सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

सम्पत्ति विवादमा यती ग्रुप, अध्यक्ष सोनामविरुद्ध बुहारीले हालिन् अंश मुद्दा

शुक्रबार, २१ असार २०८१, ११ : ४४
शुक्रबार, २१ असार २०८१

काठमाडौँ । यती ग्रुप अफ कम्पनी (यती वर्ल्ड नेपाल) पारिवारिक सम्पत्ति विवादमा फसेको छ । पैतृक सम्पत्तिमा लाक्पा सोनाम शेर्पाले एकलौटी गरेको भन्दै आफ्नै भाइ बुहारी फुरदिकी शेर्पाले जेठाजुविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि यती ग्रुपको सम्पत्ति विवाद बाहिर आएको हो । 

बुहारी फुरदिकी शेर्पासहित भतिज दावा जाङ्वु शेर्पाले गत असार १८ गते सोनाम शेर्पासहित पासाङ रिङ्जी शेर्पा, चन्द्रा शेर्पा, नावाङ शेर्पा, नोर्बु छिरिङ शेर्पा लगायतलाई विपक्षी बनाई काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । 

यती ग्रुपका तत्कालीन सञ्चालक आङटेन्डी शेर्पा (मृतक) का श्रीमती फुरदिकी र छोरा दावा जाङवुले हालसम्म पैतृक सम्पत्ति भागबन्डा नभएको र जेठाजु सोनाम शेर्पाले एकलौटी गरेको भन्दै अंश मिलाइदिन अदालतमा मुद्दा दायर गरेकी हुन् । 

हवाई उड्डयनसँगै पर्यटन, होटेल तथा रिसोर्ट व्यवसायमा साम्राज्य खडा गरेको यती ग्रुप अफ कम्पनीले देशका विभिन्न ठाउँहरूमा व्यवसायसँगै ठुलो परिमाणमा चल अचल सम्पत्ति जोडेको छ । २५ वर्षअघि दुई भाइ आङछिरिङ शेर्पा र लाक्पा सोनम शेर्पाले थामसेर्कु ट्रेकिङ प्रा.लि. खोलेर ट्रेकिङ व्यवसाय सुरु गरेका थिए । तर उक्त ग्रुपले हाल नेपालको होटेल, ट्राभल तथा पर्यटन क्षेत्रमा वृहत् सञ्जाल विस्तार गरेको छ । 

उड्डयन क्षेत्रमा यती एयरलाइन्स, तारा एयर, हिमालयन एयरलाइन्ससँगै एयर डाइनास्टीमा लगानी गरेको ग्रुपले पर्यटन क्षेत्रमा थामसेर्कु ट्रेकिङ, यती इनसेन्टिभ ट्राभल, यती होलिडेज्, यती एड्भेन्चर, कोरा टुर्स्मा लगानी गरेको छ भने होटेल तथा रिसोर्टतर्फ प्रसिद्ध गोकर्ण फरेस्ट रिसोर्टका साथसाथै चितवनमा होटेल कसरा, यती माउन्टेन होम, मुस्ताङमा मोक्क्ष होटेल लगायत आधा दर्जन बढी होटेल तथा रिसोर्टमा लगानी गरेको छ । 

यतीठूलो व्यावसायिक सञ्जाल र लगानी रहेको ग्रुपको जिम्मेवारी भने पछिल्लो समय सोनाम एक्लैले सम्हाल्दै आएका छन् । 

आङछिरिङ शेर्पाको निधनपछि यती ग्रुपमा समस्याको सुरुवात

शेर्पा परिवारमा तीन दाजु भाइ छन् । जेठो लाक्पा सोनाम शेर्पा (हाल समूहको अध्यक्ष), माइला आङछिरिङ शेर्पा र कान्छा आङटेन्डी शेर्पा । यी तीन दाजुभाइ मध्ये जेठो भाइ लाक्पा सोनाम मात्र जीवित छन् । 

माइला भाइ आङछिरिङ शेर्पा २०७५ फागुन १५ गते ताप्लेजुङको चुहानडाँडामा भएको हेलिकप्टर दुर्घटनामा वितेका थिए । उक्त दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । जतिबेला आङछिरिङ यती एयरलाइन्सको प्रबन्ध निर्देशक थिए । तथापि, आङछिरिङले पारिवारिक व्यवसायको साम्राज्य नै धानेका थिए । 

यसअघि नै कान्छाभाइ आङटेन्डीको पनि हवाइ दुर्घटनामा नै मृत्यु भइसकेको थियो । तीन भाइमध्ये माइला र कान्छाको मृत्यु पश्चात् स्वाभाविक रूपमा पारिवारिक र व्यवसायको जिम्मेवारी जेठाभाइ लाक्पा सोनामको काँधमा आयो । 

तत्कालीन समयमा थामसेर्कु ट्रेकिङको अध्यक्ष रहेका सोनामले नै पूर्ण पारिवारिक व्यवसाय हेर्नुपर्ने भयो । यद्यपि, तीन भाइका छोराहरुले व्यवसायको विभिन्न क्षेत्र हेरिरहेका छन् । 

जसरी आङछिरिङ शेर्पाले पहिला सिंगो परिवार र व्यवसाय सम्हालिरहेका थिए उनको मृत्युपश्चात् जेठादाइ सोनामले भने पहिले जस्तै गरी सम्हाल्न सकेनन् । अन्ततः शेर्पा परिवारको व्यावसायिक साम्राज्य सम्पत्ति विवादमा अदालतसम्म पुगेको छ । 

अंश छुट्याइदिन अदालतसँग माग

मुद्दा दायरकर्ता फुरदिकी शेर्पाले जेठाजु सोनामले सगोल सम्पत्तिमा मनलाग्दी गरेको र अंशबन्डा नगरिदिएको आरोप लगाएकी छिन् । आधा खर्ब भन्दा बढी सम्पत्ति रहेको शेर्पा ग्रुपको कहाँ कति सम्पत्ति छ र कहाँ कसको कति सेयर स्वामित्व छ भन्ने नै जानकारी नभएको उनले बताएकी छिन् । 

मुद्दा दायरकर्ता फुरदिकीले मुलुकी देवानी संहिता, २०७४ अनुसार आफ्नो अंश हक छुट्याई पाउँ भन्दै जिल्ला अदालतमा मुद्दा दायर गरेकी छिन् । यद्यपि, अदालतले उक्त मुद्दाको हालसम्म पेशी तोकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप