शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

प्रचण्डजीसँग चिप्लिनुबाहेक केही विकल्प छैन : आहुति

शुक्रबार, २१ असार २०८१, २० : ०९
शुक्रबार, २१ असार २०८१

काठमाडौँ । ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच संविधान संशोधनसहितका उद्देश्यले नयाँ सत्ता समीकरण बनेपछि माओवादी केन्द्रले प्रतिगमनको खतरा भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले नयाँ समीकरण ०४७ मा धकेल्ने षड्यन्त्र अनुसार बनेकाले जनतामा जाने निर्णय गरेको छ ।

सधैँ प्रतिस्पर्धी दलहरूलाई खेलाउँदै सत्ताको लाभ लिएका प्रचण्ड यसपटक आफैँ सिकार भए । अबको केही दिनमा एमालेका अध्यक्ष केपी ओली दुई तिहाइ बहुमतसहित शक्तिशाली प्रधानमन्त्री बन्ने तयारीमा छन् । पछिल्लो सत्ता उथलपुथललाई वैज्ञानिक साजवादीका अध्यक्ष विश्वभक्त दुलाल ‘आहुति’ले कसरी हेरेका छन् ? प्रस्तुत छ, आहुतिसँग रातोपाटीकर्मी गणेश पाण्डेले गरेको संवादको सम्पादित अंश :

तपाईंले पछिल्लो राजनीतिक ‘उथलपुथल’लाई कसरी हेर्नुभएको छ ?

यो व्यवस्था नै यस्तै हो । यस्ता उथलपुथल भइरहन्छन् ।

कांग्रेस–एमालेको सत्ता समीकरणका कारण प्रतिगमन हुने खतरा बढ्यो भन्दै छन् नि, त्यस्तै हो ?

त्यसका धेरै वटा आयाम छन्जस्तो लाग्छ । पहिलो भूराजनीतिक आयाम पनि छ । बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई) र भारतको स्वार्थसँग यसको सम्बन्ध देखिन्छ । जति गरे पनि कांग्रेस भारतको नजिक नै ठान्छ । पुरानो दलाल भएकाले कांग्रेससँग नयाँ एजेण्डा पनि केही छैन । पश्चिमाहरूले पनि भारतको आँखाबाट नेपालाई हेरिरहेको देखिन्छ किनकि यो मिलेनियम च्यालेन्ज कार्पोरेसन (एमसीसी)सँग सम्बन्धित छ । त्यसैले एमसीसी र बीआरआईबिच अन्तर्द्वन्द्व देखिन्छ ।

दोस्रो, मुद्दा मामिलाको झण्झट नबेहोरौँ भन्ने कांग्रेस र एमालेमा देखिन्छ । भ्रष्टाचार रोकिने, देश र जनताले राहत पाउने केही होइन । गिरिबन्धु टीस्टेट पनि प्रचण्डजीकै सहमतिमा पास भएको हो । सबै माफियाहरूसँग मिलेकै छन् । तै पनि यसो देखाउनका लागि अलिअलि झण्झट निकाल्ने सम्भावना पनि हुने भयो । सहकारीको कारणले गर्दा त्यसको प्रतिउत्तरमा अर्कोमाथि प्रहार गर्न सकिए आफू जोगिन सकिन्छ भन्ने आन्तरिक रुपमा लागेको देखिन्छ ।

तेस्रो, हीनता बोध हुन सक्छ । पहिलो र दोस्रो पार्टी निरीह हुने तर सरकारमा साना पार्टीलाई राखिराख्ने । वास्तवमा संसदीय व्यवस्थाको कोणबाट प्राकृतिक होइन । त्यो त उनीहरूले सुरुदेखि नै नबुझेको कुरा होइन । केही समय एकअर्कालाई हेरौँ र जति सकिन्छ, बदनाम गराऔँ भन्ने हुन्छ । यी तीन कुरा मिसिएको छ । समग्रमा व्यवस्थाभित्र चलखेल गरिराखौँ र त्यसको नाममा प्रतिगमनतिर लैजान अलिकति कोसिस गर्न सकिन्छ भन्ने कांग्रेस–एमालेको चाहना देखिन्छ ।  

कांग्रेस–एमालेबिच सत्ता सहकार्यमात्र होइन, संविधान संशोधनका कुरा पनि आएको छ, त्यसको कस्तो असर पर्ला ?

यो प्रगतिशील पार्टी वा समूहको मात्र कुरा होइन । त्यो समुदाय र वर्गसँग सम्बन्धित छ । समुदाय र वर्ग नउठी अहिलेको परिवर्तन आएको पनि होइन । अधिकांश पार्टी यथास्थितिवादी हुन् । यिनीहरू परिवर्तनको एजेण्डा केही नभएका पार्टी हुन् । माओवादी त्यतिबेला परिवर्तनको एजेण्डा भएको पार्टी थियो । माओवादीले वर्ग, समुदायको साथ पाएको थियो । अन्य पार्टीको साथ पाएको होइन । समुदाय र वर्ग कमजोर हुँदा संविधान यस्तो बनेको हो । उनीहरूले साथ दिँदा अलिकति अगाडि बढेको हो । अहिले उत्पीडित समुदाय निकै कमजोर स्थितिमा भएका र राजनीतिक पहलकदमी नभएकाले समस्या आएको हो ।

यी समुदाय र वर्गबाट विभूषित भएका मानिस र विचारलाई उनीहरूले संसदभित्र मिलाएका छन् । जनजाति आन्दोलनबाट विभूषित भएका नेताहरूको ठुलो सङ्ख्यालाई संसदभित्र लगेका छन् । त्यहीभित्र कमिसनको व्यवस्थापन गरेका छन् । दलित, महिलालाई त्यसै गरेका छन् । मधेसी समुदायका ठुलो पंक्तिलाई सिध्याएका छन् । त्यसकारण समुदायको राजनीति र पहलकदमी निकै कमजोर भयो । यही मौका पारेर फेरि बिस्तारै प्रतिगमनतिर लैजान सकिन्छ भन्ने हुन्छ । त्यो कोसिस निरन्तर हुँदै पनि आएको छ । यो प्रचण्डले रोक्न सक्ने स्थिति होइन ।

उनीहरूसँग शक्ति नै छैन । जनताले विश्वास गरेर उनीहरूको आन्दोलनमा आउँदा पनि आउँदैनन् ।

तर प्रचण्डले चाहेको भए डेढ वर्षमा टीआरसी लगायत जनताका धेरै मुद्दामा काम गर्न सक्थे नि, होइन ?

यसमा एमालेको साथ नलिई हुँदैन । एमाले किन तुरुन्तै मान्थ्यो र ? उसलाई गलपासोको रूपमा यसलाई राखिराख्न पाए फाइदा हुन्छ । त्यसकारण उसले टुङ्ग्याउन दिँदैन । प्रतिगमनतिर लैजान कोसिस भए पनि तत्काल सम्भव देखिँदैन । यही सरकार फेर्ने र ०८४ को तयारी गर्ने बाटोमै जान्छ ।

यदि प्रतिगमनतर्फ अगाडि बढेमा पूर्वमाओवादी घटकहरूबिच गठबन्धन हुने सम्भावना छ कि छैन ?

एलाइन्स बनाएर ०८४ को चुनाव लड्ने हुँदैन । प्रचण्ड र विप्लवहरूको सोच त्यही नै छ, त्यस्तो हुँदैन । प्रतिगमन कस्तो रूपमा आउन खोज्छ, त्यसको आधारमा मोर्चावन्दी बन्छ । अहिले नै भन्ने कुरा होइन । आत्तिने बेला पनि भएको छैन । साँच्चै संविधान संशोधन गरेर प्रतिगमनतिर जान खोजिए त्यतिबेला नयाँ बहसको सिर्जना हुन्छ । उत्पीडित समुदाय र वर्ग फेरि चुप लागेर बस्दैन । उसले नयाँ पहलकदमी लिएर आउँछ । अहिले कै पार्टीभित्र मात्रै मोर्चावन्दी हुन्छ र त्यसले हल गर्छ भनेर सोच्नु हुँदैन ।

नयाँ शक्ति पनि आउन सक्छ, नआई सुखै छैन । त्यसकारण समय लिन सक्छन् । अवस्था कस्तो हुन्छ, त्यसमा भर पर्छ । कुनै पनि बस्तुमा रहेको सकारात्मक चिज छ भने त्यसलाई परिमार्जन गरेरमात्रै रक्षा गर्न सकिन्छ । जस्ताको तस्तै राखेर रक्षा गर्न सकिँदैन । जस्तै भारतको संविधानमा काश्मीरका केही मुद्दाबाहेक मूलभूत रुपमा धेरै परिवर्तन भएको छैन । यथास्थितिमा राखिराख्दा त्यसका कतिपय सकारात्मक मुद्दा लागु भएन किनभने त्यसलाई निरन्तर प्रगतिशील दिशामा लैजान परिमार्जन गरिराख्नुपर्ने हुन्छ । एउटा मानिसलाई बचाइराख्न पनि उपचार र खानपिनमा ध्यान दिनुपर्ने हुन्छ । प्रगतिशीलतर्फ जाँदै नजाने, विगतका केही उपलब्धिहरू जस्ताको तस्तै रहिरहोस् भनेर हुँदैन । संसारमा कहीँ पनि भएको छैन ।

परिवर्तनतिर लैजान परिमार्जन गरिराख्नुपर्छ । नत्र प्रतिगमन हुन्छ । अक्षर त बाँकी रहन्छ, त्यसले केही हुँदैन, मर्मपनि लागु हुँदैन । प्रचण्डलाई यथास्थितिको पक्षपाती भनेर यसकारण भनेको हो । समानुपातिक प्रतिनिधित्वको कुरा अक्षरमात्र बाँकी रह्यो । समुदायको प्रतिनिधित्व हुने केही बाँकी छैन । प्रतिगमनतिर लैजाने कोसिस भए नयाँ बहस सृष्टि हुन्छ । नयाँ बहसले नयाँ राजनीतिक वातावरण बन्छ । त्यसकारण आत्तिनुपर्ने केही छैन ।

अहिलेको उथलपुथलले प्रचण्डलाई चिप्ल्यायो नि होइन ?

प्रचण्डजीसँग चिप्लिनुबाहेक केही विकल्प छैन । उहाँहरू अगाडि आएको नयाँ राजनीतिले हो । नयाँ राजनीति छोडेर केपी ओलीको नेतृत्वमा पार्टी एकताको ठाउँमा पुगिसकेको अवस्थामा विचार अगाडि कसरी आउँछ ? ओलीलाई नेतृत्व मान्ने, कांग्रेससँग मिलेर चुनावमा जानुपर्ने हैसियत भइसक्यो । त्यो सङ्ख्यात्मक हैसियत होइन विचारको हैसियत हो । यस्तो शक्ति फेरि आउँछ भनेर कसरी सोच्ने ? ३२ सिट ल्याएर सधैँभरि प्रधानमन्त्री खान्छु भनेर हाँस्यासपद कुरा गरेर कहिल्यै लागु हुँदैन । त्यो जोकर बनाउने कुरामात्र हो ।

कांग्रेस–एमालेले केही समय यसो प्रयोग गरेका हुन् । आफू शक्तिशाली भएपछि आफैँ जान्छन् नि अगाडि । माओवादी समाप्त भएको शक्ति हो, यसलाई प्रचण्डले बुझ्नुभएको छ । त्यही भएर ओलीसँग पार्टी एकता गर्नुभयो । ओलीको अहंकारको कारणले उहाँहरू फालिनुभएको मात्र हो । नत्र उहाँहरू एमालेजस्ता शक्तिसँग मिलेर राजनीतिक प्राण धान्नुबाहेक केही पनि छैन । विचार पनि छैन, संगठन पनि छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप