सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय
दसौँ महाधिवेशन

एकीकृत समाजवादीको महाधिवेशन सफल, केन्द्रीय कमिटीलाई पूर्णता दिन असफल

शुक्रबार, २१ असार २०८१, १६ : २६
शुक्रबार, २१ असार २०८१

काठमाडौँ । ६ दिन लगाएर नेकपा (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशन सकिएको छ । असार १६ गते काठमाडौँमा सुरु भएको महाधिवेशन ६ दिनपछि अधुरो ९३ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै असार २१ गते सकिएको हो । नवनिर्वाचित ९३ जना केन्द्रीय कमिटी सदस्यहरूले शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्

महाधिवेशन समापन गर्दै सम्मानित नेता तथा महाधिवेशन सम्पन्न गर्न गठित अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले महाधिवेशन सफल भएको बताए ।

‘दसौँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ’, खनालले महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने र प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेल्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

साथै उनले अव पार्टीको अग्रगति र प्रगतिका लागि निर्णायक भूमिका खेल्ने काम पार्टीका नेता कार्यकर्ताको  भएको भन्दै त्यसका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।

खनालले महाधिवेशन सफल भएको दाबी गरेपनि अधुरो र अपुरो केन्द्रीय कमिटी गठन गरेर महाधिवेशन सफल भयो भन्नु हास्यास्पद रहेको एक केन्द्रीय सदस्यले टिप्पणी गरे ।

‘महाधिवेशन सफल भयो भन्नु बाध्यता हो’, उनले प्रश्न गर्दै भने, ‘अधुरो र अपुरो केन्द्रीय कमिटी गठन गरेर सकिएको महाधिवेशन कसरी हुन्छ सफल ?’

महाधिवेशनले २१ सदस्यीय पदाधिकारीमध्ये अध्यक्ष, महासचिव र सम्मानित नेतासहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत घोषणा गरेपनि १८ सदस्यीय पदाधिकारीसहित २०६ जना केन्द्रीय सदस्य चयन गर्न सकेन ।

महाधिवेशनले अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई दोहोर्‍याएको छ । बाँकी पदाधिकारीमा पनि पुरानै अनुहार दोहोरिने सम्भावना रहेको एक नेताले जानकारी दिए । त्यस्तै केन्द्रीय सदस्यहरूमा पनि खासै नयाँ अनुहार नआउने देखिएको छ । यसअघि ३४६ जनाको केन्द्रीय समिति रहेकोमा त्यसैभित्रबाट पार्टीमा सक्रिय रहेकाहरु मध्येबाट छनोट गर्ने सो पार्टीको तयारी छ ।

महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले केही महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय कमिटी निर्माण निर्वाचनमार्फत गर्नुपर्ने आवाज उठाएपनि तत्काल त्यो सम्भावना नभएपछि व्यापक छलफलमार्फत हालको केन्द्रीय कमिटी गठन भएको बताए ।

उनले विधानको व्यवस्था अनुसार चाँडै २९९ सदस्यीय केन्द्रीय कमिटीले पूर्णता पाउने र त्यसका लागि कार्यकर्ताको भावनाअनुसार आफूहरूले निर्णय गर्ने बताए । ‘तपाईंहरुलाई कुन पदमा बस्न मन छ, त्यो हामीलाई लेखेर दिनुहोला’, अध्यक्ष नेपालले भने, ‘तपाईंहरुको राम्रो चाहाना पनि हामीले थाहा पाउनुपर्‍यो ।’ अध्यक्ष नेपालले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शनिबार दिउँसो बस्ने र आवश्यक निर्णयहरू गर्ने जानकारी समेत गराए ।

त्यस्तै महासचिव घनश्याम भुसालले कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको जिम्मेवारी आफ्नो काँधमा आएको भन्दै सबैभन्दा ठुलो र क्रान्तिकारी पार्टीको रूपमा अघि बढ्ने दाबी गरे ।

‘कम्युनिस्ट आन्दोलनमा समाजवादी कार्यक्रम पारित गरेर ठुलो काम गरेको छौँ’, उनले भने, ‘त्यसपछि हामीले नेतृत्व पनि चयन गरेका छौँ मूलभूत रूपमा । यो महाधिवेशनले सङ्कल्प गरेको र अभिलासा राखेको त्यो सङ्कल्प पूरा हुने क्षणमा आएका छौँ ।’

महासचिव भुसालले विद्रोह गरेर आएकाले लक्ष्य र उद्देश्यका लागि हर चिज त्याग्न तयार हुनुपर्ने नेता कार्यकर्तालाई सन्देश दिँदै रूपान्तरणका लागि महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

किन पाएन केन्द्रीय कमिटीले पूर्णता ?

एकीकृत समाजवादीका एक नेताका अनुसार खासगरी पार्टीको वरिष्ठ उपाध्यक्षसहित उपमहासचिव र सचिव पदका आकाङ्क्षी धेरै नेताहरू रहेका थिए । सीमित पदमा नेताहरूको व्यवस्थापन गर्नुपर्ने भएकाले सबैको चित्त बुझाउन नसक्ने देखेर नै अधुरो केन्द्रीय कमिटी घोषणा गरिएको हो ।

नेताहरूका अनुसार वरिष्ठ उपाध्यक्षमा बेदुराम भुसाल र राजेन्द्र पाण्डेले दाबी छाडेनन् । त्यस्तै उपमहासचिव पदमा जगन्नाथ खतिवडा, गंगालाल तुलाधर, विजय पौडेल, प्रकाश ज्वाला, नागेन्द्र चौधरीलगायतले अडान नछाडेपछि नेतृत्वलाई नेता व्यवस्थापन गर्न कठिन भएको छ । त्यस्तै सात सचिव पदमा पनि अघिल्लो केन्द्रीय कमिटीका सक्रिय नेताहरू आउन खोजेपनि पुराना सचिवहरुलाई सोही पदमा व्यवस्थापन गर्नुपर्ने बाध्यता बन्दा तत्काल कुनै निर्णय गर्न नेताहरूले नसकेको नेताहरू नै स्वीकार गर्छन् ।

केन्द्रीय कमिटीको भागबन्डामा माधव नेपाल पक्ष र घनश्याम भुसाल पक्षले आआफ्नो पक्षका नेता व्यवस्थापन गर्न जोड दिएका छन् ।

आलेले गरे महाधिवेशन बहिस्कार

एकीकृत समाजवादीका सांसद समेत रहेका प्रतिनिधि सभा सदस्य प्रेम आलेले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन बहिस्कार गरेका छन् । काठमाडौँमा महाधिवेशन जारी रहेका बेला आले भने भारत भ्रमणमा गएका थिए ।

‘मलाई यो पार्टीप्रति कुनै आशा छैन । त्यसैले म महाधिवेशन बहिस्कार गर्दै भारत भ्रमणमा गएको हुँ’, आलेले भने, ‘यो पार्टीमा वडा अध्यक्ष जित्न नसक्ने मानिसहरू केन्द्रीय कमिटीमा छन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप