सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

एक इन्जिनियर र दुई जना सवइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शुक्रबार, २१ असार २०८१, १६ : ०१
शुक्रबार, २१ असार २०८१

काठमाडौँ । पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौँका इन्जिनियर राजीव बस्नेत, सवइन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

निर्माण कार्य सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले सवइन्जिनियरद्वय भट्टराई र अर्याललाई १७ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका इन्जिनियर राजीव बस्नेतसहित सवइन्जिनियरद्वय भट्टराई र अर्यालले मिलेमतोमा निर्माण सम्पन्न पश्चात् ठेक्का बापतको रकम प्राप्तिका लागि सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको हुँदा तीनै जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।

इन्जिनियर बस्नेत, सवइन्जिनियरद्वय भट्टराई र अर्याललाई भ्रष्टाचार निवारण ऐन बमोजिम १७ हजार रुपैयाँ बिगो कायम गरी कैद सजाय तथा बिगो बमोजिम जरिवानाको सजाय मागदाबी गर्दै मुद्दा दायर भएको घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप