सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय
अल्पमतमा सरकार

‘सरकार ढल्ने अवस्था कसरी भो ?’ प्रश्नको उत्तर दिँदैमा मन्त्रीहरू हैरान

शुक्रबार, २१ असार २०८१, १६ : ०६
शुक्रबार, २१ असार २०८१

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीलाई यतिबेला जोसँग जहाँ भेट हुन्छ, एउटै प्रश्नको सामना गर्नुपरेको छ– ‘कसरी सरकार ढल्ने अवस्था आयो ?’

यस्ता प्रश्नको उत्तर दिँदादिँदा मन्त्री जोशी हैरान बनेका छन् । मन्त्रालयमा होस् वा घरमा, या कुनै सार्वजनिक थलोमा । आफूलाई आजभोलि भेट्ने अधिकांशले यही प्रश्न धेरै सोध्ने गरेको उनले बताए । मन्त्रालयमा पनि काम धेरै नभएको र सरकार ढल्ने अवस्था भइसकेकाले यस्तो बेला काम गर्न जाँगर पनि नआउने उनले उल्लेख गरे ।

मन्त्री जोशीले भने, ‘हाम्रो मन्त्रालयमा त्यस्तो धेरै काम त छैन । सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएर गइसके पछाडि सरकारको बारेमा के होला, कसो होला भन्ने प्रश्न उठेको छ । हामीले मन्त्रालयबाट गर्ने नियमित सामान्य कामहरू गरिरहेका छौँ ।’

यस्तो बेलामा काम गर्ने उत्साह पनि नहुने मन्त्री जोशीको भनाइ छ । अहिलेको राजनीतिक अवस्थाबारे धेरैले प्रश्न गर्ने भएकोले त्यसबारेमा कुरा गर्दैमा धेरै समय जाने उनले बताए । ‘यो कसरी भयो, किन भयो ? मन्त्रालयमा पनि, घरमा पनि, वरपर बस्दा पनि यसबारेमा कुरा गर्दैमा बढी समय गइरहेको छ,’ उनले भने ।

मन्त्रालयमा, मिडियाका सञ्चारकर्मीहरूसँग, राजनीतिक दलका नेता कार्यकर्तासँग र अन्य मान्छेहरूले पनि अहिलेको सरकार परिवर्तनको विषयमा कुरा राख्ने गरेको मन्त्री जोशीले बताए । सरकार ढल्ने अवस्था भए पनि मन्त्रालयका नियमित काम गर्न भने नछोडेको उनले उल्लेख गरे ।  

उनले भने, ‘अहिले सरकारमै रहेको हुनाले कतिपय कानुनका कुरा छन्, दुई वटा महत्त्वपूर्ण विधेयक राज्य व्यवस्था समितिमा छन्, त्यसको बारेमा पनि हामीले छलफल चलाइरहेका छौँ । निजामती कर्मचारी सम्बन्धी विधेयक र गिटी, ढुङ्गा, बालुवा सम्बन्धी विधेयकको बारेमा मन्त्रालय र राज्य व्यवस्था समितिका बिचमा छलफल चलाइरहेका छौँ ।’

अर्को सरकार आए पनि, अहिलेको सरकार भए पनि, जसले गरे पनि गर्नैपर्ने काम भएकाले ती काम गरिरहेको उनले बताए । आर्थिक वर्षको अन्त्य भएको हुनाले कहाँकहाँ के के गर्नुपर्ने हो, के हुन सकेन, त्यसको समीक्षा गर्ने काम पनि भइरहेको उनले बताए । ‘समय त बितिहाल्छ तर अहिले उल्लेखनीय काम भने हुँदैन,’ उनले भने ।

प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिने संवैधानिक अधिकार भएकाले विश्वासको मत प्राप्त नभएको अवस्थामा सरकारबाट बाहिरिने बताउँदै जतिञ्जेल बस्न सकिन्छ, त्यतिञ्जेल मन्त्रालयको नियमित काम गर्न भनेको उनले उल्लेख गरे । प्रधानमन्त्रीले सरकारले गरेका कामहरू संसदबाट देशवासीलाई जानकारी गराउन चाहेको पनि मन्त्री जोशीले जानकारी दिए ।

भैंसेपाटीमा घर रहेका मन्त्री जोशीलाई मन्त्री क्वाटर छोडेर जाँदा कहाँ बस्ने भन्ने चिन्ता छैन । राजीनामा लगत्तै भैंसेपाटीस्थित घरमा जाने उनले बताए ।   

यता स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले पनि अहिलेको राजनीतिक अवस्था, गठबन्धन फेरबदलको अवस्थाबारे धेरैले जिज्ञासा राख्ने गरेको उनले बताए । मन्त्रालय, पार्टीका नेता कार्यकर्ताको भेटघाटमा धेरैजसो यसबारे प्रश्न आउने गरेको उनले उल्लेख गरे ।

एमालेका मन्त्रीहरूले समर्थन फिर्ता लिएर राजीनामा दिइसकेको अवस्थामा सामान्य ढङ्गले मन्त्रालयको नियमित काम अघि बढिरहेको उनले बताए । उनले भने, ‘पछिल्लो राजनीतिक घटनाक्रमपछि काम गर्ने स्पीडमा कम भएको छ । औपचारिक कार्यक्रमहरूमा जान छोडेको छु, मन्त्रालयको दैनिक सामान्य कामहरू गरिरहेको छु ।’

मन्त्री यादवले आफूले मन्त्रालय आएपछि मन्त्रालयले गर्नुपर्ने कामका लागि रेखा कोरेको बताए । भोलिका दिनमा आफू मन्त्री रहे पनि, नरहे पनि जुनसुकै मन्त्री आए पनि काम गर्नका लागि सजिलो बनाएको उनको भनाइ छ ।

उनले भने, ‘कुन मापदण्डका आधारमा मन्त्रालय चलाउने, अस्पतालहरूलाई कसरी सुदृढ र राम्रो बनाउने, अस्पतालमा छिटो बेड पाउने अवस्थालाई सहज गरेको छु । अस्पतालमा जनशक्ति थप गर्नका लागि अर्थ मन्त्रालयमा मैले ओएनएम सर्भे रिपोर्ट पठाइसकेको छु । देशभरका अस्पताल सुधारका लागि के गर्नुपर्छ ? कहाँ के कति उपकरण छ, कहाँ कति उपकरण चाहिन्छ, त्यसको डाटा मगाइसकेको छु, त्यसलाई भोलि कार्यान्वन गर्न सहज हुनेछ ।’

यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले अहिलेको सरकार बहुमत र अल्पमतको नभइ फूल फेजको सरकार रहेको दाबी गरे । उनले भने, ‘ठुला राजनीतिक दल मिलेपछि सरकार अल्पमतमा देखिए पनि संविधान र कानुनी रूपमा यो फूल फेजको सरकार हो । त्यसकारण मन्त्रालय विभाग र त्यससँग सम्बन्धित सबै नियमित काम जारी राखेको छु ।’

उनले सरकारले दीर्घकालीन प्रभाव पार्ने काम नगरेको उल्लेख गरे । मन्त्रालयको नियमित काम रोक्न नमिल्ने भएकाले त्यस्ता कामहरू गरिरहेको उनको भनाइ छ ।

मन्त्री तामाङले मन्त्रीबाट हटेपछि पहिलेकै डेरामा फर्किने तयारी गरेका छन् । उनले भने, ‘मैले पुरानो डेरा छोडेको छैन, म योभन्दा अगाडि पनि डेरामै बस्थेँ, महाराजगञ्जको डेराको भाडा तिरिरहेको छु । एकपटक सरसफाइ गर्नुपर्ला । मन्त्री क्वाटर छोडेपछि कहाँ जाने होला भन्ने चिन्ता छैन मलाई ।’

यस्तै प्रधानमन्त्री प्रचण्ड खुमलटारस्थित पहिलेकै घरमा सर्ने भएका छन् । बालुवाटारबाट सर्नका लागि उनी बस्ने पहिलेको खुमलटारको घरमा रङरोगन र सरसफाइको काम चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप