सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा विपत् व्यवस्थापन तयारी : २ लाख ३३ हजार जनसङ्ख्या प्रभावित हुन सक्ने

सरकारको विपत् व्यवस्थापन कोषमा १८ करोड र २ सय थान टेन्ट मात्र
शुक्रबार, २१ असार २०८१, ०७ : ३१
शुक्रबार, २१ असार २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशमा विपत् प्रतिकार्यको तयारी अगाडि बढाइएको छ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिममा गरेको मौसम पूर्वानुमान तथा त्यसले पार्ने प्रभावको आधारमा सुदूरपश्चिम प्रदेश सरकारले तयारी अगाडि बढाएको हो ।

यद्यपि आन्तरिक मामिला मन्त्रालयले प्रदेशको विपत् प्रतिकार्य कार्ययोजना तयार पारे पनि स्वीकृत हुन बाँकी देखिएको छ । लामो समयदेखि मन्त्रालय मन्त्रीविहीन रहनु र मन्त्रीमा हिरा सिंह सार्की नियुक्त भएपनि पछिल्लो राजनीतिक घटनाक्रमले हालै पदबाट राजीनामा दिएपछि कार्ययोजना अझै स्वीकृत हुन बाँकी रहेको हो । मन्त्रीको अनुपस्थितिमा मुख्यमन्त्री दीर्घबहादुर सोडारी काठमाडौँबाट फर्के लगत्तै विपद् व्यवस्थापन कार्ययोजना स्वीकृत गराउने बताइएको छ ।

आन्तरिक मामिला मन्त्रालयले सुरक्षा निकायलगायत सरोकारवाला निकाय तथा विपद् व्यवस्थापन कार्यकारी समितिसँगको छलफलपछि खोज तथा उद्धारको लागि जनशक्ति तयारी अवस्थामा रहेको बताइएको छ । सुरक्षाका तीनै निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सतर्क अवस्थामा राखिएको छ ।

मन्त्रालयका सूचना अधिकारी दीपेन्द्र सिंह कार्कीले जल तथा मौसम विज्ञान विभागलाई उद्धृत गर्दै सुदूरपश्चिम प्रदेशको तराई जिल्ला कैलाली र कञ्चनपुरमा बाढीजन्य प्रकोप र ७ पहाडी जिल्लामा पहिरोजन्य प्रकोप जान सक्ने हुनाले त्यसको आधारमा तयारी बढाइएको छ । 

खोज, राहत र उद्धार नै मन्त्रालयको प्रमुख कार्य रहेको बताउँदै उनले सुदूरपश्चिममा यो मनसुनमा ५३ हजार ३६२ घरधुरी तथा २ लाख ३३ हजार १९० जनसङ्ख्या प्रभावित हुन सक्ने जानकारी दिए ।

जसलाई मध्येनजर गरी खोज तथा उद्धारको लागि सुरक्षा निकाय आवश्यकता अनुसार स्ट्याण्ड बाइ राखिने छन् ।

मन्त्रालयसँग हाल हाल २ सय थान टेन्ट, २ सय थान त्रिपाल मात्र मौज्दात रहेको छ । भने ४ सय ३० थान त्रिपाल खरिद कार्य अगाडि बढाएको कार्कीले बताए । भूक्षय तथा नदी कटान रोकथामको लागि एक हजार थान बोरा खरिद गरिएको बताइएको छ । साथै प्राथमिक उपचारलगायत औषधोपचारको लागि रेडक्रसलगायत संघ संस्थासँग पनि समन्वय भएको कार्कीको भनाइ छ ।

विपद् व्यवस्थापनको लागि प्रदेश सरकारले विपत् व्यवस्थापन कोष खडा गरेको छ । जुन कोषमा हाल १८ करोड बजेट रहेको मन्त्रालयले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुनमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको वर्षाको आङ्कलन सार्वजनिक गरिसकेको छ । हाल सुदूरपश्चिम प्रदेशको सबै जिल्लाहरूमा वर्षात् जारी रहेको छ ।

केही दिनयता भएको वर्षाले कैलाली जिल्लाको भजनी नगरपालिका र कैलारी गाउँपालिकाका केही वडामा डुबान भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप