सीमा आभासका तीन कविता
१) बकपत्र
हाम्रा त कोही छोरी बलात्कृत भए
कोही मारिएपछि रित्तियो काख
हजुरले त मार्नु भो न्याय
रित्याउनु भयो न्यायधर्म ।
हाम्री छोरीको सुरुवाल च्यातिएपछि नै
न्यायालयको द्वारमा नाङ्गै देखिनुभएको हो हजुर ।
यिनै छोरीहरूको तस्बिर बोकेर हजुरलाई भेट्न आउँदा देख्यौँ
उनीहरू मारिँदा/बलात्कार हुँदा लाएका कपडाको शिरपोस बनाई पहिरिनुभएछ
उनीहरूका अङ्गअङ्गमा लागेका घाउको चित्र हजुरको सम्मानपत्रमा रहेछ
सम्मानपत्रको व्यहोरा उनीहरूकै रगत र आँसुले पो लेखिएको रहेछ
हेर्नुस् त/
हजुरले मुख पुछ्ने रुमालको बुट्टामा धुजाधुजा च्यातिएका सयौँ छोरीका टाङहरू ।
आँटै गरेर यति चैँ सोध्छौँ नै
पट्टी बाँधेर उचाल्ने न्यायको तराजु किन अपराधीतिर ढल्किएको ?
हजुरको कानुन अपराधीको पक्षमा र पीडितको विपक्षमा किन उभिएको ?
बारम्बार हजुरको शिर अपराधीको पाउमा किन निहुरिरहन्छ ?
हजुरको त्यो सभ्य लबजमा हाम्रा छोरीका चित्कार किन सुनिएका ?
छोरीहरूका आत्मसम्मानको चिहानमाथि उभिएर सोध्दै छौँ
भनिदिनुस् तपाईंका फैसलाको खुँडाले रेटिएका
हाम्रा छोरीप्रति माया चुहिरहने छातीका यी प्वाल कसरी टालौँ ?
छोरीहरूले जसरी पनि सोधिदिनु भनेका छन्
उनीहरूले कानुन बनाएका दिन पैताला कहाँ टेक्नुहुन्छ ?
हजुरको मुख केले छोप्नुहुन्छ ?
२) चिडियाखानाको सिंह
सिंह त सिंह नै हुन्छ चिडियाखानामा थुनिए पनि ।
फेर्न सकिँदैन उसका धमनी फुलाएर बग्ने खुन
थुन्न सकिँदैन उसका छातीसम्म पुगेर फर्कने श्वास
फुकाल्न सकिँदैन उसका तीखा दाह्राको अहं
बोधो पार्न सकिँदैन उसका पञ्जाको कौशलता
छेक्न सकिँदैन उसका तालुबाट फैलने दृढता ।
युगयुगदेखि भोको पारिए पनि यसले खाँदैन घाँस
हजार पहरेदारबीच फलामेबारले छेकिए पनि गर्दैन आत्मसमर्पण
सिंहले कदापि भुल्न सक्तैन आफ्नो धर्म ।
लाख साङ्लाले बाँधियोस्
सिंहले गर्भबाट सिंह नै जन्माउँछ ।
डमरुलाई दुध चुसाउँदा चुसाउँदै
मुखमा च्यापेर सिकाउँछ बलियो प्रेम
पञ्जाले च्यातेर सिकाउँछ सिकार खेल्न
थर्काउँदै गर्जिएर देखाउन सिकाउँछ आफ्नो दम्भ
त्यही साँघुरो घेरामा पनि सावधानपूर्वक सिकाउँछ
वायुवेगमा दौडिन ।
चिडियाखानासँग आक्रोशित हुँदै
उज्यालोे छातीलाई कोतरिरहेको
अँध्यारो मस्तिष्कलाई चिथोरिरहेको
यसलाई थाहा छ
एक समय
ब्युँझनै नसक्ने गरी घुर्नेछन्
चिडियाखानाका मालिक
पक्कै भत्किनेछ चिडियाखाना
र, बिस्तारै बाहिर निस्कनेछन् सिंहका बथान ।
यतिबेला देखिरहेछु
प्रत्येक मनभित्र थुनिएको एउटा आक्रोशित सिंह
यावत् घरका पर्खालभित्र बेचैन सिंहका बथान ।
३) चकलेट
एक्कासि मेरो निधारमा परेको छ एउटा प्वाल ।
यही प्वालबाट देखिरहेछु खेल्दै रमाइरहेका केटाकेटीहरू ।
खेल्दाखेल्दै उनीहरू आफ्नै पृथ्वी बनाउँछन्
त्यसैभित्र रच्छन् आफ्नो ब्रह्माण्ड
र, हातमा बोकी हिँड्छन् ।
देखिरहेछु
हातहातमा आ–आफ्ना पृथ्वी बोकेर
उफ्रिरहेका केटाकेटी ।
मन्दिरको ढोकाबाट पुजारीले
मस्जिदको ढोकाबाट मौलानाले
चर्चको ढोकाबाट पादरीले
गुम्बाको ढोकाबाट भन्तेले
यी उन्मुक्त केटाकेटीलाई
बोलाइरहेछन् चकलेट देखाएर ।
चकलेट पाएर खुसी हुँदै दौडिएका केटाकेटीको बाटो
एक्कासि छेकेर
एउटा माग्नेले माग्यो चकलेट ।
दाँतले टोकेर केटाकेटीले दिए आधाआधा ।
त्यो चकलेट
माग्नेको हातमा पर्नासाथ बम बन्यो ।
माग्ने आफ्नो हातको बम उज्याउँदै
खेद्न थाल्यो तिनै केटाकेटीलाई ।
भुँइमा खसालेर आफ्ना हातको पृथ्वी
चिच्याउँदै भागिरहेका छन् उनीहरू अनियन्त्रित गतिमा ।
भत्किँदो छ भुँइमा लडेर छटपटिरहेको उनीहरूको पृथ्वी
देखिरहेछु
भाग्दाभाग्दै हराएका ती केटाकेटीहरू
असिनाका दानाजसरी वर्षिरहेका छन्
पृथ्वीका कलिला आँखाबाट ।