आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

७३ जिल्लामा फैलियो डेंगु सङ्क्रमण

बिहीबार, २० असार २०८१, २१ : ३५
बिहीबार, २० असार २०८१

काठमाडौँ । डेंगु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेंगुको सङ्क्रमण बढ्न थालेको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा। गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ । उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण देखिएको जानकारी दिए । 

मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आङ्कलन गरेकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण बढ्ने आङ्कलन गरेको छ । 

सबभन्दा बढी काठमाडौँमा एक सय ५९ जनामा डेंगु देखिएको छ । झापामा एक सय २० र चितवनमा ८३ जनामा डेंगु सङ्क्रमण देखिएको छ । उनले पानी सङ्कलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुको जोखिम बढेको जानकारी दिए ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ । रोग शाखाका प्रमुख डा दाहालले डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । 

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्ने भएकाले घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिन महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप