सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय
युरोकप फुटबलको दोस्रो क्वार्टरफाइनल

रोनाल्डोको पोर्चुगल र एमबाप्पेको फ्रान्सबिच सेमिफाइनलमा पुग्न घम्साघम्सी

शुक्रबार, २१ असार २०८१, १४ : ०८
शुक्रबार, २१ असार २०८१

काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा उपाधिको बलियो दाबेदार मानिएका दुई टोली पोर्चुगल र फ्रान्सबिच शनिवार दोस्रो क्वार्टरफाइनल खेल खेलिँदैछ । उक्त खेल नेपाली समय अनुसार, बिहान ००ः४५ बजे सुरु हुनेछ । 

जारी युरोकपमा पोर्चुगल र फ्रान्स दुबैको प्रदर्शन उत्कृष्ट देखिएको छ । यी दुबै टोलीको उपाधिको हकदारका रूपमा पनि हेरिएको छ । यद्यपि, शनिवार बिहानको खेलपछि यी दुईमध्ये एक टोली सेमिफाइनलमा पुग्न र अर्को टोली घर फर्किने पक्का छ । 

पोर्चुगल समूहगत चरणमा विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । प्रारम्भिक चरणमा पोर्चुगल समूह ‘एफ’ मा परेको थियो । पोर्चुगलले तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो ।

समकालीन विश्व फुटबलका महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले आफ्नो पहिलो खेलमा चेक गणतन्त्रलाई २–१ गोलले हराएको थियो । पोर्चुगलले आफ्नो दोस्रो खेलमा टर्कीमाथि ३–० गोलको सजिलो जित हात पारेको थियो ।

तेस्रो खेलमा भने पोर्चुगलको टोली अप्रत्याशित रूपमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी जर्जियासँग ०–२ गोलले पराजित हुन पुगेको थियो । समूहगत चरणमा पोर्चुगलले कुल पाँच गोल गरेको थियो भने तीन गोल खाएको थियो ।

प्रि–क्वार्टरफाइनलमा भने पोर्चुगलले स्लोभानियालाई पेनाल्टी सुटआउटमा ३–० गोलले हराएको थियो । यी दुबै टोलीबिचको निर्धारित र थप गरिएको समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । उक्त खेलमा पोर्चुगलका गोलरक्षक डिएगो कोस्टा नायक बनेका थिए ।

यसैगरी फ्रान्स समूहगत चरणको उप–विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । प्रारम्भिक चरणमा फ्रान्स समूह ‘डी’ मा थियो । फ्रान्सले तीनमध्ये एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो ।

फ्रान्सले आफ्नो पहिलो खेलमा अस्ट्रियालाई १–० गोलले हराएको थियो । दोस्रो खेलमा फ्रान्सको टोली नेदरल्यान्ड्ससँग गोलरहित बराबरीमा रोकिएको थियो । तेस्रो खेलमा पनि फ्रान्सको टोली पोल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

फ्रान्सले समूहगत चरणको खेलमा केवल दुई गोल गरेको थियो भने एक गोल खाएको थियो । अन्तिम १६ टोलीबिचको भिडन्तमा भने फ्रान्सले बलियो प्रतिद्वन्द्वी बेल्जियममाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हात पारेको थियो । 

विश्व फुटबल महासंघद्वारा जारी गरिएको पछिल्लो वरीयतामा फ्रान्स दोस्रो र पोर्चुगल छैटौँ स्थानमा आसीन छन् । युरोकपको छनोट प्रतियोगितामा पनि यी दुबै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए । पोर्चुगल आफ्नो समूहको विजेता बन्दै युरो कपमा छनोट भएको हो । 

पोर्चुगलले छनोट चरणमा खेलिएको १० वटै खेलमा जित हात पारेको थियो । छनोट चरणमा पोर्चुगलले विपक्षीको पोष्टमा कुल ३६ गोल गरेको थियो भने केवल दुई गोल खाएको थियो । छनोट प्रतियोगितामा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो एक्लैले १० गोल गरेका थिए ।

portugal vs france

जारी युरोकपको छनोट प्रतियोगितामा फ्रान्स पनि आफ्नो समूहको विजेता बनेको थियो । फ्रान्स पनि आफ्नो समूहमा अपराजित रहँदै युरोकपमा छनोट भएको हो । छनोट चरणमा खेलिएको आठमध्ये सात खेलमा विजयी भएको फ्रान्स एउटा खेलमा भने बराबरीमा रोकिएको थियो । छनोट प्रतियोगितामा फ्रान्सले विपक्षीको पोष्टमा २९ गोल गरेको थियो भने केवल तीन गोल खाएको थियो ।

 फ्रान्स र पोर्चुगलबिच हालसम्म अन्तर्राष्ट्रिय फुटबलमा कुल २८ खेल खेलिएको छ । त्यसमध्ये १९ खेलमा फ्रान्सले पोर्चुगललाई हराएको छ । ६ खेलमा पोर्चुगलले फ्रान्सलाई पराजित गरेको छ । यी दुई टोलीबिचको तीन खेल भने बराबरीमा सकिएको छ । 

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो युरोकपको अघिल्लो संस्करणमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले अघिल्लो युरो कपमा पाँच गोल गरेका थिए । ३९ वर्षीय रोनाल्डोको यो अन्तिम युरोकप हो । 

त्यसैले उनी आफ्नो कप्तानीमा यसपटक पोर्चुगललाई युरोकपको उपाधि जिताउन चाहन्छन् । रोनाल्डोले यसअघि पनि पोर्चुगललाई युरोकपको उपाधि चुमाइसकेका छन् । सन् २०१६ मा रोनाल्डोसहितको पोर्चुगलले युरोकपको उपाधि उचालेको थियो । 

त्यतिबेला पोर्चुगलको टोलीले फाइनलमा आयोजक राष्ट्र फ्रान्सलाई अतिरिक्त समयमा १–० गोलले हराएको थियो । रोनाल्डोले छैटौँ पटक युरोकपमा सहभागिता जनाएका हुन् । उनी युरोकपको ६ वटा संस्करणमा सहभागिता जनाउने एकमात्र खेलाडी पनि हुन् । 

रोनाल्डोले सन् २००४ देखि नियमित रूपमा युरोकपमा सहभागिता जनाउँदै आएका छन् । उनी युरोकपमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी पनि हुन् । उनी युरोकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । 

युरोकपमा पोर्चुगलको यो नवौँ सहभागिता हो । पोर्चुगलले सन् १९८४ मा पहिलो पटक युरोकप खेलेको थियो । पोर्चुगल सन् २००४ मा उप–विजेता पनि बनेको थियो । त्यतिबेला फाइनलमा ग्रिसले पोर्चुगललाई १–० गोलले हराएको थियो । 

युरोकपमा फ्रान्सको यो ११औँ सहभागिता हो । सन् १९६० मा सम्पन्न पहिलो संस्करणमै फ्रान्सले युरोकपमा सहभागिता जनाएको थियो । फ्रान्स युरोकपको दुई पटकको पनि हो । फ्रान्सले सन् १९८४ मा युरोकपको उपाधि चुमेको थियो । 

त्यतिबेला फ्रान्सले फाइनलमा बलियो प्रतिद्वन्द्वी स्पेनलाई २–० गोलले हराएको थियो । त्यतिबेला फ्रान्सेली टोलीमा प्रभावशाली खेलाडी मिचेल प्लाटिनी, म्याक्सिम बोसिस, लुइस फर्नान्डेजजस्ता प्रभावशाली खेलाडी सहभागी थिए । 

सन् २००० मा पनि फ्रान्सले युरोकपको उपाधि उचालेको थियो । त्यतिबेला फाइनलमा फ्रान्सले इटालीलाई पराजित गरेको थियो । फ्रान्स सन् २०१६ मा पनि युरोकपको फाइनलसम्म पुगेको थियो । घरेलु मैदानमा आयोजित त्यो युरोकपको फाइनलमा फ्रान्सेली टोली पोर्चुगलसँग अतिरिक्त समयमा १–० गोलले पराजित भएको थियो । 

त्यसअघि सन् १९६० मा सम्पन्न पहिलो संस्करणमा फ्रान्स चौथो भएको थियो । सन् १९९६ मा पनि फ्रान्सेली टोलीले चौथो स्थान हासिल गरेको थियो । फ्रान्सेली टोली आफूले खेलेको पछिल्ला चार ठुला प्रतियोगितामध्ये तीनवटाको फाइनलमा पुग्न सफल भएको छ । 

फ्रान्सले सन् २०१८ को विश्वकप फुटबलको उपाधि पनि जितेको थियो । त्यतिबेला फ्रान्सेली टोलीले फाइनलमा क्रोएसियालाई ४–२ गोलले हराएको थियो । त्यसलगत्तै सन् २०२२ मा खेलिएको कतार विश्वकपमा पनि फ्रान्सेली टोली फाइनलमा पुगेको थियो । त्यो विश्वकपको फाइनलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै उपाधि चुमेको थियो । 

फ्रान्स र पोर्चुगलबिच हालसम्म अन्तर्राष्ट्रिय फुटबलमा कुल २८ खेल खेलिएको छ । त्यसमध्ये १९ खेलमा फ्रान्सले पोर्चुगललाई हराएको छ । ६ खेलमा पोर्चुगलले फ्रान्सलाई पराजित गरेको छ । यी दुई टोलीबिचको तीन खेल भने बराबरीमा सकिएको छ । 

यी दुई टोलीबिच सन् १९२६ को अप्रिल १८ तारिखमा पहिलो भिडन्त भएको थियो । त्यसमा फ्रान्सले पोर्चुगललाई ४–२ गोलले हराएको थियो । यी दुई टोलीबिच पछिल्लो खेल भने सन् २०२१ को जुन २३ तारिखमा खेलिएको थियो । त्यो खेल २–२ गोलको बराबरीमा सकिएको थियो । 

जारी युरोकपमा डिडियर डेसच्याम्पस फ्रान्सका प्रमुख प्रशिक्षक हुन् । फ्रान्सेली टोलीमा एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे (कप्तान), ओसमेन डेम्बेल, ब्राइस साम्बा (गोलरक्षक), ओलिभर गिरोडलगायतका चर्चित खेलाडी सहभागी छन् । 

जारी युरोकपमा पोर्चुगलको प्रमुख प्रशिक्षक रोबर्टो मार्टिनेज हुन् । पोर्चुगलको टोलीमा रोनाल्डोसँगै रोमाका डिएगो कोस्टा (गोलरक्षक), बार्सिलोनाका जाओ फेलिस्क, पेरिस सेन्ट जर्मनका गोन्कालो रामोस, एसी मिलानका राफेल लियो, एफसी पोर्टोको पेपे, म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस लगायतका खेलाडी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप