शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
समाचार

पहिरोको जोखिममा हेटौँडा काठमाडौँ जोड्ने सडक

कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध
शनिबार, २२ असार २०८१, १४ : २९
शनिबार, २२ असार २०८१

हेटौँडा । हेटौँडा–काठमाडौँ जोड्ने छिटो दुरीका अधिकांश सडक पहिरोको जोखिममा रहेका छन् । हेटौँडा काठमाडौँ जोड्ने सडकहरूमध्ये २ सडक मात्र पूर्ण रूपमा सञ्चालनमा रहेका छन् । अन्य सबै सडकहरू पहिरोका कारण बन्द हुने र पहिरो पन्छाएर खोल्ने काम भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार त्रिभुवन राजपथ र चित्लाङ चन्द्रागिरि सडक पूर्ण रूपमा सञ्चालनमा रहेको छ भने महेन्द्र राजमार्ग पनि पहिरोको जोखिममा रहेको छ ।

शुक्रबार रातिबाट परेको वर्षाका कारण हेटौँडा काठमाडौँ जोड्ने कान्तिलोकपथ पूर्णरुपमा बन्द भएको छ भने भेसै भीमफेदी कुलेखानी फाखेल काठमाडौँ, सिस्नेरी दक्षिणकाली काठमाडौँ, फाखेल चखेल मातातीर्थ सडक पहिरोको जोखिममा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीअनुसार सडकका विभिन्न स्थानमा पहिरो खसिरहेकाले जोखिम कायमै रहेको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याए पनि पहिरो खस्न नरोकिएको उनले बताए ।

हेटौँडाबाट काठमाडौँ जोड्ने सडक खण्डमध्ये कान्तिलोकपथ मात्र पूर्णरुपमा बन्द भएको उनको भनाई छ ।  सो सडकको मकवानपुर र ललितपुर खण्डमा पहिरोका कारण तत्काल सडक सञ्चालनमा आउने अवस्था नरहेको उनले बताए । सो सडक खण्डको मकवानपुर तर्फ भीमफेदी–८ स्थित महादेवटार र प्रतापडाँडा लगायतका क्षेत्रमा खसेको पहिरो हटाउन नसक्दा सडक सञ्चालनमा आउन नसकेको प्रवक्ता भण्डारीले बताए ।

प्रवक्ता भण्डारीका अनुसार कान्तिलोकपथ सडक खण्ड आज खुल्ने सम्भावना निकै कम छ । निरन्तर वर्षा भइरहेका कारण पहिरो हटाउने काम प्रभावित भएको र धेरै पहिरो हटाउनुपर्ने भएकाले आज कान्तिलोकपथ खुल्ने सम्भावना कम रहेको उनको भनाई छ ।

यस्तै पहिरोका कारण शनिवार बिहानबाट बन्द भएका हेटौँडा–काठमाडौँ जोड्ने छिटो दुरीका २ सडक खण्डहरू सुचारु भएको छ । पहिरो हटाएसँगै मातातीर्थ–चखेल र इन्द्रसरोवर–दक्षिणकाली सडक खण्ड सञ्चालनमा आएको छ ।

इन्द्रसरोवर गाउँपालिका ५ महालक्ष्मी खोला नजिक परेको पहिरो र इन्द्रसरोवर गाउँपालिका–२ स्थित छेपारेमा परेको पहिरो हटाएसँगै उक्त सडक खण्डहरू सुचारु भएको हो । सडक सुचारु भए पनि निरन्तर वर्षा भइरहेका कारण पहिरोको जोखिम कायमै रहेको भण्डारीले बताए । सो सडक अन्तर्गत भैसे हुँदै भीमफेदी खण्डमा पहिरोका कारण एकतर्फी रूपमा सडक सञ्चालन गरिएको उनले बताए ।

उनले हेटौँडा काठमाडौँ यात्राका लागि त्रिभुवन राजपथ अन्तर्गत पालुङ हुँदै जाने र चित्लाङ चन्द्रागिरि सडक प्रयोग गर्न सुझाव दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप