शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
प्रेम

दुबईमा अस्मिताको इन्गेजमेन्ट : प्रेम प्रस्ताव त महेशजीकै थियो

शनिबार, २२ असार २०८१, ११ : ३७
शनिबार, २२ असार २०८१

काठमाडौँ । गायिका अस्मिता अधिकारीका फ्यान त्यतिबेला चकित भए जतिबेला उनको इन्गेजमेन्ट सार्वजनिक भयो । गत ५ गते उनले गायक महेश काफ्लेसँग दुबईमा इन्गेजमेन्ट गरेकी थिइन् ।

बुर्ज खलिफालाई साक्षी राख्दै गरिएको इन्गेजमेन्ट सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । अधिकारी र काफ्ले साङ्गीतिक कार्यक्रमको सिलसिलामा दुबई पुगेका थिए ।

यसअघि कहिल्यै प्रेम खुलासा नभएका यो जोडीको इन्गेजमेन्टलाई कतिले हतारको निर्णय भने, केहीले प्लानिङ । गायिका अस्मिता भने यसलाई उचित समयमा भएको सही निर्णय बताउँछिन् ।

‘इन्गेजमेन्ट यसै वर्ष कुनै समय गर्ने भन्ने थियो । संयोगले एउटै कार्यक्रमका लागि दुबई पुग्ने अवसर मिल्यो’, उनले भनिन्, ‘समय र ठाउँको सदुपयोग गरेका हौँ ।’

asmita adhikari

दुबई यात्रासँगै हुने भएपछि परिवारको सहमतिमै इन्गेजमेन्टको योजना बनेको उनले खुलाइन् । ‘हामी दुवैको परिवारबाट विवाहका लागि कुरा भइरहेको थियो । कुनै समय इन्गेजमेन्ट गर्ने कुरो थियो’, उनले थपिन्, ‘दुबईमा नभएको भए नेपालमै हुन्थ्यो ।’

अस्मिता र महेशको पहिलो भेट तीन वर्ष अगाडि ‘लजावती झार’ बोलको गीतमा सहकार्यको सिलसिलामा भएको थियो । त्यसपछि पनि उनीहरूले धेरै गीतमा सहकार्य गरे ।

विश्वकै सबैभन्दा अग्लो टावरलाई साक्षी राखेर गरिएको इन्गेजमेन्टको योजना दुबई उड्नु केही दिन अगाडि दुवैले बनाएको अस्मिताले सुनाइन् ।

अस्मिता र महेश एकदमै मिल्ने साथी थिए । कहिले काहीँ यी दुवैबिच प्रेमको चर्चा पनि हुन्थ्यो । तर उनीहरू आपसको मिल्ने साथीमात्र भएको प्रतिक्रिया दिन्थे र चर्चा त्यतिकै सेलाउँथ्यो ।

asmita

अस्मिता र महेशको पहिलो भेट तीन वर्ष अगाडि ‘लजावती झार’ बोलको गीतमा सहकार्यको सिलसिलामा भएको थियो । त्यसपछि पनि उनीहरूले धेरै गीतमा सहकार्य गरे । साङ्गीतिक सहकार्यको सिलसिलामा एक अर्काेसँग धेरै समय बिताउन थाले । कतिबेला प्रेम भयो भन्ने दुवैलाई पत्तै भएन ।

२०८१ भित्र पनि हुनसक्छ, नहुन पनि सक्छ । विवाहका लागि सबै परिस्थिति मिलिसकेको छैन ।

‘काम गर्दै जाँदा एक अर्कोलाई बुझ्दै गयौँ । दुवैको सहमतिमा विवाहको निर्णय गरेका हौँ’, अस्मिता भन्छिन्, ‘पहिले प्रेम प्रस्ताव महेशजीले राख्नु भएको थियो । उहाँ एकदमै राम्रो कलाकार, राम्रो व्यक्तित्व र जीवन साथीको लागि उपयुक्त व्यक्ति । मैले बुझेर प्रेम प्रस्ताव स्विकारेँ ।’

दुवै जना आ–आफ्नो काममा व्यस्त रहेका कारणले पनि अन्यको जस्तो प्रेम बाहिर छचल्किन नपाएको उनको भनाइ छ ।

इन्गेजमेन्ट भए पनि अस्मिताले अहिले विवाहको योजना भने बनाएकी छैनन् । ‘के २०८१ भित्र विवाह हुनसक्छ ?’ प्रश्न राख्न नपाउँदै उनले जवाफ दिइन्, ‘२०८१ भित्र पनि हुनसक्छ, नहुन पनि सक्छ । विवाहका लागि सबै परिस्थिति मिलिसकेको छैन ।’

विवाहमा परिवार, आफन्त साथीभाइ लगायत सबैको सहभागितामा नेपालमै गर्ने उनी बताउँछिन् ।

406465118_6679928868774847_6730848447037371404_n

  • अनि म गायिका भएँ

अस्मिता पछिल्लो समयकी चर्चित गायिका हुन् । गीत रेकर्डिङदेखि देश विदेशको कार्यक्रममा उनको व्यस्तता बढ्दो छ । स्टेज कार्यक्रम नभएको समय उनी दैनिक एकदेखि चार गीतमा आवाज भर्छिन् ।

साङ्गीतिक व्यस्तताको श्रेय रियालिटी शो ‘नेपाल आइडल’लाई दिन्छिन् उनी । किनभने उनी ‘नेपाल आइडल २’मा प्रतियोगीको रूपमा भित्रिएपछि चर्चामा आएकी हुन् । यही प्लेटर्फमले आफ्नो प्रतिभा बाहिर ल्याएर सबैमाझ चिनाएको उनी बताउँछिन् ।

अस्मिता पेसाले नर्स पनि हुन् । गीतसङ्गीत अगाडि उनले बीएससी नर्सिङ अध्ययन सकेकी हुन् ।

‘नेपाल आइडल’ विजेताले मात्र होइन, सहभागीले पनि राम्रो करियर बनाउन सक्छ भन्ने उनी एउटा उदाहरण हुन् । ‘नेपाल आइडल’ सहभागीपछि उनले पहिलो गीत ‘तिम्रो मायाले बाँधेर राख’को फिमेल भर्सन गाएकी थिइन् । गीतकार रवि मल्लले उनलाई गायनको अवसर दिएका थिए । यो गीत पुरुष भर्सनमा चर्चित थियो । नेपाल आइडल सहभागी हुँदा धेरैले यो गीतमा अडिसन दिएको उनले देखेकी थिइन् । त्यसैले यो गीत गाउन सक्छु कि सक्दिन भन्ने डरैडरमा गीत गाइन् । गीत सार्वजनिक भएपछि राम्रो चर्चा भयो । उनी सुनाउँछिन्, ‘यो गीत बाहिर आएपछि मलाई अन्य धेरै अवसर मिल्यो । त्यसपछि साङ्गीतिक क्षेत्रमा पछि फर्किएर हेर्नु परेन ।’

अहिलेसम्म उनले फिल्म, आधुनिक, लोकपप लगायत गरेर  २ हजारभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । ‘साली मनपर्‍यो’, ‘तिम्रो घरको वरिपरि’, ‘टाढा भए पनि’लगायत उनका थुप्रै गीत हिट छन् ।

405408506_6679929012108166_8208035115072362343_n

‘तिम्रो मायाले बाँधेर राख’ गीत अगाडि भने उनी अवसरको लागि स्टुडियो धाउँथिन् । अरूले गाएको हेर्थिन्, पाए कोरस गाउँथिन् । ‘सुरुका समय आफ्नो भोकल दिन पाए हुन्थ्यो । स्वर सुन्न पाए हुन्थ्यो भन्ने लागेर स्टुडियो धाउँथेँ’, उनले भनिन्, ‘अरूले गरेको गीत रेकर्ड सुन्थेँ र सिक्थेँ ।’

  • नर्स पनि म

अस्मिता पेसाले नर्स पनि हुन् । गीतसङ्गीत अगाडि उनले बीएससी नर्सिङ अध्ययन सकेकी हुन् । पेसाको रूपमा अगाडि बढाउने उद्देश्यले उनले नर्सिङ गरेकी थिइन् । अध्ययनकै समय गीतसङ्गीतमा अवसर मिलेपछि उनी यसमै जमिन् । नर्सिङ अहिले शैक्षिक योग्यताका लागि काम लागेको तर पेसा गीतसङ्गीत बनेको उनी बताउँछिन् ।

यद्यपि भोलिको दिनमा नर्सको रूपमा समेत देखिन सक्ने अस्मिताको भनाइ छ । ‘अहिले म गीत–सङ्गीतबाट सबैको सुख, दुःखको सहयोगी बनिरहेको छु’, उनी थप्छिन्, ‘नर्सिङमा सिकेको कुरो आफन्त र घरपरिवारलाई काम लागिरहेको छ ।’

अस्मिताले भविष्यका लागि ठुलो योजना केही बनाएकी छैनन् । गीतसङ्गीतलाई निरन्तरता दिने, राम्रा–राम्रा गीतसङ्गीत बाहिर ल्याउने योजना रहेको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप