सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

नयाँ सत्ता समीकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास

शुक्रबार, २१ असार २०८१, १० : ०९
शुक्रबार, २१ असार २०८१

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बन्ने भएसँगै निजी क्षेत्र उत्साहित देखिएको छ । मुलुकका दुई ठुला राजनीतिक दलबिच भएको सत्ता समीकरणसँगै सङ्कुचनमा पुगेको अर्थतन्त्र लयमा फर्किने र बजारमा आत्मविश्वास बढ्ने प्रतिक्रिया दिएका छन् । 

नयाँ सत्ता समीकरण बनेसँगै अर्थतन्त्रमा सुधार ल्याउने र व्यवसायीहरूलाई लगानीको वातावरण बन्नेमा निजी क्षेत्र आशावादी देखिएको छ । दुई ठुला राजनीतिक दलहरूबिचको सत्ता सहकार्यका लागि भएका संविधान संशोधन, निर्वाचन प्रणाली र प्रदेश संरचना हेरफेर लगायतका विषयहरूले थप आशावादी र उत्साहित बनाएको धारणा व्यक्त गरेका छन् । 

उद्योगी व्यवसायीहरूले पुराना ठुला राजनीतिक शक्ति एक ठाउँमा आएर स्थिर सरकार बन्नु निजी क्षेत्रको लागि सुखद पक्ष भएको भन्दै राजनीतिक स्थिरतासँगै आर्थिक र नीतिगत स्थायित्वमा जोड दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । देशको अर्थतन्त्रलाई ठोस कार्यदिशा र सबल अर्थतन्त्र बनाउन दुई राजनीतिक दलको सत्ता समीकरण उचित देखिएको निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले उल्लेख गरे ।

अर्थतन्त्र सुस्ताएर घरजग्गा कारोबार खुम्चिएको, उद्योग व्यवसाय ३० देखि ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएको, उद्योगी व्यवसायीहरूले बैंकको ब्याजदर तिर्न नसकेको र पुँजीबजार माथि उठ्न नसकेको अवस्थामा नयाँ समीकरणले यी समस्या समाधान गर्नेमा आशावादी बनाएको उनीहरुको भनाई छ । व्यवसायीहरूले ६–६ महिनामा सरकार परिवर्तन हुनु अस्थिरता भएपनि अब बन्ने सत्ता समीकरणले राजनीतिक स्थायित्व र स्थिर सरकार दिनेमा निजी क्षेत्रलाई आशावादी बनाएको प्रतिक्रिया दिए । 

उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष भवानी राणाले दुई ठुला दल मिल्नु राजनीतिक स्थिरता र आर्थिक स्थायित्व हुने अपेक्षा गरेको बताइन् । उनले राजनीतिसँगै आर्थिक स्थायित्वका लागि दुई ठुला राजनीतिक दलको सत्ता समीकरण उपयुक्त भएको धारणा राखिन् । उनले नयाँ सत्ता समीकरण प्रशासनिक खर्च कम गर्न प्रशासनिक पुनरावलोकनका लागि संविधान संशोधन गर्ने,आर्थिक विकास गर्ने लगायतका सहमति निजी क्षेत्रको लागि स्वागतयोग्य रहेको उल्लेख गरिन् । पूर्व अध्यक्ष राणाले देशको आर्थिक उन्नतिका लागि सबै राजनीतिक दलहरू मिल्नुको विकल्प नभएको भन्दै निजी क्षेत्रलाई सबल बनाए मात्र देशको अर्थतन्त्रको सबलीकरण हुन सक्ने उल्लेख गरिन् ।

पूर्व अध्यक्ष राणाले  केही वर्षदेखि धराशायी भएको मुलुकको अर्थतन्त्र राजनीतिक स्थिरता भएमात्रै लयमा आउने बताइन् । उनले ३० देखि ४० प्रतिशत क्षमतामा उद्योगहरू सञ्चालनमा भएको अवस्थामा नयाँ सत्ता समीकरणसँगै चलायमान हुने विश्वास व्यक्त गरिन् । उनले मुख्य भन्सारहरूमा नै राजश्व सङ्कलन कम हुँदै  मुलुकको अर्थतन्त्र ओरालो लागेको अवस्थामा राजनीतिक दलहरूले ठिक समयमा समीक्षा गरेर गरेको गठबन्धन स्वागतयोग्य भएको उल्लेख गरिन् । 

उनले सत्ता समीकरण परिवर्तन भएको चार महिनामा दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार चलाउने र अर्थतन्त्रको विकास गर्ने सहमति सकारात्मक रहेको बताइन् । पूर्व अध्यक्ष राणाले ठुला दल मिलेर सरकार बनेको सरकार स्थिर हुन आवश्यक रहेको बताइन् ।

पूर्व अध्यक्ष राणाले नयाँ बन्ने सरकार पनि तीन÷चार महिनामा परिवर्तन हेर्ने परिस्थिति आए फेरि अर्थतन्त्र संकटमा जानसक्ने बताइन् । उनले दुई ठुला राजनीतिक दलको सत्ता समीकरणले अर्थतन्त्र सबल बनाउनको लागि नयाँ सोच बनाउन आवश्यक रहेको बताइन् । उनले  निजी क्षेत्रले लिएका सुझावलाई आत्मसाथ गरेर सरकार अघि बढ्दा व्यापार व्यवसाय र उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरिन् । पूर्व अध्यक्ष राणाले सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठुला अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालन गर्ने, कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गरी निजी क्षेत्रसँगको सहकार्य गर्ने विश्वास रहेको धारणा राखिन् ।

उनले दुई ठुला राजनीतिक दलको सत्ता समीकरणले नयाँ परिवर्तन भएको जस्तो आभास निजी क्षेत्रलाई भएको बताइन् । उनले सरकारले अर्थतन्त्रलाई प्राथमिकता दिनेमा पनि आशावादी रहेको बताइन् । उनले वर्तमान सरकारले ल्याएको बजेटले सङ्कुचनमा रहेको अर्थतन्त्रलाई माथि उठाउन नसक्ने भन्दै अब आउने सरकारले परिमार्जन गर्न आवश्यक रहेको बताइन् । उनले नयाँ सरकारले निजी क्षेत्रमैत्री व्यवहार गर्ने अपेक्षा पनि जगाएको उल्लेख गरिन् ।

नेपाल चेम्बर अफ कमर्सका निःवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आर्थिक एजेन्डामा नयाँ गठबन्धनले समान धारणा बनाएर काम गर्न आवश्यक रहेको बताए । उनले दुई ठुला राजनीतिक दलहरूबिच सत्ता समीकरण गरेर स्थिर सरकार बनाउनुले निजी क्षेत्र खुसी रहेको प्रतिक्रिया दिए । उनले दुई ठुला राजनीतिक दलको सत्ता समीकरणको लागि संविधान संशोधन गर्ने र आर्थिक स्थायित्व दिने सहमतिले अर्थतन्त्रमा सुधार आउने निजी क्षेत्र आशावादी भएको बताए । उनले अर्थतन्त्र अस्तव्यस्त भएको अवस्थामा स्थिर सरकार बनाउने गरी भएको सत्ता समीकरणलाई निजी क्षेत्रले स्वागत गरेको उल्लेख गरे । राजनीतिक स्थायित्वसँगै अब बन्ने सरकारले आर्थिक स्थायित्वलाई प्राथमिकतामा राख्न सुझाव दिए । मल्लले अहिले देशका दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले सत्ता समीकरण गरेर जाने र साना दललाई पनि समेटेर संविधान संशोधन गरी अर्थतन्त्रलाई सबल बाटोमा लैजानुपर्ने बताए ।

निःवर्तमान अध्यक्ष मल्लले  नयाँ सत्ता समीकरणको सरकारले मुुलुकको अर्थतन्त्रलाई सबल बनाउने विश्वास रहेको भन्दै सधैँ राजनीतिक खिचातानी भन्दा पनि आर्थिक स्थायित्वको बाटोमा लैजान जरुरी भएको बताए । उनले मुलुकको अर्थतन्त्रमा आएको सुस्तता अस्थिर राजनीति र अस्थिर सकारको कारण भएको भन्दै दक्षिण एशियामा सबै भन्दा कमजोर आर्थिक अवस्था भएको मुलुक बनेको बताए । उनले मुलुकमा राजनीतिक स्थायित्व हुन नसक्दा आर्थिक स्थिति अस्तव्यस्त भएको बताए । उनले राजनीतिक स्थायित्वको लागि दुई पार्टीले अन्य पार्टीहरुलाई पनि समेटेर मुलुकको अर्थतन्त्र सबल बनाउने गरी काम गर्ने निजी क्षेत्रलाई आशा रहेको बताए ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले नयाँ सत्ता समीकरणसँगै पुँजीबजारमा सुधार हुने अपेक्षा गरेको बताए । उनले अस्थिर रहेको सरकारलाई स्थिरता दिनेगरी भएको दुई ठुला राजनीतिक दलको समीकरण लगानीकर्ताको लागि सुखद पक्ष भएको बताए । उनले राजनीतिक अनिश्चितताका कारण पूँजीबजारले गुमाएको आत्मविश्वास लयमा आउने विश्वास रहेको बताए ।

अध्यक्ष ढकालले मुलुकले नेकपा एमाले र नेपाली काँग्रेसबीच बनेको नयाँ सत्ता समीकरण मुलुकको आवश्यकता भएको दाबी गरे । उनले नयाँ समीकरणले उद्योगी व्यवसायी,लगानीकर्ता र समग्र निजी क्षेत्रलाई उत्साह जगाएको उल्लेख गरे । उनले स्थिर सरकार बनाउँदै आर्थिक नीतिहरु स्थिर बनाउँदै निजी क्षेत्रमैत्री सरकार बन्नुपर्ने बताए । 

अध्यक्ष ढकालले स्थिर सरकार भएसँगै निजी क्षेत्र उत्साहित भएर लगानीको वातावरण बन्ने आशावादी भएको बताए । उनले उद्योग व्यवसाय,घरजग्गा कारोबार सुस्त भएको कारण बैंकको ब्याजदर व्यवसायीहरूले तिर्न नसकेको अवस्थामा त्यस्ता समस्या साधानको लागि सरकारले निजी क्षेत्रसँग समन्वय गरेर समस्या समाधान हुनेमा आशा पलाएको उल्लेख गरे ।

गत सोमवार नेकपा एमाले र नेपाली काँग्रेसबीच नयाँ समीकरण बनाएर राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो । उक्त सहमतिसँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई एमालेले दिएको समर्थन र मन्त्रीहरूसमेत फिर्ता गरेको छ । योसँगै दुई ठुला दलको नयाँ सत्ता समीकरणले अर्थतन्त्रमा पनि विशेष प्रभाव पारेको छ । त्यसैले नयाँ सत्ता समीकरणले वर्तमान आर्थिक,सामाजिक समस्यालाई समाधान गर्दै मुलुकलाई आर्थिक र राजनीतिक स्थायित्व दिन जरुरी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप