आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान

बिहीबार, २० असार २०८१, २० : ४६
बिहीबार, २० असार २०८१

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली खेलकुदकै इतिहासमा एन्थ्रोपो मेट्रिक अनुसन्धान सुरु गरेको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अवधारणा अनुरूप अन्य मुलुकमा झैँ नेपालमा पनि खेलकुद विज्ञानमा आधारित रहेर ग्रास रुटदेखि नै खेलाडीको पहिचान गरी राष्ट्रलाई योगदान दिने भावी खेलाडीको पहिचान गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले नेपालमै पहिलोपटक एन्थ्रोपो मेट्रिक अनुसन्धानको सुरुआत गरिएको हो ।

विभिन्न जातजाति र भौगोलिक अवस्था अनुसार खेलाडीको क्षमता पहिचान गर्न तथा १३ देखि १५ वर्ष उमेर समूहका युवाहरूको शारीरिक बनोटको पहिचान गरी उनीहरूलाई उपयुक्त हुने खेलको छनोटका लागि सहजीकरण गर्ने उद्देश्यले एन्थ्रोपो मेट्रिक अनुसन्धान गरिएको हो ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशको विभिन्न जिल्लामा अनुसन्धान गरिएको थियो । राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्ण तिमिल्सिना, खेल विज्ञ कुमारी हिरा पन्त र सहायक प्रथम शिवराज भट्टको टोलीले स्थानीयसँग समन्वय गरी अनुसन्धान गरेको हो ।

Anthropometric.

सुदूरपश्चिमको कञ्चनपुर र डडेलधुरा, कर्णालीको सुर्खेत र सल्यान, लुम्बिनीको दाङ र बाँके, गण्डकीको कास्की र बागलुङ, मधेसको धनुषा र सिरहा, कोशीको सुनसरी र सोलुखुम्बु तथा बागमतीको काठमाडौँ र चितवनमा अनुसन्धान गरिएको थियो । अनुसन्धानमा थारु, मगर, ब्राह्मण, क्षेत्री, थकाली, गुरुङ, तामाङ, दलित समुदायका १३ देखि १५ वर्ष उमेर समूहका ८ सय ५० बालबालिका समावेश  थिए ।

सोही टोलीले सो अनुसन्धानका क्रममा सातै प्रदेशका विभिन्न जिल्लामा परम्परागत खेलको अनुसन्धान पनि गरेको थियो । कुन स्थानमा कुन÷कुन परम्परागत खेल खेलिँदै आएको छ भन्ने तथ्याङ्क सङ्कलन गरी सो क्षेत्रमा उक्त खेलको विकास र विस्तार गर्दै खेलको जगेर्ना गर्ने उद्देश्यले परम्परागत खेलको पनि अनुसन्धान गरिएको निर्देशक तिम्सिनाले बताए । यसका लागि २५ देखि ८५ वर्ष उमेर समूह, लामो समयसम्म खेलकुदमा सक्रिय, विश्वविद्यालयका प्राध्यापक तथा पदाधिकारीहरूको समूहबाट परम्परागत खेलका विषयमा जानकारी लिइएको थियो ।

टोलीले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई बिहीबार प्रतिवेदन बुझाएको छ । सो अवसरमा सदस्य–सचिव घिसिङले यो अनुसन्धानले नेपाली खेलकुदमा एउटा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै राखेपले कार्य योजना तयार गरी अगाडि बढ्ने बताए ।

‘नेपाली खेलकुदमा यो एउटा विल्कुलै नयाँ अभ्यास हो । हाम्रो पहिलो प्रयासले नेपाली खेलकुदमा नयाँ आयाम थप्ने विश्वास छ । आशा छ क्षमता भएर पनि कसैको नजरमा नपरेका क्षमतावान् खेलाडी अगाडि आउने छन् ।’ सदस्य–सचिव घिसिङले भने– ‘आगामी दिनमा अनुसन्धानको दायरालाई अझ फराकिलो बनाउँदै लैजाने छौँ ।’

सदस्य–सचिव घिसिङले नेपालमा खेलिने परम्परागत खेलको पनि तथ्याङ्क सङ्कलन गर्नु महत्त्वपूर्ण भएको बताउँदै यसले नेपालमा खेलिने मौलिक खेलहरू के के हुन्, कहाँ कहाँ खेलिन्छन् र कुन अवस्थामा छन् भन्ने जान्न र जगेर्ना गर्न जरुरी भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप