शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
इतिहास

८३ वर्षअघि योगमायाले गरेको विद्रोह

जब ६४ जनाले टाउकोमा दियो बत्ती बाली अरुण नदीमा फाल हाले
शनिबार, २२ असार २०८१, १४ : ३०
शनिबार, २२ असार २०८१

विधाताको सृष्टि अपुरो र अधुरो छैन । हरेक वस्तुको उत्पत्तिको आ–आफ्नै उपादेयता रहेको हुन्छ । एउटा फूल अङ्कुराउँछ, फूल्छ र सुगन्ध छरेर विलीन हुन्छ । यो सृष्टिको प्राकृतिक नियम हो । हामी यसलाई प्रकृतिको नियम भनौँ या विधाताको खेल खासै तात्त्विक भिन्नता पाइँदैन । 

नेपाल ज्ञानभूमि, तपोभूमि र तेत्तीसकोटी देवताहरूको वासस्थान हो । पुराण तथा उपनिषद्का पाना पल्टाउँदा कैयौँ ऋषिमुनि तथा तपस्वीले परमगति प्राप्त गरेको आख्यान पाइन्छ । 

नेपालको भोजपुर जिल्ला जुन धार्मिक, आध्यात्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले अग्रणी मानिन्छ । बालगुरु षडानन्दजस्ता ज्ञानी तपस्वी व्यक्तिको सालनाल गाडिएको पावन भूमिमा १९२४ सालमा योगमाया कोइरालाको जन्म भएको थियो । पिता श्रीलाल न्यौपाने (उपाध्याय) र माता चन्द्रकला न्यौपानेकी ज्येष्ठ सुपुत्रीका रूपमा योगमायाले यस धर्तीमा पहिलो पाइलो टेकेकी थिइन् । उनी भोजपुर जिल्लाको साबिक नेपालेडाँडा गाविसको मझुवा बेसीको एक कट्टर ब्राह्मण परिवारमा जन्मेकी थिइन् । परम्परागत शास्त्रीय मान्यताले त्यस परिवारमा जरा गाडेको थियो । यसैको फलस्वरूप सात वर्षको उमेरमा मातापिताले उनलाई मनोरथ कोइरालासँग वैदिक विधि–विधानका साथ विवाह गरिदिए ।

यस घटनालाई सिंहावलोकन गर्ने हो भने योगमायाले तत्कालीन समाजको गालामा जमाएर एक थप्पड हानेकी थिइन्, किनभने त्यस बखतमा विधवाले विवाह गर्नु भनेको समाजको दृष्टिमा बर्खिलाप थियो ।

तत्कालीन समयमा सासूहरू बुहारीमाथि शासन चलाउँथे । यो खप्न नसकेर योगमाया माइत आइन् । केही समय त उनी माइतमा बसिन् तर विवाह गरेकी छोरीले माइतीघरमा बस्नु हुँदैन भन्ने दबाब परेपछि उनी बुहार्तन खप्न आफ्नै पतिको घर फर्किन् । यसैबिच दश वर्षको उमेरमा उनका पति मनोरथ कोइरालाको देहावसान भयो । एउटी अबोध र अबला नारीको सर्वस्व ठानिएको पतिको मृत्युले उनको जीवनमा ठुलो बज्रपात भयो । तत्कालीन समाजको शब्द सापट लिने हो भने उनी बाल विधवा हुन पुगिन् । उनलाई परिवार र समाजले लोग्ने टोकुवाको संज्ञा दिन थाले । अपवाद भन्नु या विचारोत्तेजक अनुमानमा केही आधुनिक आख्यानकारले योगमायाले त्याग गरेपछि उनका पति मनोरथ कोइरालाले अर्को विवाह गरेका थिए पनि भनेका छन्, जसमाथि अनुसन्धानको झटारो हान्नुपर्ने देखिन्छ । किशोरी अवस्थामा पुगेपछि योगमायाले छिमेकी एक कँडेल थरका केटासँग प्रेमविवाह विवाह गरिन् । 

यस घटनालाई सिंहावलोकन गर्ने हो भने योगमायाले तत्कालीन समाजको गालामा जमाएर एक थप्पड हानेकी थिइन्, किनभने त्यस बखतमा विधवाले विवाह गर्नु भनेको समाजको दृष्टिमा बर्खिलाप थियो । दोस्रो विवाह गरेपछि योगमाया भोजपुर छाडेर आसामतिर गइन् । एक सुपुत्रीलाई जन्म दिइन् । भाग्यको खेल जानिसक्नु छैन, विधाताले कोरेको भाग्यरेखामा हिँड्नु मानवको बाध्यता हो, जुन मानवले नचाहेर पनि स्वीकार गर्नुपर्छ ।

योगमायाले छोरी र दोस्रो पतिलाई छाडेर डोटेल थरको तेस्रो पतिसँग विवाह गरेकी थिइन् भन्ने धारणा केही आख्यानकारले राखेका छन् भने अर्का थरी आख्यानकारले उनको दोस्रो पतिको देहावसान भएपछि मात्र डोटेल थरका अर्का केटासँग विवाह गरेकी थिइन् भन्ने धारणा राखेको पाइन्छ । केही इतिहासकारहरू उनले दुई पुत्रीलाई जन्म दिएकी थिइन् भनेर विवाद गरेको पाइन्छ तर अभिलेखमा उनकी एक छोरी नैनकलाको नाम मात्र छ । जीवनमा अनेक मोड र घुम्तीहरू आए योगमायाको जीवनमा । भाग्यको लहरमा लहरिँदै योगमाया छोरी नैनकलालाई लिएर आफ्नो सालनाल गाडिएको माटो भोजपुरको मझुवा बेसीमा आइपुगिन् । मझुवा बेसीमा उनले आफ्नी छोरी नैनकलालाई भाइ अग्निधर न्यौपाने र बुहारी गंगाको पोल्टोमा सुम्पेर आफ्नो कर्तव्य पथमा लागिन् । योगमाया वास्तवमा विधाताले खटाएको एक चरित्र पात्रजस्तो थिइन् । उनले जीवनका आरोह–अवरोहमा विभिन्न धार्मिक कविताहरूको रचना गरेकी थिइन्, जुन पुस्तकको रूपमा सङ्ग्रह भएको थियो भन्ने भनाइ छ । नेपालबाट आसामतर्फको पलायन योगमायाको जीवनमा कोसेढुङ्गा साबित भयो । आसाम बसाइका क्रममा योगमाया हिन्दु सुधारवादी नेता दयानन्द सरस्वतीका विचार र सिद्धान्तले गहिरो प्रभाव परेको थियो । 

योगमायाले आर्जन गरेको ज्ञान अथाह थियो । उनको ध्यान साधनको गहिराइको मापन गर्न कठिन थियो ।

१९७४ सालबाट योगमायाले नेपालका विभिन्न भागमा धार्मिक यात्राको प्रारम्भ गरिन् । यात्राका समयमा उनले विभिन्न विख्यात धार्मिक व्यक्तित्वहरूको प्रवचन र ज्ञान पाइन् साथै धार्मिक विषयमा चर्चा पनि गरिन् । यसबाट उनी धर्म गुरुहरूको चर्चाको पात्र बन्न पुगिन् । यसै क्रममा योगमायाले स्वर्गद्वारी महाप्रभु अभयानन्द दोस्रोसँग जोसमनी सन्तपरम्परा अनुसार आत्मिक योगशिक्षा लिइन् । यसपछि योगमायाले आफ्नै गृहग्राममा विभिन्न किसिमका योगसाधना र ध्यान गरिन् । 

योगमायाले आर्जन गरेको ज्ञान अथाह थियो । उनको ध्यान साधनको गहिराइको मापन गर्न कठिन थियो । उनी जटिलभन्दा जटिल ठानिएका ध्यान साधना सहज रूपमा गर्न सक्थिन् । उनी गर्मीमा बाक्लो लुगा लगाएर अग्नि ताप्ने गर्थिन् भने जाडोमा चिसो गुफामा बसेर ध्यान गर्थिन् । कैयौँ दिनसम्म पानी मात्र पिएर साधना गर्थिन् । योगमायाको ज्ञान र योग साधनाको चर्चा क्रमिक रूपमा भोजपुरभर हुन थाल्यो । उनको आध्यात्मिक ज्ञान र कविताबाट प्रभावित भएर मझुवाबेसीका भीमबहादुर बस्नेतले एक कुटी (आश्रम) बनाइदिएर त्यहाँबाट प्रवचन गराउन थाले । उनीद्वारा रचिएका धार्मिक कवितालाई पछि सिक्किमबाट प्रकाशन गरिएको थियो । योगमायाको यस प्रकारको सुधारवादी गतिविधिलाई कट्टर मानिएको तत्कालीन समाजले पचाउन सकेन । कठोर परम्परावादी र भेदभाव ग्रसित समाजमा योगमायाको कदम एक प्रकारको जेहाद नै थियो । पितृसत्तात्मक समाजमा महिला माथिको भेदभाव असह्य थियो भने उपल्ला जात मानिएका दलित र आर्थिक पिछडा वर्गको अवस्था नारकीय थियो । 

उनका सुधारवादी आध्यात्मिक कविताहरूले भोजपुर, दार्जिलिङ, सिक्किम र काठमाडौँमा प्रभाव फैलाइरहेका थिए । अर्कोतर्फ उनको अभियानले भोजपुरका तत्कालीन सामन्तहरूको सातो उडाइरहेको थियो । पितृसत्तात्मक धारणाले महिला र समाजमाथि बन्चरो हान्दै आएका सामन्तहरूले केन्द्रीय प्रशासन र धनकुटाका तत्कालीन बडाहाकिमलाई योगमाया र उनका अनुयायीले सञ्चालन गरेको अभियान रोकिनुपर्छ भनेर माग गर्न थाले, जसले नेपालको तत्कालीन जहानियाँ राणाशासनको खुट्टा कमाएको थियो । 

योगमायाको सुधारको अभियान भोजपुरमा मात्र सीमित थिएन । उनको अभियान देशव्यापी थियो । राणाशासकको भ्रष्ट व्यवहार र भेदभावपूर्ण नीतिको अन्त्य गरिनुपर्छ भनेर १९८८ सालतिर प्रेमनारायण भण्डारीलाई आफ्नो दूत बनाएर केन्द्रीय सत्तालाई जानकारी दिन काठमाडौँ पठाइन् । प्रेमनारायण भण्डारीलाई तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर जबराले स्वागत गरी योगमायाका मागहरू प्रस्तुत गर्न लगाएका थिए, तर उनको यस कदमलाई जुद्धशमशेरले खासै महत्त्व दिएनन् । १९९३ सालमा भण्डारीलाई पुनः काठमाडौँ पठाइयो । राणाहरूको भ्रष्ट गतिविधिमा कुनै परिवर्तन आएको थिएन । यसपछि योगमाया आफ्नी छोरी नैनकलालाई लिएर काठमाडौँ आइन् । 

१९९५ कात्तिक २६ गते अग्नि समाधि लिने दिन तय भयो । यस कदमलाई रोक्नका लागि १९९५ कात्तिक २५ गते नै धनकुटाबाट पाँच सयभन्दा बढी फौज परिचालन गरी ११ पुरुष अनुयायीलाई धनकुटा कारगारमा जाकियो भने योगमाया र उनकी छोरी नैनकलालाई गिरफ्तार गरी भोजपुरको राधाकृष्ण मन्दिरमा बन्दी बनाएर राखियो ।

जुद्धशमशेरले उनलाई स्वागत गरी आफ्नो माग प्रस्तुत गर्न लगाए । योगमायाले त्यस समयमा भनेकी थिइन, ‘सत्य धर्मको भिक्षा ।’ जुद्धशमशेरले उनको मागलाई पूरा गर्ने आश्वासन दिएका थिए । यसैबिच योगमायाले २४ बुँदे अपिलपत्र बुझाइ यो कार्य नभएमा स्थापित सत्ता हल्लाउनुका साथै अर्को वर्ष विशेष धक्काको कार्यक्रम ल्याउने चेतावनी दिएर भोजपुर फर्केकी थिइन् । राणाशासकहरू भारतको राष्ट्रिय आन्दोलनबाट झस्किरहेका थिए भने प्रचण्ड गोर्खाकाण्डले सातो नै उडाएको थियो । यसै कारणले पनि जुद्धशमशेरले योगमायाका मागलाई हावामा उडाउँदै गएका थिए । योगमायाले पुनः असभ्य, भ्रष्ट शासन चलाइरहेका राणा शासकलाई सुधारको बाटोमा आउन आग्रह गरिन् । अन्धविश्वास र परम्परावादी जड अभ्यासको अन्त्य छिटोभन्दा छिटो होस् भन्ने आग्रहलाई दोहोर्‍याइन् । उनी सबै प्रकारका कुपरम्परा, कुसंस्कार र कुरीतिको अन्त्य गरी नयाँ युगको घोषणा गर्न कम्मर कसेर लागेकी थिइन् तर जुद्धशमशेरले उनको माग पूरा नगरेपछि उनी र उनका २४० अनुयायीले अग्नि समाधि लिने निर्णय गरे । यसका लागि कात्तिक शुक्ल पूर्णिमाको दिन अग्नि समाधि लिने निर्णयको जानकारी तत्कालीन धनकुटा गौडाका बडाहाकिम माधवशमशेरमार्फत जुद्धशमशेर कहाँ पुर्‍याइयो । 

१९९५ कात्तिक २६ गते अग्नि समाधि लिने दिन तय भयो । यस कदमलाई रोक्नका लागि १९९५ कात्तिक २५ गते नै धनकुटाबाट पाँच सयभन्दा बढी फौज परिचालन गरी ११ पुरुष अनुयायीलाई धनकुटा कारगारमा जाकियो भने योगमाया र उनकी छोरी नैनकलालाई गिरफ्तार गरी भोजपुरको राधाकृष्ण मन्दिरमा बन्दी बनाएर राखियो । केही समयपछि योगमाया र नैनकलालाई बन्दी अवस्थाबाट मुक्त गरियो भने अन्यलाई तीन महिनापछि मुक्त गरियो । बाँकी बन्दीहरूलाई १९९८ चैतमा मात्र छाडिएको थियो । अग्नि आहुतिको अभियानमा शासकीय हस्तक्षेप बर्बरतामा उत्रिएको थियो । 

कैयौँलाई पक्राउपछि यातना दिइयो । केही समयको कारवासबाट मुक्त भएपछि योगमायाका अनुयायी पुनः एकजुट हुन थाले । अग्नि समाधिको असफलतापछि उनीहरूले अर्को कठोर निर्णय लिनका लागि गोप्य बैठक बसे । गोप्य बैठकको फलस्वरूप उनीहरूले जल समाधि लिने निर्णय गरे । यसका लागि अरुण नदी चयन गरिएको थियो । १९९८ असार २० गते हरिशयनी एकादशीको दिन सबै अनुयायीसहित जल समाधिमा जाने निर्णय भयो । 

सरसर्ती हेर्दा एउटा आख्यानजस्तो लाग्ने अजम्बरी घटनाले कैयौँलाई कथाको आभास देला भने कैयौँलाई युगान्तकारी नारीको वेदना ।

यो जल समाधिमा सहभागी हुन योगमाया र उनका छनोटका अनुयायी मात्र थिए । यो कठोर जल समाधिको यात्रा १९९८ असार १९ गते राति जाने र बिहानीपख समाधिमा जाने अठोट भएको थियो । समाधिको पूर्वसन्ध्यामा योगमाया र उनकी छोरी नैनकला एवं अरू ६४ जनाले टाउकोमा दियो बत्ती बालेर पहाडको टुप्पोमा पुगी असार २० गते बिहान सबेरै अरुण नदीमा फाल हालेर जल समाधि लिए । भोलिपल्ट बिहान थप अरू दुई अनुयायीले जल समाधि लिएका थिए । यस कठोर जल समाधि अभियानमा ६८ महिलाले आत्माहुति दिएका थिए भन्ने भनाइ पनि छ । 

सरसर्ती हेर्दा एउटा आख्यानजस्तो लाग्ने अजम्बरी घटनाले कैयौँलाई कथाको आभास देला भने कैयौँलाई युगान्तकारी नारीको वेदना । एउटा युगान्तकारी युगप्रवर्तक प्रथम क्रान्तिकारी नारी योद्धा, हक, अधिकार र न्यायका लागि लड्ने नारी अभियन्ताका रूपमा योगमायालाई लिइन्छ । ‘एक युगमा एक दिन एकचोटि आउँछ’ भनेजस्तै १९९८ असार २० गतेको दिन क्रान्तिकारी महिलाले छाडेको विद्रोहको उभार थियो । 

मानिसको जन्म निरर्थक छैन । जसले जीवन र जगत्लाई एउटै तराजुमा जोख्ने प्रयास गरे, त्यसबाट एउटा झिल्को निस्कन्छ, त्यही झिल्कोको पर्याय थिइन् योगमाया । उनले जीवनको आहुति दिएर जगत्मा उज्यालो छरेर गइन् । यही उज्यालोमा आलोकित भएकाहरूले परिवर्तनका ज्वारभाटा चलाउन सकेका छन् कि छैनन् ? योगमायाबाट प्रेरणा लिएर नारी बन्धनका साङ्ला चँुडाल्न सक्नेहरूको खोजी गर्नुपर्ने हो कि बाटो बिराइरहेका छन् ? यो खोजीको विषय भएको छ । 

योगमाया एक चानचुने नारी पात्र होइनन् । उनी आफ्ना सत्कर्मले नेपालको इतिहासमा संवरण अक्षरले नाम लेखाउन जन्माइएकी सार्थकता प्रमाणित गर्ने नारी पात्र हुन् । आज उनका सम्बन्धमा विभिन्न नाटक, कविता तथा आख्यान लेखिएका छन् । 

उनका सम्बन्धमा बार्बरा निम्री अजिज र माइकल हटले अनुसन्धान समेत गरेका छन् । योगमाया आज विश्वविद्यालयका समाजशास्त्र, मानवशास्त्र र महिला अध्ययनजस्ता विषयमा अध्ययन गरिने पात्र हो । योगमायाको योगदानको कदर गर्दै नेपाल सरकारले २०७३ सालमा हुलाक टिकट प्रकाशन गरेको छ । त्यसै गरी २०७६ सालमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक ल्याई सम्मान त जतायो तर यतिले मात्र उनको योगदानमूलक ऋण तिरिन्छ त ? यो गहन प्रश्नको जवाफ आज नेपालले खोजिरहेको छ । 

यतिले मात्र योगमायाको योगदानको सम्मान पुग्छ जस्तो लाग्दैन । उनको सम्मान आधुनिक युगकी एक युग प्रवर्तक क्रान्तिकारी नारी अभियन्ताका रूपमा राष्ट्रिय विभूति घोषणा हुनुपर्छ । यसबाट योगमाया मात्र नभएर नेपालका सबै महिलाको सम्मान हुने कुरामा विश्वास गर्न सकिन्छ । नारीको योगदान र सम्मान नहुने घरमा भगवान्को पनि बास हुँदैन भन्ने शास्त्रीय आहानलाई स्वीकार गर्ने कि नगर्ने ? आजको वर्तमान युगको माग यही छ भन्ने लाग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजनाथ दंगाल
तेजनाथ दंगाल

author

लेखकबाट थप