सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय
राजनीति

मुख्यमन्त्री काठमाडौँबाट फर्किएपछि राजीनामा बुझाउने तयारीमा एमालेका मन्त्रीहरु

शुक्रबार, २१ असार २०८१, १६ : ००
शुक्रबार, २१ असार २०८१

हेटौँडा । माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूले मुख्यमन्त्रीलाई भेटेरै राजीनामा बुझाउन खोजेपनि मुख्यमन्त्री शालिकराम जम्कट्टेल हेटौँडा बाहिर रहेका छन् । जसका कारण तत्काल राजीनामा बुझाउने एमालेका मन्त्रीहरूको योजना प्रभावित बनेको छ । 

केन्द्रीय तहमा एमाले र कांग्रेसको सत्ता समीरकण बनेपछि बागमती प्रदेश सरकार संकटमा छ । समीकरण अनुसार प्रदेशमा पनि एमाले कांग्रेसको साझेदारीको सरकार बन्ने निश्चित रहेको छ भने कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति रहेको छ । सोही समीकरण अनुसार सरकार गठनका लागि जम्कट्टेल नेतृत्वको सरकारबाट एमाले अलग हुनुपर्ने हुन्छ ।

एमालेले नयाँ समीकरण अनुसार सरकार गठनमा पहल गर्न राजीनामाको तयारी गरेपनि मुख्यमन्त्री जम्कट्टेल काठमाडौँमा भएकाले राजीनामा बुझाउन बाँकी एमाले बागमती प्रदेश संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । उनले मुख्यमन्त्रीलाई भेटेरै राजीनामा बुझाइने बताए । मुख्यमन्त्री जम्कट्टेल अझै केही दिन काठमाडौँमै हुने बताइएको छ । 

उनले भने, ‘मुख्यमन्त्री हेटौँडा आएलगत्तै राजीनामा बुझाउँछौँ र नयाँ सरकार गठनको काम अघि बढाउने छौँ ।’

केन्द्रमा प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढेसँगै प्रदेश सरकार गठनको काम पनि अघि बढाउने उनको भनाइ छ । 

३ महिनामा नै फिर्ता हुँदै एमालेका मन्त्रीहरू

एमालेले वर्तमान सरकारमा नियुक्त भएको ३ महिनामा नै मन्त्रीहरूलाई राजीनामा गराउने तयारी गरेको हो । गत फागुन २० मा सत्ता समीकरण परिवर्तन भएपछि प्रदेशमा चैत १७ मा एमाले सरकारमा सहभागी भएको थियो । करिब १ वर्ष प्रतिपक्षमा रहेको एमाले समीकरण फेरिएपछि माओवादी केन्द्र, एकीकृत समाजवादी  हाम्रो नेपाली पार्टीको साझेदारीको सरकारमा सहभागी भएको थियो । एमालेबाट चैत १० मा एक र चैत २० मा ५ जना मन्त्री सरकारमा सहभागी भएका थिए ।

एमालेबाट जम्कट्टेल नेतृत्वको चैत १७ मा आर्थिक मामिला तथा योजना मन्त्री थपलिया र चैत २० मा प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री थपलियासहित खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेल र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ सहभागी भएका थिए ।

आन्तरिक भेटघाटमा व्यस्त मुख्यमन्त्री जम्कट्टेल

यसैबिच सत्ता समीकरण फेरिने सहमति बनेलगत्तै काठमाडौँ पुगेका मुख्यमन्त्री जम्कट्टेल आन्तरिक भेटघाटमा व्यस्त छन् । पार्टीका शीर्ष नेतासहित अन्य दलका नेताहरूसँग उनले भेटघाट गरिरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सत्ता समीकरण र सरकारको भविष्यका विषयमा मुख्यमन्त्री जम्कट्टेलले संसदीय दलका सदस्य र पार्टी कमिटीसँग छलफल गरिरहेको सचिवालयका एक सदस्यले बताए । सत्ता समीकरण परिवर्तनको सहमति पछि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा पर्ने र सो पश्चातको कदम निर्धारणका बारेमा पनि छलफल भइरहेको उनले बताए ।

 मुख्यमन्त्री जम्कट्टेलले नयाँ समीकरण अनुसार सरकार निर्माणको प्रक्रिया अघि बढाइएपछि केन्द्रको निर्देशन अनुसार अघि बढ्ने रणनीति तय गरेका छन् । केन्द्रमा प्रधानमन्त्रीले सहजै मार्ग प्रशस्त गरे सोही अनुसार अन्यथा प्रक्रिया अनुसार विश्वासको मत लिए प्रदेशमा पनि प्रक्रिया फेस गर्ने तयारी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप