शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

यसरी नेपाल धनी बनाउन सकिन्छ

शुक्रबार, २१ वैशाख २०७५, ११ : २२
शुक्रबार, २१ वैशाख २०७५

दीपेन्द्र राई 

‘देश धनी भए ?,’ नेपाल उद्योग परिसंघ उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले दाबी गरे, ‘म स्वतः धनी हुन्छु ।’

व्यक्ति धनी हुँदा उसको प्रतिष्ठा हुँदैन । तर, सम्बन्धित देशका नागरिक प्रतिष्ठित हुन देश धनी हुनुपर्छ । 

‘अरब गएका नेपाली र मैले प्रयोग गर्ने राहदानी एउटै हो,’ नेपाल उद्योग परिसंघ उपाध्यक्ष अधिकारीले थपे, ‘हरियो राहदानी बोकेर अरब पुगेका नेपालीले ३५ हजार तलब पाउँछन् भने त्यही कामका लागि अन्य देशबाट अरब पुगेकाले ५० हजार पाउँछन् । नेपालको आर्थिक अवस्था कमजोर भएकाले नेपाली नजानिदोपाराले हेपिनुपरेको त हो ।’ 

त्यतिमात्रै होइन, गरिब देश भएकाले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, प्रधानन्यायाधीश र उद्यमीको इज्जत नभएको उनको ठम्याइ छ । भने, ‘इज्जत हुनलाई देश धनी हुनुपर्यो ।’ 

विभिन्न राजनीतिक दलसम्बद्ध नेताले नेपाललाई स्वीट्रजल्यान्ड बनाउँछौं भनेर भाषण नगरेका होइनन् । कसैले सिंगापुरजस्तो बनाउँछौं भन्छन् । उनले उदाहरण पेस गरे, ‘ली क्वानले कहिल्यै त्यसो भनेनन् । उनले सिंगापुरलाई सिंगापुरजस्तै तर आर्थिकसम्पन्न सिंगापुर बनाउँछु भनेका थिए ।’ 

भारत र चीनबीचमा रहेको नेपाललाई पनि नेपालजस्तै बनाउनुपर्छ । नेपालको मौलिकता हेरेर नेपाललाई धनी बनाउन सकिन्छ । 

तर, कसरी ? 

‘नेपालमा समावेशिता विकास आवश्यक छ,’ उनले जोड दिए, ‘हिमाल, पहाड र तराईसहितको नेपालमा विविधता छ । त्यसलाई हेरेर त्यहीअनुसारको विकासमा जोड दिन सके नेपाल धनी बनाउन समय लाग्दैन ।’ 

मुलुक धनी बनाउन सर्वप्रथम नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनुपर्छ । कृषि विकासलाई प्राथमिकता दिनुपर्छ । ‘विविधतासँग खेल्ने सक्ने विकास हुनुपर्छ,’ उनले सुनाए, ‘सात प्रदेशका मुख्य पाँच विशेषतालाई प्राथमिकतासाथ निर्धारण गरी त्यहीअनुसार लगानी गर्नुपर्छ । सरकारले नीतिगत रूपमै उत्पादन भइसकेकालाई भण्डारण र बजारीकरणलाई फेसिलेट गरिदिनुपर्छ । लगानी सुरक्षित गरिदिनुपर्छ ।’ 
कृषिबाट सबैभन्दा चाँडो रोजगारी दिन सकिन्छ । ‘हामी विशेषज्ञका कुरा गर्छाैं । यसको कुरा गरेर उकासिन सक्दैनौ । आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्राथमिकता दिनुपर्छ,’ उनको दाबी छ, ‘कस्तो खाना खाने, कस्तो स्वादको खाने ? नेपालीले कस्तो चीज मन पराउँछन् ? ती चीज निर्माण गर्न हामीलाई सहज हुन्छ । तर, कोरिया, अमेरिका, स्वीट्जरल्यान्डमा कस्तो खान्छन् भनेर निर्माण गरिने चीजभन्दा स्थानीय रूपमा उत्पादित चीजलाई आफ्नै स्वादको बनाउन हामीलाई सहज हुन्छ ।’ नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउनैपर्छ । 

खानी भन्नसाथ ढुंगा र गिटीलाई मात्रै सम्झेका छौं । नेपालमा ठुल्ठूला खानी छन् । सबैको उत्खननसम्म गर्न सकेका छैनौं । सुन, तामालगायत अन्य थुप्रै खानी छन् । त्यसलाई उत्खनन र सञ्चालन गर्नमात्रै सके नेपाल धनी बनाउन कत्ति समय लाग्दैन । 

नेपाललाई धनी बनाउने अर्को गतिलो स्रोत भनेको पर्यटन हो । हिमाल हेर्न र आरोहण गर्न आउने पर्यटक कम्ती छैनन् । रारा, फोक्सुन्डो र तिलिचोतालसम्म बाहै्र महिना पुग्न सकिँदैन । ती ठाउँमा ६ महिना जाडो र ६ महिना बर्खाको प्याकेज बनाएर बाह्रै महिना बेच्न सके लाखौं लाख पर्यटक नेपाल बोलाउन सकिन्छ । ‘काठमाडौंको फाइभ स्टारमा बसेका पर्यटकलाई गोकर्ण पुर्याएर गल्फ खेलाउनमात्रै हतारिन्छौं,’ उनले सुझाए, ‘रारा, फोक्सुन्डो, तिलिचोतालका पाटन र जिरीसम्म पुर्याएर गल्फ खेलाउने सकेमात्रै पर्यटन प्रवद्र्धन हुन्छ ।’ 

प्राकृतिक र धार्मिक पर्यटनको सम्भावना भएकाले त्यसलाई दृष्टिगत गर्दै पर्याप्त पूर्वाधार निर्माण गर्नुपर्छ । ‘लगानीका लागि विदेशी लगानीकर्ता आऊ भन्ने होइन, ल्याउने वातावरण बनाउनुपर्छ,’ उनको भनाइ छ, ‘लगानीकर्ता भित्र्याउने सरकार होइन निजी क्षेत्र हुन् । निजीलाई लगानीकर्ता भित्र्याउन प्रेरित गरे, उसले जोइन्ट भेन्चरका रूपमा लनागीकर्ता भित्र्याउँछन् ।’ 

‘अमेरिका र अस्ट्रेलियामा रहेका छोरालाई नेपाल बोलाएँ,’ उत्पादनमा आत्मनिर्भर, बेसाइ खाने मुलुकलाई गरिखाने मुलुकमा परिणत गर्ने ध्याउन्नमा लागेका उनले गर्व गरे, ‘छोराहरू नेपाल फर्के । उद्योग सञ्चालनमा सघाउँदै छन् । त्यही भएर नेपाल उद्योग संघको नेतृत्वमा रहेर काम गर्न मलाई सहज भएको हो ।’ 

‘आफ्नो देश आफैंले बनाउनुपर्छ,’ कृषि, भेटेरिनरी र प्लास्टिक उद्योगसँग सम्बद्ध नेपाल उद्योग परिसंघ उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले थपे, ‘पाँच वर्षमा नेपाल धनी त नहोला तर हुन्छ भन्ने सन्देश दिन सक्यौं भने नेपालका लागि लाख हुन्छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप