सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

रोनाल्डोको बारेमा के भन्छन् एमबाप्पे ?

शुक्रबार, २१ असार २०८१, १४ : १६
शुक्रबार, २१ असार २०८१

काठमाडौँ । कोठाको एउटा भित्तामा ब्राजिलियन स्टार नेमार र प्रभावशाली बेल्जियन मिडफिल्डर इडेन हाजार्डको पोस्टर छ । अर्को भित्तामा रेनेसका पूर्वस्ट्राइकर जिरेस केम्बोको तस्बिर । जिरेस उनका धर्मदाजु हुन् । उनको माता–पिताले जिरेसलाई धर्मपुत्रका रूपमा अपनाएका थिए ।

बस, यति । बाँकी उनको कोठाको चारैतिर पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोभन्दा अरू सकैको तस्बिर देख्न पाइँदैन । कोठाको भित्ताभरी एक इन्च पनि ठाउँ खाली नछाडी रोनाल्डोका विभिन्न पोजका तस्बिरमात्र टाँगिएका छन् । 

यो, वर्तमान फ्रान्सेली टोलीका कप्तान केलियन एमबाप्पेको कोठामा देखिएको आजभन्दा ११ वर्षअघिको दृश्य हो । त्यतिबेला उनी केवल १४वर्षका किशोर थिए र विश्व फुटबलमा उनको नाम चर्चामा पनि थिएन । त्यसबेलादेखि नै उनी समकालीन विश्व फुटबलका महान् खेलाडीमध्येका एक रोनाल्डोका कट्टर समर्थक थिए ।

पोर्चुगिज स्टार रोनाल्डो त्यतिबेला स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडका प्रभावशाली खेलाडी थिए । फुटबल मैदानमा रोनाल्डोकै जादुमयी प्रदर्शनका कारण रियल म्याड्रिड सफलताको शिखरमा थियो । अनि उनै रोनाल्डो एमबाप्पेका पनि आदर्श खेलाडी थिए । सायद त्यसैले, रोनाल्डोसँगै रियल म्याड्रिड पनि एमबाप्पेको सबैभन्दा मनपर्ने क्लब थियो । 

पाँच पटकका बालेन डी’ओर विजेता रोनाल्डो आफ्नो आदर्श खेलाडी भएको तथ्य एमबाप्पेले कहिल्यै लुकाएनन् । उनले सार्वजनिक रुपमै पनि पटक–पटक यो विषयमा चर्चा गरिरहे । अहिले आएर एमबाप्पे आफै पनि विश्व फुटबलको प्रभावशाली खेलाडीको सूचीमा दरिन भ्याइसकेका छन् ।

K and R

समयको लामो कालखण्ड बितिसक्दा अहिले एमबाप्पे विश्वभरका थुप्रै फुटबलरको आदर्श हुन् । यति प्रगाढ सम्बन्धमा जोडिएका रोनाल्डो र एमबाप्पे शनिबार विहान युरोकपको दोस्रो क्वार्टरफाइनलमा एक–अर्काविरुद्ध मैदानमा ओर्लँदैछन् । 

यसअघि पनि चारपटक एमबाप्पे र रोनाल्डो एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका छन् । समकालीन विश्व फुटबलका यी दुई प्रभावशाली खेलाडी दुईपटक क्लब फुटबलमा एक–अर्काविरुद्ध ओर्लिएका हुन् भने दुईपटक अन्तर्राष्ट्रिय फुटबलमा । 

सम्भवतः युरोकपमा शनिबार विहान यी दुई हस्ती अन्तिम पटक अन्तर्राष्ट्रिय फुटबलमा एक–अर्काविरुद्ध मैदानमा ओर्लनेछन् । उमेरले ३९ वर्ष पुगिसकेका रोनाल्डो आगामी विश्वकप र युरोकपमा खेलाडीको भूमिकामा मैदानमा देखापर्ने छैनन् ।

‘मेरो वाल्यकालको आदर्श रोनाल्डोविरुद्ध मैदानमा ओर्लनु मेरा लागि सम्मानको विषय हो । यो खेललाई लिएर म निकै उत्साही पनि छु,’ पोर्चुगलविरुद्धको खेलअघि २५ वर्षीय प्रभावशाली स्ट्राइकर एमबाप्पेले भनेको छन् । 

एमबाप्पे अझै पनि रोनाल्डोको खेलको प्रशंसा गरेर थाक्दैनन् । ‘म एक अद्वितीय खेलाडीको मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु । उनले विश्व फुटबलमा गहिरो छाप छाडेका छन् । रोनाल्डो धरै अर्थमा विशेष छन् । उनले नयाँ पुस्तालाई सधैँ प्रेरणा प्रदान गर्दै आएका छन् । उनले थुप्रै गोल गरेका छन् र उपाधि पनि जितेका छन् । उनको बारेमा कसैले भन्नु पर्दैन, विश्व फुटबलका तथ्याङ्कहरू नै उनको सफलताको कथा सुनाउन पर्याप्त छन्,’ रोनाल्डोको बारेमा एमबाप्पे भन्छन् ।

यसका बावजुद एमबाप्पे युरोकपको क्वार्टरफाइनल खेलमा आफ्नो टोलीले पोर्चुगललाई हराउने दाबी गर्छन् । एमबाप्पे भन्छन्, ‘रोनाल्डोको महानतामा शंका गर्ने कुनै ठाउँ छैन तर, मेरो विचारमा युरोकपको क्वार्टरफाइनल खेल उहाँका लागि सुखद हुनेछैन ।’

रोनाल्डोसँगै विश्व फुटबलमा एमबाप्पेका अन्य केही आदर्श खेलाडी पनि छन् । ‘हो, आदर्श खेलाडीको सूचिमा अन्य केही फुटबलरको पनि नाम आउँछ । क्रिस्टियानो रोनाल्डोसँगै जिनेदिन जिदान, पेले, रोनाल्डो (ब्राजिल), रोनाल्डिन्हो र काकाले पनि मेरो खेल जीवनमा गहिरो प्रभाव पारेका छन्,’ एमबाप्पे भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप