर्कीले समूहगत चरणमा आफूले खेलेको तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । 

टर्कीले आफ्नो पहिलो खेलमा जर्जियालाई ३–१ गोलले हराएको थियो । दोस्रो खेलमा टर्कीको टोली बलियो प्रतिद्वन्द्वी पोर्चुगलसँग ०–३ गोलले पराजित भएको थियो । आफ्नो अन्तिम खेलमा टर्कीले चेक गणतन्त्रलाई २–१ गोलले हराएको थियो ।

2024-07-02T190533Z_741784550_UP1EK721H175K_RTRMADP_3_SOCCER-EURO-AUT-TUR-REPORT-1719947285

समूहगत चरणमा टर्कीले पाँच गोल गरेको थियो भने पाँच गोल खाएको थियो । प्रतियोगिताको प्रि–क्वार्टरफाइनल खेलमा भने टर्कीले अस्ट्रियामाथि २–१ गोलको प्रतिस्पर्धात्मक जित हात पारेको थियो । यो तथ्याङ्कका आधारमा जारी युरोकपमा टर्कीको प्रदर्शन उत्कृष्ट देखिएको छ ।

अर्कोतिर, नेदरल्यान्ड्स प्रारम्भिक चरणमा समूह ‘डी’ मा परेको थियो । नेदरल्यान्ड्स आफ्नो समूहमा तेस्रो भएको थियो । त्यसपछि नेदरल्यान्ड्स तेस्रो हुने उत्कृष्ट चार टोलीभित्र पर्दै नकआउट चरणमा प्रवेश गरेको थियो ।

नेदरल्यान्ड्सले समूहगत चरणमा तीनमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो । डच टोलीले आफ्नो पहिलो खेलमा पोल्यान्डलाई २–१ गोलले हराएको थियो । आफ्नो दोस्रो खेलमा ‘अरेन्जी’ टोली बलियो फ्रान्ससँग गोलरहित बराबरीमा रोकिएको थियो ।

c-gettyimages-2160296875

तेस्रो खेलमा भने नेदरल्यान्ड्सको टोलीलाई अस्ट्रियाले २–३ गोलले पाखा लगाएको थियो । डच टोलीले समूहगत चरणमा चार गोल गरेको थियो भने चार गोल खाएको थियो । नेदरल्यान्ड्सले अन्तिम १६ टोलीबिचको भिडन्तमा भने रोमानियालाई ३–० गोलले हराएको थियो । 

विश्व फुटबल महासंघद्वारा जारी पछिल्लो वरीयतामा नेदरल्यान्ड्स सातौँ र टर्की ४२औँ स्थानमा छन् । यो वरीयताले पछिल्लो समय टर्कीको तुलनामा नेदरल्यान्ड्सको प्रदर्शनलाई उत्कृष्ट देखाउँछ । युरोकपमा सहभागिताको इतिहासले पनि टर्कीभन्दा डच टोलीलाई नै बलियो देखाउँछ ।

युरोकपमा नेदरल्यान्ड्सको यो ११औँ सहभागिता हो । नेदरल्यान्ड्सले सन् १९७६ मा पहिलोपटक युरोकप खेलेको थियो । युरोकपमा नेदरल्यान्ड्सको प्रदर्शन अब्बल रहँदै आएको छ । तर, नेदरल्यान्ड्स ठुला अन्तर्राष्ट्रिय प्रतियोगिता सधैँ अन्तिम समयमा आएर चुक्ने गरेको छ । 

युरोकपमा पनि नेदरल्यान्ड्सले हालसम्म एकपटक मात्र उपाधि जित्न सकेको छ । सन् १९८८ मा नेदरल्यान्ड्सले युरोकपको उपाधि जितेको थियो । त्यतिबेला नेदरल्यान्ड्सले फाइनलमा तत्कालीन सोभियत संघलाई २–० गोलले हराएको थियो ।

1700348401042_ae2ead23-8688-450b-adf0-4bf9ada8aa7c

त्यसका अतिरिक्त नेदरल्यान्ड्स कहिल्यै युरोकपको फाइनलमा पुग्न सकेको छैन । विश्वकप फुटबलमा त नेदरल्यान्ड्सको अवस्था योभन्दा पनि दयनीय देखिन्छ । तीनपटक फाइनलसम्म पुगेर पनि नेदरल्यान्ड्सले हालसम्म विश्वकपको उपाधि चुम्न सकेको छैन । नेदरल्यान्ड्सको टोली सन् १९७४, सन् १९७८ र सन् २०१० मा विश्वकपको फाइनलमा पराजित भएको थियो । 

टर्कीको भने युरोकपमा यो छैटौँ सहभागिता हो । टर्कीले सन् १९९६ मा पहिलो पटक युरोकपमा सहभागिता जनाएको थियो । टर्कीले हालसम्म युरोकपको उपाधि चुम्न सकेको छैन । तर, टर्की सन् २००८ मा भने युरोकपको सेमिफाइनलसम्म पुगेको थियो । 

X73TEE2KF5MLJJLCN3ENXYVAAE

जारी विश्वकपको छनोट प्रतियोगितामा पनि नेदरल्यान्ड्स र टर्कीको प्रदर्शन उत्कृष्ट रहेको थियो । नेदरल्यान्ड्स आफ्नो समूहको उप–विजेता बनेको थियो । नेदरल्यान्ड्सले छनोट प्रतियोगितामा खेलेका आठमध्ये ६ खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको थियो । नेदरल्यान्ड्सले विपक्षीको पोस्टमा १७ गोल गरेको थियो भने सात गोल खाएको थियो ।

यसैगरी छनोट प्रतियोगितामा टर्की आफ्नो समूहको विजेता बनेको थियो । टर्कीले आफूले खेलेको आठमध्ये पाँच खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो । टर्कीले विपक्षीको पोस्टमा १४ गोल गरेको थियो भने सात गोल खाएको थियो ।

अन्तर्राष्ट्रिय फुटबलमा नेदरल्यान्ड्स र टर्कीबिच हालसम्म कुल १४ खेल खेलिएको छ । यो तथ्याङ्कमा पनि डच टोली बलियो देखिन्छ । नेदरल्यान्ड्सले ६ खेलमा टर्कीलाई हराएको छ । टर्कीले भने चार खेलमा नेदरल्यान्ड्सलाई हराएको छ । यी दुई टोलीबिचको चार खेल भने बराबरीमा सकिएको छ ।

नेदरल्यान्ड्स र टर्कीबिच पहिलो खेल सन् १९५८ को मे ४ तारिखमा खेलिएको थियो । त्यो खेलमा टर्कीले नेदरल्यान्ड्सलाई २–१ गोलले हराएको थियो । यी दुई टोलीबिच अन्तिम खेल सन् २०२१ को सेप्टेम्बर ७ मा खेलिएको थियो । त्यो खेलमा नेदरल्यान्ड्सले टर्कीलाई ६–१ गोलले हराएको थियो ।

जारी युरोकपमा रोनाल्ड कोएम्यान नेदरल्यान्ड्सका प्रमुख प्रशिक्षक हुन् । डच टोलीमा लिभरपुलका भर्जिल भान डाइक (कप्तान), ब्राइटनका बार्ट भब्र्रुगेन (गोलरक्षक), बायर्न म्युनिखका म्याथिज डि लिट, म्यानचेस्टर सिटीका नाथन अकेलगायतका खेलाडी छन् । यो युरोकपमा डच टोलीका लागि कोडी गाक्पोले तीन गोल गरिसकेका छन् । डोनिल मालेनले पनि दुई गोल गरेका छन् ।

यसैगरी जारी युरोकपमा टर्कीको प्रमुख प्रशिक्षक हुन्, भिनसेन्जो मोन्टेल्ला । टर्कीको वर्तमान टोलीमा बेसिकटसका मर्ट गुनोक (गोलरक्षक), इन्टर मिलानका हकान काल्हानोग्लु (कप्तान), रोमाका जेकी सेलिक, अल–आहलीका मेरिह डेमिरल, रियल म्याड्रिडका अर्दा गुलेर, युभेन्ट्सका केनन एल्डिज लगायतका खेलाडी छन् । यो युरोकपमा टर्कीका लागि मेरिह डेमिरलले दुई गोल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप