केपी ओलीको ऐतिहासिक भुल
नेपालको राजनीतिमा छली, कपटी, बेइमानी र धोकाधडी सामान्यजस्तै भए । अब कसैको भर कसैसँग रहेन । अर्थात् कसैले कसैलाई विश्वास गर्ने वातावरण छैन ।
विगतमा पार्टीहरू चुनावमा जान्थे, जनतालाई विभिन्न आश्वासन बाँड्थे, चुनाव जित्थे, जनता भुल्थे, फेरि अर्को चुनावमा त्यसैगरी जनता भुलाउन आइपुग्थे । विगतदेखि चल्दै आएको यो शृङ्खला वर्तमानसम्म जारी छ । पार्टीका जनतालाई ठग्ने नयाँ–नयाँ तरिका र धन्दा आएका छन्, धन्दा चलिरहेकै छन् ।
अब ठगीको धन्दाले पार्टीकरण ग्रहण गरेको छ । पार्टीले पार्टीलाई ठग्ने, पार्टीले पार्टीलाई विश्वासघात गर्ने, एउटा पार्टीले अर्को पार्टीविरुद्ध गम्भीर षड्यन्त्र गर्ने— यस्तो अनैतिक र तल्लोस्तरको राजनीतिक संस्कार आज नेपाली समाजभित्र व्यापक हुँदै गइरहेको छ । यसले नेपाली समाजको आधारभूत चरित्रलाई तहसनहस गर्ने र देशलाई नै खतम गर्न सक्ने संकेत देखिन थालेका छन्, जो ‘दुर्भाग्यपूर्ण’ छ ।
२०७२ सालमा संविधान निर्माण भएपछि जनताका इच्छा र आकाङ्क्षामा नयाँ आशाको सञ्चार भयो । युगौँदेखि राज्य, सरकार र शासकबाट प्रताडित जनतामा स्वतन्त्रता र विकासका अपेक्षा जागृत भएर आए, जुन स्वाभाविक थियो । २०७४ असोज १७ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबिच ६ बुँदे सहमति भएर निर्वाचनमा सहकार्य गर्दै एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणा भयो । २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा एमाले–माओवादी केन्द्रको वाम गठबन्धनलाई झन्डै दुईतिहाइ मत प्राप्त भयो । केपी ओली देशका शक्तिशाली प्रधानमन्त्री भए । ६ प्रदेशमा वामपन्थी सरकार गठन भयो । चुनावको नतिजाले जनताको स्थिर सरकारको अपेक्षा पनि पूरा भयो ।
तत्कालीन माओवादीसँग एमालेले रातारात गरेको अनपेक्षित चुनावी एकतालाई जनताले अनुमोदन गरिदिएका थिए । यी दुई पार्टीबिच कुन खालको आन्तरिक सहमति भएको थियो वा कुन शक्तिको समर्थनमा त्यो स्थिति सिर्जना भएको थियो ? त्यसको रहस्योद्घाटन आगामी दिनमा हुँदै जाला, जेहोस् जनतामा फिँजाइएको भ्रमले सफलता प्राप्त गरेको थियो ।
२०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबिच पार्टी एकता भई नेकपा नामकरण भयो । केपी ओली तत्कालीन समयमा राजनीतिको प्रमुख केन्द्रमा थिए । ओलीका लागि त्यो देश र पार्टीका लागि काम गर्ने ऐतिहासिक अवसर थियो । उनले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न चाहेको भए जेसुकै निर्णय गर्न सक्ने अवस्था थियो ।
‘दुर्भाग्य’ भनौँ वा राजनीति ? ओलीले त्यो अवसरलाई सही सदुपयोग गर्न सकेनन् । पार्टी एकीकरण भएको एक वर्ष नहुँदै पार्टीभित्र खिचलो सुरु भयो । ओली र प्रचण्ड दुई पाइलट रहेको विमानभित्र शक्तिको एक्सरसाइज हुन थाल्यो । अनपेक्षित रूपमा भएको चुनावी गठबन्धन र पार्टी एकता सिद्धान्तहीन थियो भन्ने कुरा खुल्दै गयो । ओली र प्रचण्डको चरम महत्त्वाकाङ्क्षा र अवसरवादका कारण नै पार्टी एकता भएको थियो भन्ने स्पष्ट भयो ।
२०७९ को निर्वाचनमा कांग्रेस, माओवादी लगायतको चुनावी गठबन्धन भयो । गठबन्धनको राजनीतिक उद्देश्य थियो— प्रतिगमनबाट देशलाई जोगाउनु । गठबन्धनले अपेक्षित नतिजा प्राप्त गर्न सकेन, यद्यपि ओलीले गरेको संसद् विघटनलाई चुनावले खारेज गरिदियो ।
ओलीले प्रचण्डलाई पार्टी अध्यक्ष पनि नछाड्ने र आलोपालो प्रधानमन्त्री पनि नदिने भएपछि पार्टीभित्र तीव्र मतभेद सुरु भयो । ओली नेकपाभित्र अल्पमतमा परे । यतिसम्म कि पोलिटब्युरोदेखि केन्द्रीय समितिसम्म अल्पमतमा परेपछि उनी पार्टीका मिटिङहरू समेत बङ्क गर्न थाले । त्यसअघि उनी संविधान जारी भएपछि त्यसको कार्यान्वयन गर्ने प्रथम प्रधानमन्त्री हुँदा उनीमा केही राष्ट्रवादी छवि बनेको थियो । नेकपाभित्र विवाद सिर्जना भएपछि ओलीले २०७७ कात्तिक ५ गते भारतीय गुप्तचर रअका प्रमुख सामन्त गोयललाई मध्यरातमा भेटे, त्यसपछि नेपालको राजनीतिले बेग्लै मोड लियो ।
उनले पार्टीका कुनै पनि निर्णय मान्न जरुरी ठानेनन् । पार्टीको सल्लाहबिनै सरकारको सञ्चालन गर्न थाले ।
यसबिचमा समस्या समाधान गर्ने प्रयत्न भए पनि ती असफल भए । २०७७ पुस ५ गते ओलीले सांसदको विघटन गर्ने प्रस्ताव लिएर राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ गए । भण्डारीले त्यसलाई सदर गरिदिइन् । नेपालको राजनीतिक इतिहासमा ओलीको त्यो गम्भीर भुल थियो ।
ओलीले चाहेको भए नेकपा जोगाउन सक्थे, आफू प्रधानमन्त्री थिए, प्रचण्डलाई पार्टी अध्यक्षको जिम्मा लगाउन सक्थे, वा आफूले पार्टी चलाएर दुई वर्षका लागि प्रचण्डलाई प्रधानमन्त्री दिन सक्थे । चुनावी गठबन्धन र पार्टी एकता गरेपछि जुनसुकै स्थितिमा त्यति त्याग गर्ने आँट ओलीमा हुनुपथ्र्यो । चरम महत्त्वाकांक्षा, घमण्ड र आफूबाहेक अर्को कोही छैन भन्ने हठले ओलीलाई भ्रष्ट बनाइदियो । विडम्बना, नेपालको राजनीतिक आकाशमा कालो बादल मडारियो । दुईतिहाइ मत प्राप्त सरकारले दुई–दुईपटक संसदको विघटन गरेपछि जनताका आशा एवं अपेक्षामा तुषारापात भए ।
ओलीले संसद् विघटन गरी संविधान मिच्न खोजेसँगै वामपन्थीको सरकार ढल्यो, प्रदेश सरकारहरू ढले । नेकपा त फुट्यो नै, एमाले समेत जोगिएन । ठुलो अपेक्षा राखेका नेपाली जनतामा वितृष्णाको पारो ह्वात्तै बढ्यो । युवाका सपनाको चीरहरण गरियो । राजनीतिको कोर्स नै परिवर्तन भयो । ओलीले अलिकति पनि धैर्यता देखाएर बुद्धिमत्तापूर्ण तरिकाले चलेको भए आज राजनीति यो स्थितिसम्म आइपुगिँदैनथ्यो । त्यो सरकारले पाँच वर्षसम्म काम गर्न सकेको भए २०७९ को चुनाव पनि तत्कालीन नेकपाले नजित्ने कुरै थिएन । स्वतन्त्र र नयाँ पार्टीहरू नेपाली राजनीतिमा आउनुमा त्यो घटना नै प्रमुख रूपले जिम्मेवार छ ।
२०७९ को निर्वाचनमा कांग्रेस, माओवादी लगायतको चुनावी गठबन्धन भयो । गठबन्धनको राजनीतिक उद्देश्य थियो— प्रतिगमनबाट देशलाई जोगाउनु । त्यो गठबन्धन अघिल्लो वाम गठबन्धनजस्तो सफल हुने स्थिति थिएन । तर गठबन्धनभित्रै कैयौँ अविश्वास सिर्जना भए । गठबन्धनले अपेक्षित नतिजा प्राप्त गर्न सकेन, यद्यपि ओलीले गरेको संसद् विघटनलाई चुनावले खारेज गरिदियो ।
चुनावपछि सरकारको निर्माणमा अनेकौँ अस्वाभाविक गतिविधि भए । चुनावमा गठबन्धन गरेर आएपछि स्वाभाविक यो हुन्छ कि त्यो कार्यकालभर गठबन्धनलाई कायम राख्नु, अर्थात् जनताको जुन प्रकारको अभिमत हो, त्यसलाई त्यही रूपमा प्रयोग गर्नु । चुनावमा गठबन्धन गरेर आएपछि सरकार निर्माणमा पनि त्यही प्रकारको समझदारी आवश्यक थियो । गठबन्धनको ठुलो दलको हैसियतमा सुरुमा कांग्रेसलाई सत्ता चलाउन दिनु र मन्त्रीहरू कायम राख्दै प्रधानमन्त्री आलोपालो गर्नु न्यायोचित हुन्थ्यो । वास्तवमा प्रचण्डले त्यसलाई दुरुपयोग गर्न थाले । उनले आफ्नो सिट सङ्ख्यालाई प्रधानमन्त्री पदका लागि सौदाबाजी गरे ।
जसको विरुद्ध जे भनेर भोट मागिएको हो, उसैसँग प्रधानमन्त्रीको बार्गेनिङ गर्नु लज्जास्पद थियो । प्रचण्डको चरम प्रकारको अवसरवादी राजनीतिलाई समर्थन गरेर ओलीले अर्को गम्भीर गल्ती गरे । एमालेसहित कांग्रेससम्मको समर्थनमा २०७९ पुसमा प्रचण्ड प्रधानमन्त्री भए । २०७९ चैतमा फेरि प्रचण्ड र कांग्रेसबिच गठबन्धन भयो । प्रचण्ड अस्थिर राजनीतिको परिणामका लागि जति जिम्मेवार छन्, पछिल्लो समय त्यसलाई मलजल गर्न ओली अझ बढी जिम्मेवार छन् । ओलीले गत २०८० फागुनमा माओवादी–कांग्रेसको गठबन्धन तोडेर फेरि प्रचण्डलाई नै प्रधानमन्त्री बनाए । आगामी २०८४ को चुनावसम्म वाम एकता कायम गर्ने भनेर उद्घोष गरिएको त्यो समझदारी तोड्दै प्रचण्डलाई नै जादु देखाइदिँदै ओली अहिले कांग्रेसको समर्थनमा प्रधानमन्त्री हुने रेसमा छन् ।
पछिल्लो राजनीतिक अस्थिरताका प्रमुख नाइके ओली हुन् । किनकि २०७९ को चुनावमा प्रतिगमन विरोधी गठबन्धन गरिएका जुनसुकै पार्टीसँग मिले पनि ती पार्टीले प्राप्त गरेको मत ओलीविरुद्धको मत हो । आफ्नै विरुद्धको मतसँग मिलेर जस्तोसुकै गठबन्धन गरे पनि ओलीको त्यो अप्राकृतिक गठबन्धन हो । त्यसकारण ओलीले बारम्बार गठबन्धन बनाउने र भत्काउने लज्जास्पद कामको पूरै नेतृत्व गरिरहेका छन् । परिस्थिति यस्तो भइसक्यो, कसैले कसैलाई विश्वास गर्ने स्थिति छैन । कांग्रेसको काँधमा ओली कति दिन झुन्डिन्छन् ? त्यसको कुनै ठेगान छैन । यस प्रकारको अराजक स्थितिको सिर्जना हुनुमा जति दोषी प्रचण्ड छन्, त्योभन्दा सयौँ गुना दोषी केपी ओली छन् । वर्तमानको जटिल, तरल र अस्थिर राजनीतिको प्रमुख दोषी केपी ओली हुन् । ओलीका प्रतिगामी, असंवैधानिक र अराजनीतिक कर्महरूलाई इतिहासले कहिल्यै माफी दिनेछैन ।
(लेखक जीसी अखिल (छैटौँ) महासचिव ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री
-
श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
-
बैकुण्ठ अर्यालको राजीनामा स्वीकृत
-
१० बजे १० समाचार : कम्बोडियामा नेताहरुको लर्कोदेखि अर्को झमेलामा दुर्गा प्रसाईंसम्म
-
माछापुछ्रे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
-
प्रविधि र तालिम प्राप्त जनशक्तिका कारण सेवा प्रवाह गुणस्तरीय बन्दै छ : मन्त्री पौडेल