आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बिहीबार, २० असार २०८१, २१ : ५८
बिहीबार, २० असार २०८१

आज मिति २०८१ साल असार महिनाको २० गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. लामिछानेविरुद्धको मुद्दा

गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा दुई न्यायाधीशका बिचमा राय बाझिएको छ ।

सर्वोच्च अदालतका दुई न्यायाधीशका बिचमा फरक–फरक राय आएपछि यो विवाद अब तीन न्यायाधीशको इजलासमा जाने भएको छ । अब तीन न्यायाधीशको पूर्ण इजलासले योबारेमा फैसला सुनाउनेछ ।

न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा एकमत हुन नसकेपछि बिहीबार मुद्दाको टुंगो लाग्न नसकेको हो ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका थिए ।  

२. प्रधानमन्त्रीले राजीनामा नदिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा उनले राजीनामा नदिएर विश्वासको मत लिने निर्णय सुनाएका हुन् ।

प्रधानमन्त्रीले राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने निर्णय गरेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 

३. मुकुलको प्रतिवेदन सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री डा मुकुल ढकालको समीक्षा यात्रा प्रतिवेदन सार्वजनिक भएको छ । ढकालले ३८ जिल्ला भ्रमणपछि तयार पारेको ३२ पेजको प्रतिवेदन बुधबार केन्द्रीय समिति बैठकमा छलफल भएपछि सार्वजनिक भएको हो ।

४. ढकाल निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा मुकुल ढकाललाई निलम्बन गरेको छ । पार्टी उपसभापति डोलप्रसाद अर्याल हस्ताक्षरित पत्रमा ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उल्लेख छ ।

५. नेपाल अध्यक्षमा दोहोरिए

नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार सम्पन्न एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । २०७८ साल भदौ २ गते नेकपा एमालेबाट विद्रोह गरी उनकै नेतृत्वमा पार्टी स्थापना गरेका थिए ।

६. एमालेको ध्यानाकर्षण

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन असर पर्ने कुनैपनि काम नगर्न र नगराउन ध्यानाकर्षण गराएको छ ।

एमाले महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै संसद्का दुई ठुला दल एमाले र नेपाली कांग्रेसबिच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको स्मरण गराउँदै एमाले सरकारबाट समेत फिर्ता भएको अवस्थामा त्यस्ता निर्णय नगर्न भनेको हो ।

७. चर्चामा चिरिबाबु

ललितपुर महानगरपालिकाले बुधबार वडा नम्बर १० चाकुपाटस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सुमित्रा अमात्यको घरको गेट र पर्खालमा डोजर चलाएको छ । सम्पदा क्षेत्र अतिक्रमण गरेको भन्दै अमात्यको घरको गेटमा डोजर चलाएपछि यतिबेला नगरप्रमुख चिरिबाबु महर्जन चर्चामा छन् ।

८. क्रसर व्यवसायीको आन्दोलन स्थगित

क्रसर तथा खानी उद्योग व्यवसायीहरूले गरिरहेको आन्दोलन स्थगित भएको छ । विगत लामो समयदेखि क्रसर उद्योगहरूको नवीकरणको माग राखी आन्दोलनरत क्रसर तथा खानी उद्योग व्यवसायीहरूले बिहीबारदेखि आन्दोलन स्थगित गरेका हुन् ।

९. समिति बैठक

 सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिले गृह मन्त्रालयका सचिव र प्रहरी महानिरीक्षक (आईजीपी)लाई छलफलमा बोलाएको छ । देशभरको सङ्कटग्रस्त सहकारीका विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाले त्यसको जानकारी लिन गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई सूचनाहरूको जानकारी लिन छलफलमा बोलाइएको नेपाली काङ्ग्रेसका सांसद बद्री पाण्डेले बताए । 

१०. प्रदेशमा पनि सत्ता संकट

नेकपा एमालेले सुदूरपश्चिम र लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

 

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप